
नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रले भागिरथी श्रेष्ठ र मञ्जुललाई सम्मान गर्ने भएको छ । ‘स्रष्टा सम्मान’ भानु जयन्तीको अवसरमा आयोजना गरिने कार्यक्रममा स्रष्टाद्वयलाई केन्द्रले ‘स्रष्टा सम्मान’ गर्ने भएको हो ।
भानु जयन्ती एवं ‘मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस’का सन्दर्भमा उक्त ‘स्रष्टा सम्मान’ प्रदान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
सो अवसरमा खुल्ला कविता प्रतियोगिता कार्यक्रम पनि सम्पन्न हुनेछ । जसमा छानिएका उत्कृट १५ वटा कविका कविताहरू वाचन हुनेछन् ।
सम्मानित हुने भागिरथी श्रेष्ठ वि.सं २००५ असोज १४ गते रिडी बजार गुल्मीमा जन्मेकी हुन् । उनको पहिलो रचना कथा “प्रवल चाहना” वि.सं २०२३ सालमा प्रकाशित भएको थियो । उनका उपन्यासहरू मालती(२०३४), यस्तो एउटा आकाश (२०४६); कथासङ्ग्रहहरु क्रमसः (२०४२), मोहदंश (२०४४), विभ्रम (२०५०), भूमिगत (२०६३), रातो गुलाफ (२०६५) लगायत कृतिहरू प्रकाशित छन् । उनका कथाहरूको अङ्ग्रेजी अनुवादसमेत प्रकाशित छ ।
सम्मानित हुने अर्का प्रतिभा मञ्जुल वि.सं २००३ साल फागुन २४ गते गोगने भोजपुरमा जन्मेका हुन् । उनको पहिलो रचना २०१७ सालतिर प्रकाशित भएको थियो । उनका कवितासङ्ग्रहहरू गायक यात्री (इस्वी १९८३), मञ्जुलका नयाँ कविताहरु (इस्वी १९८८), चोकटी कविता (इस्वी १९८८), मृत्यु कविता (इस्वी १९८८), गाउँका दृष्यहरुमा बाँधिएर (इस्वी १९९९); यात्रा संस्मरणहरु सम्झनाका पाइलाहरु (वि.सं २०४५), जाने होइन दाइ आलापोट (इस्वी १९८९); उपन्यास छेकुडोल्मा (वि.सं २०२६) लगायत कृतिहरू प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

