काठमाडौँ । साहित्य, संगीत र रंगमञ्चको मनमोहक सम्मिश्रणले भरिएको ‘आभा काव्य लहर–८’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ‘आभा फर क्रिएटिभिटी’ द्वारा आयोजित यस कार्यक्रमले दर्शकहरूलाई भावनात्मक यात्रामा डुबाएर एक अविस्मरणीय साँझ प्रदान गरेको थियो ।
कार्यक्रमको शुभारम्भ अच्युतरमण भण्डारी संगीत प्रतिष्ठानका कलाकारहरूको शास्त्रीय संगीत प्रस्तुति ‘आभा सांगीतिक लहर’ बाट भएको थियो । अच्युतराम भण्डारी (तबला), परशुराम भण्डारी (सारंगी) र सीता भण्डारी (तानपुरा) को आधा घण्टा लामो मनमोहक प्रस्तुतिले श्रोताहरूलाई भावनात्मक र सांगीतिक ध्यानमा डुबाएको थियो।
कार्यक्रमको मुख्य आकर्षण थियो– प्रा.डा. अभि सुवेदी, कवि मञ्जुल र कवि एलिसा एकलासको कविता वाचन। उहाFहरूको २५–२५ मिनेट लामो प्रस्तुतिले साहित्यिक सौन्दर्यसँगै संवेदनाको गहिराइलाई पनि उजागर गरेको थियो । कविहरूका जीवनका अनुभव, सामाजिक बिम्ब र मानव संवेदनाको गहिरो अभिव्यक्तिले श्रोताहरूलाई कहिले ताली पिटाउन बाध्य बनायो त कहिले गहिरो ध्यानमा डुबायो।
विशेषतः कवि मञ्जुल कविता वाचन गरिरहँदा प्रा.डा. सुवेदीले मञ्चमा चढेर पानीको बोतल थमाइदिएको दृश्यले मित्रताको सुन्दर उदाहरण प्रस्तुत गरेको थियो । यस क्षणले दर्शकहरूलाई भावुक मात्र होइन, प्रेरित पनि बनायो।
कविता वाचनलाई अझ प्रभावशाली बनाउन सुरज पराजुली, भूमिका थारु र कबिर काफ्काले परफर्मेन्स आर्ट प्रस्तुत गर्नुभएको थियो । यी दृश्यात्मक प्रस्तुतिहरूले कवितामा लुकेका भावना र अनुभूतिलाई दृश्यमार्फत उजागर गरेको थियो ।
‘आभा काव्य लहर–८’ मा अतिथिहरूलाई प्रदान गरिएको सम्मान पनि अद्वितीय थियो। माला, आकर्षक प्रमाणपत्र, हस्तनिर्मित झोला, चित्रकलाका पोर्ट्रेट र गुलाफका फूलहरूले आत्मीयता र सिर्जनशीलताको सुन्दर सम्मिश्रण प्रस्तुत गरेको थियो। Bimba Arts, Yarn Heaven, Rashik Arts र Dharko Arts ले कला प्रदर्शनीमार्फत कार्यक्रमलाई अझ सजीव बनाएको थियो । ‘इको साथी नेपाल’ र ‘बिघ्नहर्ता नेपाल’ ले क्रमशः बाँसका बोतल र अम्रिसोका डायरीहरू प्रदान गर्दै वातावरणमैत्री सन्देश प्रवाह गरेको थियो । ‘काँईला दाइको सातु घर’ ले कार्यक्रममा पौष्टिक आहार उपलब्ध गराएको थियो।
कार्यक्रमको अध्यक्षता रसिक राज र संयोजन राजु झल्लु प्रसादले गर्नुभएको थियो । रसिक राजले ‘आभा काव्य लहर’ को निरन्तरताप्रति दर्शाइएको चासोलाई स्मरण गर्दै यस कार्यक्रमको पुनरागमनलाई केवल कार्यक्रमको पुनरागमन नभई त्यो चासोको उत्तर भन्नुभएको थियो । राजु झल्लु प्रसादले ‘आभा काव्य लहर–९’ गजल विशेष हुने बताउनुभएको छ।
कार्यक्रम सञ्चालिका अंशु खनालले यस साँझलाई साहित्यिक औपचारिकताभन्दा पनि आत्मीयता र सिर्जनाको साझा थलोको रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, ”आजको कार्यक्रम कुनै औपचारिकता होइन, यो एक आत्मीय जमघट हो जहाँ स्रष्टाहरू, श्रोता र दर्शकहरू एउटै वृत्तमा छौँ।”
‘आभा फर क्रिएटिभिटी’ ले साहित्य, कला र परफर्मेन्स आर्टको प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको छ। यसले विभिन्न सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। ‘आभा काव्य लहर–८’ ले साहित्य, संगीत र कलाको सुन्दर संगम प्रस्तुत गर्दै दर्शकहरूको मनमा गहिरो छाप छोडेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
पद्मश्री साहित्य पुरस्कार ‘छालबाटो’लाई, साधना सम्मान र गाैरव पुरस्कार शर्मा र सुवेदीलाई
२८ जेष्ठ २०८३, बिहीबार 








