‘स्वर्णदेशः द ड्रिमल्यान्ड अफ मिल्क एन्ड ग्रेभ्स’ सिङ्गो नाटक टोलीसँग दिलखुश छ । यसबाहेक थप बोल्नु ‘सुनमा गन्ध’ हुनेछ । अझ भन्दा, दुर्गन्धै हुनेछ । तर, मलाई बोल्नु छ । मुख चिलाएको छ । औँलाहरू सकसकाएका छन् । जिब्रोमा एउटा खसखस छ । भन्नुस्, ‘खुश दिल’लाई अझ ‘खुश’ बनाउन मन लागेको छ ।
त, बोलौं । बोलिसकेपछि दिल खोलेर बोलौं । दिल से बोलौँ ।
मण्डला थिएटरदेखि डारियन ग्यापसम्मको यात्रा
मन्चमा देखिएका पात्रहरूको यात्राले मलाई यति गहिरो रूपमा छोयो कि मैले आफैँलाई उनीहरूसँगै कोलम्बिया र पनामाबीचको डारियन ग्यापको दलदलमा फसेको पाएँ । उनीहरूको भोकाएको पेट, तिर्खाले सुकेको घाँटी र हर पाइलामा मडारिएको मृत्युको छायाले तर्साइरह्यो । थिएटरको अँध्यारो हलमा म केवल दर्शक थिइनँ, म त एउटा डरलाग्दो यात्राको सहयात्री पो बन्न पुगें ।
सधैँ नेपालका डाँडाकाँडामा उछलकुद गरिरहन रुचाउने मलाई यस नाटकले एक भयानक प्रश्नमा ल्याइपुर्यायो, कहाँ एउटा सुन्दर ‘स्वर्णदेश’को सपना, अनि कहाँ त्यसलाई प्राप्त गर्न गर्नुपर्ने कठोर संघर्ष ? के साँच्चै यो यात्रा हरेक नेपाली युवाले गर्नुपर्ने हो ? के हामीले यति ठूलो सपना देख्नुपर्छ, जसको मूल्य हाम्रो अस्तित्व र इज्जतले चुकाउनुपरोस् ?
नाटकमा पात्रहरूले भोग्नुपरेको अपमान, डर, धोका, र मृत्युले चिथोर्यो नि यार !
महिलाहरूमाथि हुने दुर्व्यवहार, लुटपाट र अनिश्चितताले भरिएको त्यो यात्राले, मलाई नमीठोसँग दुखायो हाव !
अनि नाटक हेरेपछि मलाई लाग्यो, मोजसँग सुखका साथ नेपालमै बस्नु नै सबैभन्दा ठूलो सौभाग्य रहेछ ।
***
कलाकारको अभिनयको जीवन्ततालाई दिल खोलेर प्रशंसा गर्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन । थिएटर स्पेसमा नयाँ कलाकार भए तापनि अभिनय कूशलता देखिन्थ्यो । यो नाटक सुभकशाको सहकार्यमा योलो इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । यसमा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी लुहार, जर्निको निक कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराग पनेरु, आरती गौतम, अनिल कुर्मी र आदित्य मिश्र जस्ता कुशल कलाकारहरूको अभिनयले नाटकलाई एउटा नयाँ उचाइ दिएको छ । उनीहरूको सामूहिक प्रयासले एउटा अविस्मरणीय नाटकीय अनुभव सिर्जना गरेको छ । मल्टिमिडियाको प्रयोगले नाटकको दृश्यमा देखाइएका ठाउँ, समय र परिस्थितिलाई व्यक्त गर्न सघाएको छ । अर्को महत्त्वपूर्ण पक्ष, यसमा प्रयोग गरिएको रुकुम पश्चिमको बोलिचालीको भाषा हो । यसले पात्रहरूलाई अझ नजिक र यथार्थवादी बनाएको छ । हालसालै पश्चिम रुकुम नै पुगेर आएको हुँदा पनि म ‘पर्सनल्ली टच्ड’ भइहालें ।
जब आठ जना पत्रकारको टोली मण्डला पुग्यो !
