काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण चैत ६ गते बुधबारदेखि सुरु हुँदैछ। “सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो” नारासहित एक हप्तासम्म चल्ने यस महोत्सवले रंगमञ्चलाई केन्द्रमा राखेर कला, संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीति लगायतका विविध विषयमा बहस र छलफलको थलो प्रदान गर्नेछ। काठमाडौँको मण्डला थिएटरमा आयोजना हुने यस महोत्सवको आकर्षण यसपटक पनि उत्तिकै रहेको छ।

निटफेस्टमा हुने अन्तरक्रियात्मक सत्रहरूले यस वर्ष पनि दर्शकहरूलाई आकर्षित गर्ने निश्चित छ।

रैथाने ज्ञानको उज्यालो : विहीबार हुने यस सत्रमा अध्येता भोगिराज चाम्लिङ र गुरुङ सुशान्तबीच रैथाने ज्ञानको महत्व र यसको संरक्षण सम्बन्धी अन्तरंग संवाद हुनेछ।
नेपाली रंगमञ्च र सिनेमाको मितेरीपथ : शुक्रबार निश्चल बस्नेत, केकी अधिकारी, दीपक रौनियार र आशान्त शर्मा जस्ता चर्चित कलाकारहरूबीच नेपाली रंगमञ्च र सिनेमाको सम्बन्धबारे छलफल हुनेछ।
मिडियाको आँगनमा रंगमञ्च : शनिबार सम्पादक सन्तगाहा मगर, सम्पादक जनकराज सापकोटा र पत्रकार पुनम पौडेलले मिडियामा रंगमञ्चको स्थान र यसको प्रस्तुतीकरणबारे आफ्नो अनुभव बाँड्नुहुनेछ।
राजनीतिमा कलानीति : आइतबार पूर्व संस्कृतिमन्त्री सुदन किराँती, युवा नेता रामकुमारी झाक्री र ठाकुर गैरेको सहभागितामा राजनीति र कलाको सम्बन्धबारे छलफल हुनेछ।
सिमली छायामा बसी : सोमबार हरिवंश आचार्य र विजय बराल जस्ता दुई फरक पुस्ताका कलाकारहरूबीच रोचक संवाद हुनेछ।
गाउँगाउँमा सिंहदरबार, ठाउँठाउँमा थिएटर : महोत्सवको अन्तिम दिन देशका विभिन्न क्षेत्रका मेयरहरूबीच संघीयताको सन्दर्भमा रंगमञ्चको विस्तार सम्बन्धी छलफल हुनेछ।

यसबाहेक, भिक्षु आनन्दको प्रवचन पनि महोत्सवको विशेष आकर्षण हुनेछ
यस वर्षको निटफेस्टमा १२ देशका १७ नाटक प्रदर्शन हुनेछन् भने एक सय भन्दा बढी विदेशी कलाकारहरूको सहभागिता रहनेछ। स्कटल्यान्ड, चीन र जर्मनीबाट आएका कलाकारहरूले कार्यशाला सञ्चालन गर्नुहुनेछ जसले नेपाली कलाकारहरूलाई नयाँ ज्ञान र सीप सिक्न अवसर प्रदान गर्नेछ।

यस वर्ष निटफेस्ट काठमाडौँ मात्र नभई पोखरा, भरतपुर र बेलबारीमा पनि आयोजना हुँदैछ । यसले नेपालभर रंगमञ्चको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनी, लोक नृत्य र लोक संगीत जस्ता विभिन्न गतिविधि समावेश गरिएको यस महोत्सवमा हजारौँको सहभागिताको अपेक्षा गरिएको छ। निटफेस्ट चैत १२ गतेसम्म चल्नेछ। समग्रमा, निटफेस्टले रंगमञ्चलाई समाजसँग जोड्ने र सामाजिक परिवर्तनमा यसको भूमिकाबारे बहस सिर्जना गर्ने लक्ष्य राखेको छ।