काठमाडौँ । नेपाली साहित्यका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे (तीर्थ सदन)’ पुरस्कार यस वर्ष समालोचक तथा साहित्यकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ।

तीर्थ सदनले एक विज्ञप्ति जारी गर्दै २०८२ साल वैशाख ३१ गते, स्वर्गीय तीर्थकुमारी पाण्डेको ४५औँ पुण्यतिथिको अवसर पारेर मैनालीलाई उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिएको हो। काठमाडौँको मीनभवनस्थित पोषण पाण्डे तीर्थ सदनमा आयोजित एक कार्यक्रममा नगद ५१,००० रुपैयाँ र कदरपत्रसहित मैनालीलाई सम्मान गरिनेछ।

तीसको दशकदेखि निरन्तर साहित्य साधनामा लाग्नुभएका मैनाली नेपाली साहित्य जगतमा चर्चित नाम हो। समालोचना, लघुकथा, हास्यव्यङ्ग्य निबन्ध, र कवितामा उत्तिकै दख्खल राख्ने मैनालीका ‘मुर्दा बोल्यो’ (२०३७ सालमा प्रकाशित कथासङ्ग्रह), बालकृष्ण समको नाट्यकारितामा आधारित कृति, ‘भ्रष्टाचारको भाङ’ निबन्धसङ्ग्रह, ‘पृथक् बाटो’ लघुकथासङ्ग्रह र ‘दृष्टि र दृष्टिकोण’ समालोचना सङ्ग्रह लगायतका अनेकौँ कृति प्रकाशित छन्। परिष्कृत लेखन शैली उहाँको विशेषता हो।