हामी, CMR Nepal को ‘Multimedia Journalism V2025 Batch 5’ का आठ जना पत्रकारहरू, प्रशिक्षणको दोस्रो चरणमा छौँ । हाम्रो तीन महीनाको यो यात्रामा कीर्तिपुर, पाटन, भक्तपुर, वसन्तपुर, बौद्ध जस्ता ठाउँहरू गएर काठमाडौं एक्सप्लोर गर्ने काम त भइरहेकै थियो, तर मण्डला थिएटर पुग्ने योजना कसैलाई पनि थाहा थिएन ।
हाम्रा मेन्टरहरूले वर्कशपको क्रममा मुभी, डकुमेन्ट्री र एक्सप्लनेसन भिडियोका प्रसंगहरू त उठाउनु हुन्थ्यो । पुस्तक र संगीतका कुरा पनि बारम्बार हुन्थे । तर, नाटकको ‘न’सम्म पनि कतै उच्चारण भएको थिएन । यसैले, अप्रत्याशित रूपमा थिएटर पुग्नु हामी सबैका लागि एक ठूलो आश्चर्य थियो ।
साथीहरू युनिष गुरुङ (पोखरा), निशान्त ढुंगाना (विराटनगर), अस्मिता खनाल (तनहुँ), सजल गैह्रे (नेपालगन्ज), नरेश चन्द्र बरबरिया (सिराहा), सरस्वती विश्वकर्मा (धनगढी), सन्तोष पुर्कोटी (ताप्लेजुङ) र म । फरक भौगोलिक क्षेत्रका हामीहरूसँग आ-आफ्नो क्षेत्रको संस्कृति र अनुभव पनि थियो । एकप्रकारले सिङ्गो नेपालको प्रतिनिधित्व गर्दै हामी थिएटर पुगेका थियौँ । साथीहरू पूजाजी, सुनिता खालिङ, सुनिताजी, अमृत सर र अजय सरको अनुपस्थिति खड्कियो, यद्यपि हामी ८ जनाको जम्बो टिम मण्डला पुगी त गयो।
हामी निर्धारित समयभन्दा अगाडि नै थिएटरको ढोकामा पुग्यौं । हामी ५:४० मै त्यहाँ पुगिसकेका थियौं । पुगेपछि थाहा भयो, नाटक शुरु हुने समय ६:४५ रहेछ । यसपछि सेल्फी हान्ने र फोटो खिच्ने काम पनि धमाधम भइगयो । हाम्रो यो उत्सुकताले मण्डलाको प्राङ्गणलाई नै एक किसिमको ऊर्जाले भरिदियो ।
यति गर्दा पनि, हामीसँग मस्तै समय रह्यो । यसपछि छेवैको गफमाण्डु क्याफेमा चटपटे खान थाल्यौँ । समय अझै रहो, चिया पनि मगायौं । चिया र चटपटे खाँदै गर्दा नाटककै कुरा भए, कला-साहित्यका कुरा भए । कन्टेन्ट क्रियशन, कन्टेन्ट स्ट्राट्रेजी, स्टोरी टेलिङ, क्यारेक्टर आर्क, क्लिकबेट, डिजिटल मिडिया, डिजिटल सिभिक स्पेस आदित्यादि पनि चियाको शुरुप्प सँगसँगै आइरहे । अनि, अर्को कुरा चाहिँ कलाको लोकतान्त्रीकरण अझै बाँकी छ । थिएटरहरूलाई जिल्ला जिल्लामा पुर्याउन नै बाँकी छ भन्ने सवालमा पनि हामी गफियौं ।
‘टोली अगुवा‘ भइखाँदाको दु:ख
साथीहरूले मलाई ‘टोली अगुवा’ बनाइदिनुभएको थियो । अगुवा भइखाँदा मलाई डर के कुराको मात्रै थियो भने, धमाधाम नाटकहरू लागिरहेको भए पनि नेपाली नाट्य क्षेत्रमा राम्रो नाटकको खडेरी छ । यो नाटक कस्तो छ ? राम्रो भइदिएन भने ?
नेपाली नाट्य क्षेत्रमा विदेशी नाटकहरूको अनुवाद र त्यसको मञ्चनको प्रचलन एउटा ठूलो चुनौती हो । यस प्रचलनले कताकति केके नमिले जस्तो महसुस पटकपटक गराएको छ । पात्रहरूले बोलेको कुरा त बुझिन्छ, तर उनीहरूको भावना र पृष्ठभूमि समाजको यथार्थसँग मेल खाँदैन । यस्तोमा, आफ्नै साथीहरूले गरिरहेका भएर ‘झुटमुटमै राम्रो छ है’ भन्दिएर फुत्तै अलप धेरैचोटि भएको छु । यो मेरो व्यक्तिगत समस्या मात्र होइन, यो नेपाली कला क्षेत्रमा देखिएको एउटा सामाजिक समस्या पनि हो । हामी साँचो आलोचना गर्नुको सट्टा झुटो प्रशंसा गरेर अगाडि बढ्ने गरेका छौं, जसले कलाको विकासमा बाधा पुर्याउँछ र पुर्याइरहेको पनि छ ।
फेरि, चाहँदैमा मात्र नाटक राम्रो हुँदैन । यसका लागि सशक्त कथावस्तु, कुशल निर्देशन, जीवन्त अभिनय, प्रकाश र ध्वनि संयोजनजस्ता अनेक पक्षको सन्तुलित तालमेल आवश्यक हुन्छ । एक पक्ष कमजोर भयो भने सिङ्गो नाटकको प्रभाव घट्छ । राम्रो अभिनय कमजोर कथाले ढाक्न सक्छ, वा बलियो कथा कमजोर निर्देशनले फिक्का बनाइदिन सक्छ । यो थिएटर पुगिरहेका हरेक दर्शकको अनुभव हो ।
अर्कोतर्फ, ‘स्वर्णदेश’ मौलिक विषयवस्तुमा आधारित छ भन्ने थाहा थियो, यसले कताकति आशा पनि थियो । नाटकहरूको अनुवादमा देखिने अपरिचयता र भावनाको कमी यसमा हुने छैन भन्ने कुराले मलाई उत्साहित पनि बनाएको थियो । तर, कति साथीहरू पहिलोपटक थिएटर आउँदै हुनुहुन्थ्यो, यस्तोमा ‘पहिलो गाँसमै ढुंगा’ होइदियो भने यसपछि उहाँहरू थिएटरको आँगनमा टेक्न पनि हिचकिचाउनु होला ! यसले त नाट्य क्षेत्र र नाट्यकर्मीकै सत्यनाश गर्छ । एउटा खराब अनुभवले नाट्यकर्मीको मात्र होइन, नाट्य क्षेत्रकै भविष्यमाथि प्रश्नचिह्न खडा गर्न सक्छ ।
यार.. म कला-साहित्यप्रति ज्यादा संवेदनशील पनि छु ।
थिएटर सिनेमाको बाउ हो, इष्टकुल हो !
