साताका पुस्तककाे रूपमा साहित्यपोस्टलाई स्रष्टा रामप्रसाद घिमिरेको आख्यानीकरण गरिएको सुन्दर कृति “खप्परेका कथाहरू” प्राप्त भएकाे छ ।
१ सय ७८ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘शाकाहारी बच्चा’, ‘घरछेउको चुलेत्रोको रुख’, ‘दोलखाको यात्रा र हरियो झोलले जात्रा’लगायत २० थान कथा सङ्ग्रहित छन् ।
पवन आलोक लेख्छन्, “प्रायः सबै कथाहरू रोचक छन् । घटनाहरूको शून्य र मिहीन प्रस्तुति, आफैँले भोगेकै लाग्ने घटनाहरूझैँ सधैँ भेटिने गरेका जस्ता पात्रहरूका साथै जीवनका विभिन्न भोगाइ र घटनाक्रमहरूलाई सरल र सुन्दर ढङ्गले प्रस्तुत गरिएको हुँदा सङ्ग्रह पठनीय बन्न पुगेको छ । विशेष गरेर ग्रामीण परिवेशलाई जस्ताको तस्तै जीवन्त र स्वाभाविक तरिकाले कथाहरू मार्फत् उतार्न कथाकार सफल हुनुभएको छ, यो वहाँको प्रमुख विशेषता पनि हो ।”
डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “सम्पूर्ण कथामा एउटै खप्परे नामक पात्र केन्द्रीय रूपमा देखिएको छ र उसैको वरिपरि घटनाहरू बुनिएका छन्, तसर्थ यो कथाकृति शृङ्खलाबद्ध कथा-सङ्ग्रहजस्ताे लाग्छ । यसका सबै कथाको कथा-सूत्र त्यही पात्रका माध्यमबाट परस्पर उनिएकाले औपन्यासिक तन्तु समेत फेला पर्ने हुँदा यो कृति कथोपन्यसजस्तो पनि लाग्छ । एउटै खप्परेका अनेकौँ बहुविध चरित्रले आजको मान्छेका बहुविध भागाइलाई देखाएको छ । यो कथाकृति एउटा नवीन प्रयोग हो ।”
नन्दकुमारी प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।