पोखरा, असोज १३ / पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भएका छन् । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उनले झन्डै डेढ दर्जन कविता सुनाए ।
‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए ।
पोखरा उद्योग वाणिज्य सांघको अमृत कक्षमा खचाखच वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने ।
मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गरेका थिए ।
उनले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका कवितासमेत सुनाएका थिए । राल्फा समूहको सर्जक र गायकका रूपमा जनताका आवाज मुखरित गर्दाको क्षणलाई मञ्जुलले कविता वाचनका क्रममा स्मरण गराए ।
आजभन्दा झण्डै ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन उक्त समूह सक्रिय भएको थियो । पछि त्यो राल्फा सांस्कृतिक आन्दोलनका रूपमा विकास भएको थियो ।
कवि तीर्थ श्रेष्ठले मञ्जुललाई जनवादी गायकसँगै कवि व्यक्तित्वका रुपमा रहनुभएको बताए ।
“उहाँ जागरणका गायक हुनुहुन्छ, कविता, यात्रा संस्मरणमा पनि उहाँ सशक्त देखिनुहुन्छ”, श्रेष्ठले भने ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जीवनको उत्तरार्धमा पनि कवि मञ्जुल सिर्जनाकर्ममा उत्तिकै सक्रिय रहेको बताए । पोखरा प्रज्ञा प्रतिस्ठानको सहयोगमा पोयुसापले कवि मन्जुललाई एकल कविता वाचनमा उभ्याएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।