साथीहरूले मलाई ‘नाट्य विज्ञ’को उपाधि दिएपछि मैले पनि आफ्नो ‘चानुचुन तीन दर्जन’ नाटक हेरेको अनुभवको आधारमा आफूलाई एउटा पाको समीक्षकको रूपमा प्रस्तुत गरेँ ।
अभिनयको सूक्ष्मता, ‘रंगमञ्च’ को उपयोगिता र पात्रहरूको विकास दे दनादन पारामा गफ दिइरहेको थिएँ। नाटकमा ‘फोर्थ वाल’ (Fourth Wall) कसरी तोडिन्छ र यसले दर्शक र कलाकारबीचको अदृश्य सम्बन्धलाई कसरी बलियो बनाउँछ, अनि ‘मोनोलोग’ (Monologue) ले कसरी पात्रको भित्री मनलाई उजागर गर्छ र उसको भावनात्मक संसारलाई देखाउँछ भन्नेबारे बडी नै जान्ने पल्टेर गफ चुटिरहको थिएँ ।
साथी गजल (गैह्रे) भ्लगिङमा व्यस्त थिइन् र उनी मलाई अनेकौं प्रश्नहरू सोधिरहेकी थिइन् । तर म उनले सोधेको भन्दा नसोधेको प्रश्नको उत्तर दिँदै थिएँ । ‘पाको ठाउँमा विज्ञता छाद्न नछोड्ने अनविज्ञता’ले म पनि भयंकर संक्रमित छु यार !
अझ, नाटक र सिनेमाको तुलना गरेर ‘सर्वज्ञानी’ बन्ने मौका पनि छोडिनँ । दिइराथें, “नाटक भनेको यस्तो हुन्छ, त्यस्तो हुन्छ… । थिएटर सिनेमाको बाउ हो । इष्टकुल हो । थिएटरको लत लागेको मान्छेलाई फिलिम-सिलिम भनेको चिलिम फुके जस्तै मात्रै हुन्छ ।.. यतात्यता ..!” [जेजति भने पनि ‘नाटक भनेको संवाद हो, फिल्म दृश्यभाषा हो’, यसकारण यी दुई एक होइनन् भन्ने नै हो ।]
अब यतिविधि भूमिका-अभूमिका बाँध्नु बाँधिसकेपछि सिधै नाटकमै ‘जम्प’ हानौं ।
नाटक शुरुमै शुरु हुन्छ!
नाटक शुरुमै शुरु भयो र, यो अलि असजिलो भयो । कथा विस्तार नभइकनै शुरुमै कलाकार, विषयवस्तु, कथासँग झ्वाम्मै परिचित हुनुपर्दा ‘अप्ठ्यारो-अप्ठ्यारो’ भयो । यो त यस्तो भयो, मानौं हामी एउटा नयाँ शहरमा प्रवेश गर्दैछौं र हामीलाई कुनै नक्शा दिइएको छैन । हामीले आफैं बाटो पत्ता लगाउनुपर्नेछ । यो ल्याङ कुरा हो नि त ! [कि कसो ?]
