(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाो, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीको स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

 

मञ्जुल

 

 

 

 

 

कविता अनुभूतिको नदी हो

कविता मेरो लागि अनुभूतिको एउटा नदी हो । यो मानव हृदयको मुहानबाट निस्केर बग्छ, सधैँ अगाडि बढ्छ। यी पहाडबाट छायाँ र छहराबाट बग्छ, चट्टानबाट ठोकिँदै बग्छ । कहिले सम्मचौरमा, कहिले पहराहरूमा । यो घना जंगलभित्र जङ्गलका रूखहरू बोकेर बग्छ, निलो आकागका चराहरू बोकेर बग्छ । छिटो छिटो र बिस्तार बग्छ । दुवै गति साटफेर गरेर पनि बग्छ । दुवै गति साटफेर गरेर पनि बग्छ । बग्दाबग्दै कहिलेकाहीँ चट्टानभित्र लुकेर बग्छ, बालुवाभित्र दबिएर बग्छ । धेरैजसो छलछलाउँदै बग्छ । आनन्दानुभूतिको फिँजहरू फुलाउँदै बग्छ, गीतहरू गाउँदै बग्छ । मेरो कविता मानवहरूको गीत गाउँछ, प्रकृतिको गीत गाउँछ, क्रान्तिको पनि गीत गाउँछ, प्रेमको पनि गीत गाउँछ । दुःख र सुख दुई किनाराहरू हुन्, अनुभूति यसको पानी हो, कल्पना यसको बाटो हो, चित्र यसको आकृति हो । मेरो कविताको शब्द मेरो साथी मात्र हैन ‘म’ नै हो ।

गोलीको गीत

मञ्जुल

खुट्टाले गोलीलाई
सलाम ठोकेर स्वागत गर्यो
गोली
जसलाई उसले बोलाएको थिएन
गोलीले मांसपेशीहरूलाई
गुलाफका पत्तीहरू चुमेजस्तै चुम्यो
र मांसपेशीले पनि गोलीलाई
छाद हाल्न आएको बच्चालाई
आमाले काखमा सँगालेझैँ संगाल्यो

जसले गोलीलाई बोलाएका थिए
कतै थिए ती छातीहरू
बम पड्किएको ठाउँका मुसाहरू जस्तो भएर
ती लुकेका थिएनन्‌
जसले गोली पठाएका थिए
कतै थिए उर्दी हाँकिरहेका तिनीहरू पनि
आत्तिएका कायरताका अनुहारहरू
यही हो प्रजातन्त्रको स्वागत ?
यति अशोभनीय र अशिष्ट ?!

घाउ अहिले
मुस्कान भएर फुलेको छ फूलजस्तो
तर शीत नभएको फूलजस्तो
गीत नभएको बतासजस्तो

प्रजातन्त्रको बाङ्गिएको अनुहार
यो घाउ

घाउ
झण्डा भएर फहराउन चाहेन
घाउ
भीखको भाँडो भएर पसारिन चाहेन
घाउ
सहानुभूति भएर तेर्सिन पनि चाहेन
राजनीति जस्तो !

मेरो कविताले
नमस्कार गर्न खोज्दा
घाउ हाँसिरह्यो
किन हाँसिरह्यो घाउ ?
के मेरो कवितामा
कुनै दम छन ? अनुभूति छैन ?

खुट्टाले
के सलाम गर्यो गोलीलाई ?
जति निर्भीक भएर
जीवनले सलाम गर्यो नियतिलाई !
राजनीति नगर्न घाउ
फूल जसरी फुल्दोरहेछ
तर आगोले जसरी
पोल्दोरहेछ

निर्बोध बालकको छातीमा लागेको
गोलीजस्तो घाउ !