. … अर्थात कर्णाली – मोतीराज बम

.. चुनाव जितेर आएपछि चन्द्रे काका
माननीय चन्द्रविक्रम भएछन्
माननीय चन्द्रजङ्ग भएछन्
माननीय चन्द्रशमशेर पनि भन्दा रहेछन् कताकता ।
अहो ! यति परिवर्तनशील सिंहदरबार ?
यति सिर्जनशील सिंहदरबार ?
यति चामत्कारिक सिंहदरबार ?

कवि मोतीराज बमको कविता सङग्रह हो … अर्थात कर्णाली ।
बमको कविताले राजनितिक बेथिति, सामाजिक कुरिती माथी प्रश्न गर्दै, कर्णालीको सुन्दर चित्रण गरेको छ ।

”कल्पनाको बारीमा अक्षर रोपेर भावको सुवास फैलाउनु कवित्व हो । यो खेती कोही मन पराउँछन् कोही मन पराउँदैनन् त्यो उनको स्वेच्छा हो । करकाप, बाध्यता, विवशता यसमा लागु हुँदैन ।” बम आफ्नो कुरामा लेख्नुहुन्छ, ”साँझपख म कोठामा पुगेपछि छोरीले यो कुरा सुनाएपछि लाग्यो मैले लेख्दै नलेखेको कविता ती भद्र घरबेटी महिलाले लेखिन् । ‘के कविता लेखेर खान पुग्छ ? ‘ खासमा कविता यही हो । यो एक वाक्यको कविताभित्र सिङ्गो मानव संसार अटाएको छ । मावन जीवनशैलीमा हरेक पाटाहरु यस वाक्यांशभित्र समेटिएका छन् । मान्छेले बाँच्नका लागि के गर्छ ? अथवा के गरेर बाँच्छ ? सम्पुर्ण मावन चरित्रको चित्रण त्यो वाक्यले गरिरहेको छ ।”

त्यसैगरी पुस्तकमा डा. नवराज लम्साल लेख्नुहुन्छ, ”कर्णाली सबैभन्दा धनी, उज्यालो र प्राचीन विरासतको उपल्लो चेतना हो । त्यतिखेरकै एक महान् साम्राज्य, भाषा, साहित्य र संस्कृतिको उद्गमभूमि हो कर्णाली तर कर्णाली टेक्दै नटेकी, देख्दै नदेखी र बुझ्दै नबुझी कर्णालीलाई हेपेर लेखिदिन्छन् लेख्नेहरु । बम र बमहरुको काँधमा आज कर्णालीको नामसँग मिसिएको रोग, भोक, शोक र अज्ञानको बिम्ब मिसिएर आउने गलत भाष्य मेट्ने र साँचो अर्थमा कर्णाली लेख्ने दोहोरो दायित्व छ । बमजी राजनीति, साहित्य र संस्कृति पथका सर्लक्क देखिने, छोइने र पढिने सशक्त पथिक हुन् । उनको यात्रामा उनकै बाटो अर्थात् कर्णाली बगिरहोस् ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । एकचालिस वटा कविता समेटिएको पुस्तकको मूल्य तीनसय पचास रुपियाँ रहेको छ ।