जब नाटक कुनै भूमिका बिना नै शुरु हुन्छ, दर्शकले आफ्नो दिमागमा कथाको पृष्ठभूमि आफैँ बनाउनुपर्छ । यसका लागि उनीहरूले पात्रहरूबीचको संवाद, शरीरभाषा र दृश्य संकेतहरूलाई गहिरोसँग ध्यान दिनुपर्छ । यसकारण यस नाटकले शुरुमै दर्शकसँग बढी मानसिक श्रम गराउँछ । हामीलाई पनि गरायो ।
सामान्यतया, कुनै पनि कथा शुरु हुँदा दर्शकलाई पात्रहरू, परिवेश र कथावस्तुसँग परिचित गराइन्छ । यसलाई ‘एक्सपोजिसन’ भनिन्छ । तर, ‘स्वर्णदेश’ मा यो परम्परागत शैलीको पालना गरिएको छैन । र, यो एक किसिमको ‘नाटकीय जम्प’ मलाई चाहिँ मनपर्यो किनभने पछि जब कथाको रहस्य खुल्दै जान्छ, यो असहजता पनि एक किसिमको ‘मजा आयो यार’ भन्ने अनुभवमा परिणत हुन्छ । त्यो चाख यसमा थियो । दर्शकलाई शुरुमै अपरिचित अवस्थामा राखेर यस नाटकले उनीहरूको ध्यानलाई शुरुदेखि नै बलियोसँग समात्न सफल भएको छ । भनौँ न, यसैकारण दर्शक र पात्रबीच कथासँगको भावनात्मक सम्बन्ध पनि गहिरो बन्दै गएको छ ।

पात्रपिच्छेका द्वन्द्व र कथा:
घना जङ्गल, उर्लिएका नदी, विषालु जीवजन्तु र खतरनाक समुद्र पार गर्दै ‘स्वर्णदेश’ पुग्ने सपना बोकेका आप्रवासीहरूको कथा हो यो नाटक । यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यसको द्वन्द्व हो । यो द्वन्द्व केवल पात्रहरूबीचको मात्र नभई, सपना र यथार्थको, आशा र निराशाको, अनि जीवन र मृत्युको पनि हो । यात्रा जति-जति भयानक, कठोर र लामो हुँदै जान्छ, पात्रपिच्छेका मनोवैज्ञानिक र भावनात्मक द्वन्द्वहरू पनि त्यति नै बढ्दै जान्छन् । यसैले यस नाटकका, पात्रहरूको यो कठोर यात्रा सम्पूर्ण नेपाली युवाहरूको सामूहिक संघर्षको प्रतिबिम्ब हो ।
यही द्वन्द्वले गर्दा नाटकको संवाद सशक्त र अर्थपूर्ण बन्न पुग्छ । पात्रहरूका कुराकानीमा उनीहरूको आन्तरिक पीडा, भय र दृढताको झल्को पाइन्छ । यसले दर्शकलाई शुरुदेखि नै कथासँग भावनात्मक रूपमा जोड्छ र उनीहरूको ध्यानलाई अन्तिमसम्म कायम राख्छ । कठिन यात्रामा मानवीय सम्बन्धहरू कसरी च्यातिएर पनि जोडिन्छन्, र कसरी एकअर्काप्रतिको विश्वास पलाउँछ भन्ने कुराले मन छुन्छ ।
नाटकले एजेन्टहरूको भूमिका, पैसाको सञ्जाल र त्यसले पात्रहरूको जीवनमा पारेको प्रभावलाई पनि निकै कुशलतापूर्वक देखाएको छ । यी प्रसंगहरूमा पनि द्वन्द्व प्रचुर मात्रामा पाइन्छ । उदाहरणका लागि, जुन एजेन्ट खोला सुकेपछि आप्रवासीहरूलाई लिन आउँछ, ऊ आफैं पनि आफ्नो प्रेयसी गुमाएको पीडामा बाँचिरहेको हुन्छ । यसले गर्दा ऊ एक निर्दयी एजेन्ट मात्र नभएर, आफ्नै दुःखको कथा भएको एक मानवीय पात्रको रूपमा देखा पर्छ । यो प्रकारको जटिलताले नाटकलाई थप यथार्थवादी बनाउँछ ।
नाटकका हरेक पात्रको आफ्नै विशेष कथा छ । चाहे त्यो ‘स्वर्णदेश’ पुग्ने सपना बोकेको २३ वर्षको युवक होस् वा ‘सीता’लाई सम्झिरहेको ‘हरि’; सबै पात्रहरू आ-आफ्नै द्वन्द्वमा बाँचिरहेका छन् । यी अलग-अलग कथाहरू एकअर्कासँग जोडिँदा नाटकको कथावस्तु थप जीवन्त र गहिरो बन्छ । यसरी, ‘स्वर्णदेश’ ले आप्रवासीहरूको बाहिरी संघर्ष मात्र नभएर उनीहरूको आन्तरिक द्वन्द्व र मानवीय संवेदनालाई कुशलतापूर्वक प्रस्तुत गरेको छ ।
यहाँ पात्रहरू केवल एक्ला यात्री नभई, एकअर्कासँग जटिल सामाजिक र पारिवारिक धागोले बाँधिएका छन् । नाटकमा दाइ (सानोआमाको छोरा) र भाइ (ठूलोआमाको छोरा) बीचको सम्बन्धको एक्सपोजिसन (परिचय) ले पारिवारिक बन्धनको गहिराइ दर्शाइरहेकै छ । तर, यो बन्धन केवल रगतको नातामा मात्र सीमित छैन । यात्राको क्रममा उनीहरूको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।
यसमा हाइटीका एक नागरिक पनि जोडिन आइपुग्छन्, जसलाई शुरुमा नेपाली पात्रहरूले शंकाको दृष्टिले हेर्छन् । तर, यात्राको बाध्यता र साझा लक्ष्यले उनीहरूबीच विश्वासको पुल निर्माण हुन्छ । यो नाटकीय सम्बन्धको विकासले दर्शकलाई पात्रहरूसँग अझ बढी जोड्छ ।
अझ रोचक पक्ष तब आउँछ, जब पश्चिम रुकुमबाट आएकी एक एक्ली नेपाली युवती उनीहरूसँग जोडिन आइपुग्छिन् । बाढीका कारण महीनौंसम्म खोलाको किनारमा रोकिनुपर्दा भोक र रोगले थलिएको अवस्थामा उनको आगमनले कथामा नयाँ मोड ल्याउँछ । यो दृश्यले मानवीय संवेदना र पारस्परिकतालाई उत्कर्षमा पुर्याउँछ । खल्तीमा भएको थोरै चामल बाँडेर र खुर्सानी टोकेर भोक शान्त पार्ने उनीहरूको प्रयासले दर्शकलाई भावुक बनाउँछ । यो मास र इन्टिमेट दृश्यको संयोजनले कठिन परिस्थितिमा पनि मानवीयता मर्दैन भन्ने सन्देश दिइरहेकै देखिन्छ ।
नाटकको कथाको गति (Pacing) निकै तीव्र छ । खोला पार गर्ने क्रममा आउने बाढी, मृत्युको मुखमा पुगेका पात्रहरू, र बाध्यताले गर्दा नजिकका साथीहरूलाई छोडेर अगाडि बढ्नुपर्ने विवशताले दर्शकमा एक प्रकारको सस्पेन्स र आवेग उत्पन्न गर्छ । कसैलाई छोडेर अगाडि बढ्नुपर्ने दृश्यले त्रासदीपूर्ण विच्छेदको प्रतिनिधित्व गर्छ, जहाँ जीवन र मृत्युबीचको दूरी निकै पातलो हुन्छ । यो नाटकीय मोडले कथालाई अल्छी लाग्न दिँदैन र दर्शकलाई निरन्तर आफूसँगै तानिरहन्छ । साथमा, ‘स्वर्णदेश’ पुग्ने सुनौलो सपनाले उनीहरूलाई अगाडि धकेलिरहँदा, यात्राको निर्मम यथार्थले उनीहरूलाई पल-पलमा दिएको चुनौतीहरू त छँदै छन् ।
यसरी ‘स्वर्णदेश’ ले सम्बन्धको निर्माण, सहयोग, र वियोगका विभिन्न पाटोहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्छ । प्रत्येक पात्रको कथाले कोरस (समुहको भाव) निर्माण गर्दा पनि, उनीहरूको व्यक्तिगत संघर्षको सोलिलोक्यु (आत्मगत संवाद) ले नाटकलाई जीवन्त बनाइरहन्छ । कथा खुरुखुरु हिँडेका हुनाले, उति अल्छी लाग्दैन ।

हरि र सीताको कथा: जादुमय यथार्थवाद
‘स्वर्णदेश’ नाटकमा हरि र सीताको कथाले एउटा विशिष्ट स्थान राख्छ । गोताखोरको रूपमा सेनामा कार्यरत हरि, बढुवा नभएपछि ‘स्वर्णदेश’को सपना बोकेर कठिन यात्रामा निस्कन्छन् । उनको यो यात्रा केवल भौतिक मात्र नभई, मानसिक यात्रा पनि हो ।
यसै यात्राभर उनकी श्रीमती सीता उनको मनमा एक अदृश्य पात्र (Invisible Character) को रूपमा देखा परिरहन्छिन् । सीता एउटी यस्तो पात्र हुन् जसलाई मञ्चमा भएका अन्य कलाकारहरूले देख्दैनन्, तर दर्शकले उनको उपस्थिति महसुस गर्न सक्छन् । उनी हातमा नानी खेलाउँदै त कहिले नानीका जुत्ता झुन्ड्याइएको पहिरनमा झट्ट मञ्चमा देखा पर्छिन् । उनी बारम्बार पतिको कानमा पुगेर साउती मार्छिन्, पतिलाई घर फर्कन फकाउँछिन् । सीता बारम्बार हरिलाई पछ्याउँदै ‘नजानु’, ‘नेपालमै बसौं’ भनिरहेकी नै हुन्छिन् । तर, उनको त्यो साउती हरिले सुन्दैन ।
यो दृश्यले हरिको मनमा चलिरहेको द्वन्द्वलाई दर्शाउँछ । उनी बोल्दा नाटकका अन्य पात्रहरू रोकिनु वा सीतासँग हरि पटक-पटक संवादमा रहनुले नाटकीय समय (Theatrical Time) र स्पेस (Space) लाई फरक तरिकाले प्रयोग गरेको देखिन्छ । सीता एउटा प्रतीकात्मक पात्र हो, जसले हरिको मनको अवस्था, पश्चात्ताप र प्रेमलाई प्रतिनिधित्व गर्छिन् । यो एक प्रकारको अन्तर-संवाद (Inner Monologue) हो, जसलाई नाटकले मूर्त रूप दिएको छ ।
सीताको पहिरन र उनको उपस्थितिले कथामा थप अर्थ थप्छ । अन्य पात्रहरू जुत्ता, लामा लामा लौरो र झोलासहित यात्राको पहिरनमा हुँदा, सीता सेतो पहिरनमा रातो चप्पल लगाएर आउँछिन् । यसले उनीहरूको विवाह भर्खरै भएको र हरिको यात्रा नयाँ जीवनको शुरुवातको ठीक विपरीत (वा बाध्यकारी) रहेको संकेत गर्छ ।
नाटकको अन्त्यतिर आइपुग्न लाग्दा, हरिको मृत्यु भएपछि, सीताले उनले बुनेको गलबन्दी हरिलाई लगाइदिएर आफूसँग लिएर जान्छिन् । यो दृश्यले मृत्यु र प्रेमको मिलनलाई कलात्मक रूपमा देखाउँछ । सीताको यो उपस्थिति फ्ल्यासब्याक (Flashback) वा भिज्युअल मेटाफर (Visual Metaphor) का रूपमा बुझ्न सकिन्छ, जसले हरिको यात्राको सम्पूर्ण पीडा र भावनात्मक पक्षलाई समेटेको छ ।
यो कथानकलाई नाटकीय यथार्थवाद (Magical Realism) को एक स्वरूप मान्न सकिन्छ । जहाँ यथार्थवादी घटनाक्रम (आप्रवासीहरूको यात्रा) भित्र अवास्तविक वा जादुमय तत्त्वहरू (मृत्युपछि सीताले हरिलाई आफूसँग लिएर जानु) को प्रयोग गरिएको छ । यस कथानकका कारणले यसले पात्रको मनभित्रको द्वन्द्वलाई दर्शकसामु प्रत्यक्ष रूपमा प्रस्तुत गर्न सकेको छ । अझ, यसले मुख्य कथावस्तुसँगै अर्को समानान्तर भावनात्मक कथालाई पनि अगाडि बढाएको छ, जसले नाटकलाई अझ रोचक बनाएको छ । र, अर्को चाहिँ- सीताको यो चरित्रले नाटकमा प्रेम, वियोग, आशा र निराशाको कथालाई एकैसाथ प्रस्तुत गरेको छ, जसले ‘स्वर्णदेश’लाई एउटा सामान्य आप्रवासीको कथाभन्दा माथि उठाएको छ ।
नेपाली थिएटरमा यथार्थवादी र परम्परागत शैलीको वर्चस्व रहे पनि, यसप्रकारका जादुमय यथार्थवादको प्रयोगले नयाँ सम्भावनाहरू खोल्न सक्छ । नेपाली संस्कृतिमा धेरै लोककथा, मिथक र विश्वासहरू छन् । यी तत्त्वहरूलाई आधुनिक कथाहरूमा मिसाएर नयाँ शैलीको नाटक सिर्जना गर्न सकिन्छ । यस शैलीको प्रयोग गर्नुको सबैभन्दा ठूलो विशेषता नै दर्शकलाई निष्क्रिय दर्शकबाट सक्रिय व्याख्यातामा परिणत गर्नु हो । नाटकमा देखिएको जादुमय तत्त्व वास्तविक हो कि पात्रको मनको उपज हो भन्ने प्रश्नले दर्शकलाई सोच्न बाध्य बनाउँछ । यसले गर्दा नाटक सकिएपछि पनि दर्शकले त्यसको बारेमा मनन गरिरहन्छन् । तर, यसलाई सही तरिकाले प्रयोग गर्न नसकेमा नाटक हाँस्यास्पद वा अस्पष्ट बन्न सक्छ । यद्यपि, यस नाटकमा यो शैली मौलिक र गहिरो तरिकाले आएको छ, जून मलाई खुब मनपरेको छ ।

थिएटरमा पासपोर्टहरू पछारिनुको अर्थ !
चरम नैराश्य, बेरोजगारी र अनिश्चित राजनीतिले वाक्कदिक्क, प्याक्क, ट्वार्र, छ्यार्र भएर आफू भन्दा अग्लो लौरो समातेर घना जङ्गल, उर्लिएका नदी, विषालु जीवजन्तु र खतरनाक समुद्र पार गर्न तम्सिएका यी युवाहरूले पालैपालो पासपोर्टहरू पछारेको दृश्य बडो मार्मिक छ । थिएटरमा एकपछि अर्को गर्दै नेपाली पासपोर्ट पछारिनु अर्थ के हुनसक्छ ?
- उत्तर हो, चरम नैराश्य, बेरोजगारी र अनिश्चित राजनीति ।
तर, पासपोर्टलाई अति नै घिनलाग्दो वस्तुको रूपमा प्रस्तुत गरिएको छ । कलाकारले गर्न पाए तर, कलाकारले त्यसो किन गरे ? यो अर्को महत्त्वपूर्ण प्रश्न हो ।
मञ्चमा ठिंग उभिएको परशुरामले मन्चमा प्रवेश गर्नासाथ चिच्याएर भन्छ, “यो देशले मलाई आफ्नो नागरिकको रूपमा स्वीकार गर्न सकेन । मेरो त्याग, समर्पण, शिप, कौशल, क्षमता र देशप्रतिको ममतालाई लत्याएर पटकपटक मेरो राष्ट्रियमाथि प्रश्न गर्छ यो देश । जुन देशले पाइला पाइलामा मलाई तेस्रो दर्जाको ‘अ’नागरिक महसुस गराउँछ, जुन देशमा मेरो अस्तित्व छैन, जुन देशले मलाई चिन्दैन । त्यो देशमा म कसरी बस्नु ? किन बस्नु ? म कहाँ बस्नु ?”
परशुरामले हातमा भएको पासपोर्ट भुइँमा बजार्न नपाउँदै छेउमा भएका दिनेश थप्छ, “सिस्टम नै भ्रष्ट छ । हो यही भ्रष्ट सिस्टमको एउटा भिक्टिम म पनि हो ।”
अर्को पात्र सम्भवले पनि पासपोर्ट हुत्याउँछ, “एकचोटि होइन दुईचोटि होइन । तीन/तीन चोटिसम्म भिसा रिजेक्ट । डीभी त कत्ति हो कत्ति ! अब त मलाई जसरी नि जानु छ, आई जस्ट वाना गो ।”
यी दृश्य र संवादहरूले यो नाटक केवल अवैध आप्रवासनको कथा मात्र नभई, देशले आफ्ना नागरिकलाई दिनुपर्ने न्यूनतम आशा र सुरक्षा दिन नसक्दा सिर्जना भएको राष्ट्रिय त्रासदीलाई चित्रित गरिरहेको छ । नेपाली थिएटरको मञ्चमा नेपाली पासपोर्ट फ्याकिनु एउटा सामान्य घटना मात्र होइन, यो एक शक्तिशाली, प्रतीकात्मक र राजनीतिक बयान हो । यो दृश्यले चरम नैराश्य, बेरोजगारी र अनिश्चित राजनीतिको परिणामलाई मूर्त रूप दिइरहेको छ । यो केवल परशुराम, दिनेश वा सम्भवको व्यक्तिगत असफलताको अभिव्यक्ति होइन, बरु एउटा राष्ट्रप्रतिको सामूहिक मोहभंगको क्रूर प्रदर्शन हो ।
पासपोर्ट केवल एउटा कागजको टुक्रा होइन, यो नागरिकको राष्ट्रिय पहिचान, देशप्रतिको विश्वास र भविष्यको आशाको प्रतीक हो । जब यो पासपोर्टलाई घृणाका साथ भुइँमा पछारिन्छ, यसले देशले आफ्ना नागरिकलाई दिनुपर्ने आधारभूत विश्वास, सम्मान र अवसर दिन नसकेको कुरालाई स्पष्टसँग संकेत गर्छ । यो कार्यले युवाहरूमा देशप्रति कत्ति निराशा बढेको छ भन्ने देखाउँछ । उनीहरूले देशमा आफ्नो भविष्य सुरक्षित छैन भन्ने महसुस गरेर नै यस्तो कठोर कदम चालेका हुन् । पासपोर्ट फ्याकिनु उनीहरूको त्यही आक्रोश र पीडाको अभिव्यक्ति हो । पासपोर्ट पछारिँदा भुइँमा बज्ने कर्कश आवाज केवल एउटा सानो आवाज मात्र होइन, यो राज्यसत्ता र व्यवस्थामाथि गरिएको एउटा ठाडो प्रश्न हो । यस प्रश्नका लागि पनि कलाकारहरूलाई धन्यवाद भन्नै पर्छ ।

अब तुर्दिम् !
नाटकले एउटा रेखीय (Linear) कथावस्तुलाई पछ्याउँछ, जहाँ पात्रहरूले एक निश्चित बिन्दु (नेपाल) बाट आफ्नो यात्रा शुरु गर्छन् र ‘स्वर्णदेश’ नामक अन्तिम गन्तव्यमा पुग्न प्रयास गर्छन् । यस यात्रामा उनीहरूले विभिन्न चुनौती र अवरोधहरूको सामना गर्छन् । तर, यो नाटक केवल रेखीय कथामा सीमित छैन । यसमा चक्रीय (Circular) र प्रतीकात्मक (Symbolic) तत्त्वहरूको पनि सशक्त प्रयोग गरिएको छ । पासपोर्ट फ्याकेर देशलाई गाली गरिरहेका पात्रहरू अलि एकछिन पछि फेरि देशलाई प्रेम गर्न पुग्छन् । देश सम्झिएर भक्कानिन पुग्छन् । आमाको मायादेखि थालको भातसम्मका कुरा संवादमा आइपुग्छन् । र, यी सबै होइरहँदा दर्शकको मनका दर्जनौं प्रश्नहरू भने छोडिरहन्छन् ;
हामीले किन यस्तो दुस्साहस गर्नुपर्छ र के हाम्रा सपनाहरूले यति धेरै मूल्य माग्छन् ?
के नेपालीले आफ्ना सपनाहरूको यति ठूलो मूल्य तिर्नुपर्छ ?
कि हामीले हाम्रा सपनाहरू परिवर्तन पनि गर्न सक्छौं ?
हामी नेपाल नै बस्न सक्देनौं ?
नाटकमा ठ्याक्कै महसुस हुनेगरी एकप्रकारको समकालीन युवाहरूको इमानदार अभिव्यक्ति छ । यसले नेपाली समाजको यथार्थलाई लुकाएर होइन, बरु सिधै र निर्धक्क रूपमा मञ्चमा प्रस्तुत गरेको छ । यसैकारण यो नाटकबारे यति लामो लेख्न म तम्सिएको हो ।
यस नाटकले झट्ट हेर्दा संवाद देखिन्छ तर, संवादमा जवाफभन्दा बढी प्रश्नहरू छन् । यसैले नाटकलाई ‘प्रश्नप्रधान नाटक’ (Question-driven Play) वा ‘अन्तर्संवादमूलक नाटक’ भन्न सकिएला ! नाटक सकिए पनि प्रश्नहरू सकिएको छैन । यो एक प्रकारको प्रतिक्रियात्मक कथावाचन (Reflective Narration) हो । नाटकका पात्रहरूको संवाद केवल उनीहरूको कथा भन्नका लागि मात्र होइन, बरु यसले दर्शकको मनमा प्रश्नको बीउ रोप्ने काम गर्छ । दर्शकले नाटकलाई निष्क्रिय रूपमा हेर्दैनन्, बरु उनीहरू पात्रहरूको पीडा र प्रश्नहरूसँग जोडिन्छन् ।
‘स्वर्णदेश’को सपना र त्यसलाई प्राप्त गर्न गर्नुपर्ने कठोर संघर्षबीचको द्वन्द्वले मानवीय सपनाको दार्शनिक मूल्यमाथि बहस सिर्जना गरेको छ । के नेपाल बस्नै नसकिने हो र ? भनेर ‘जुनसुकै हालतमा पनि देश छोड्छु भनेर तम्सिएका युवाहरूलाई पनि सोधेको छ । के विदेशमा मात्र राम्रो जीवन सम्भव छ? यस्ता प्रश्नहरू उठाएर नाटकले ‘जुनसुकै हालतमा पनि देश छोड्छु’ भन्ने युवाहरूलाई पनि एकपटक आफ्नो निर्णयमाथि पुनर्विचार गर्न लगाउँछ ।

समाजशास्त्री र मानवशास्त्रीहरूले औंल्याएजस्तै, नेपालले अहिले जनसाङ्ख्यिक चुनौतीको सामना गरिरहेको छ । देशका गाउँहरू रित्तै छन् किनकि युवा जनशक्ति विदेशिएको छ । यस्तोमा एकपछि अर्को नागरिक ‘हत्या’ गरिरहेको राज्यलाई नाटकले जब्बर प्रश्नहरू गरेको छ । एउटा उन्नत जीवनको परिकल्पना र ऋणको भारी एकसाथ बोकेर हिँडिरहेका कति नेपालीहरू यसरी अवैध मार्गका हरि सरह नै मारिएका छन् ? हरिहरूको मृत्युको जिम्मेवार को हो ? के यो केवल उनीहरूको व्यक्तिगत जोखिमपूर्ण निर्णयको परिणाम मात्र हो, वा यो उनीहरूलाई त्यस्तो बाटो रोज्न बाध्य पार्ने राज्यको असफलता हो ?
के राज्यले आफ्ना नागरिकको जीवनको सुरक्षा गर्न सक्दैन ?
यदि सक्छ भने, किन हजारौँ युवाहरू जोखिमपूर्ण अवैध मार्गमा हिँडिरहेका छन् ?
के राज्यले हरिहरूको मृत्युको हिसाब चुकाउन सक्छ ? यदि सक्छ भने, कसरी ?
के केही आर्थिक क्षतिपूर्तिले एउटा ज्यानको मूल्य तिर्न सक्छ ?
कति हरिहरू अझै मारिनुपर्छ, अनि मात्र राज्य ब्युँझन्छ ?
अस्तु !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ फाल्गुन २०८२, बिहीबार 










