काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करणको पोस्टर र नाटक सूची सार्वजनिक भएको छ। मण्डला थिएटरले आयोजना गर्ने यस महोत्सव चैत्र ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । यस वर्षको निटफेस्टको नारा रहेको छ, “सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो”।

आयोजकले जारी गरेको विज्ञप्ति अनुसार, यस संस्करणमा विश्वका १२ देशका १७ नाटक प्रदर्शन गरिनेछन्। संसारभरबाट १ सय १५ नाटकको आवेदन परेकोमा १० विदेशी र २ नेपाली गरी १२ नाटक छनोट भएका छन्। त्यसमा थप मण्डला थिएटरबाट १, तीन सहरका स्थानीय आयोजकबाट ३ र चौतारी नाटकबाट १ नाटक समावेश गरी जम्मा १७ नाटक प्रदर्शनको लागि तय भएका हुन्।

नेपालबाट छनोट भएका नाटकहरू हुन्: ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ । विदेशी नाटकहरूमा जापान र नेपालको संयुक्त नाटक ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबोर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिथुआनिया र स्पेनको संयुक्त नाटक ‘अराइभ्ड’, र चीनकै ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ जस्ता नाटकहरू समावेश छन्।

यस वर्षको निटफेस्ट काठमाडौंको मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि आयोजना हुनेछ। महोत्सवमा १ सय भन्दा बढी विदेशी कलाकारहरूको सहभागिता रहनेछ। स्कटल्यान्ड, चीन र जर्मनीबाट कलाकारहरूले तीनवटा फरक कार्यशाला पनि सञ्चालन गर्नुहुनेछ । यसबाहेक, कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनी र विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू पनि महोत्सवमा समावेश गरिएको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रमको विस्तृत जानकारी केही दिनभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ।

निटफेस्ट २०२५ का निर्देशक चलचित्र अभिनेता तथा रंगकर्मी दयाहाङ राई हुनुहुन्छ । गत जुन महिनामा नाटक तथा कार्यक्रमको लागि आवेदन आह्वान गरिएको थियो। सार्वजनिक गरिएको पोस्टरमा स्थानीय सीप, कला, संस्कृति र पहिचानको संरक्षण र निरन्तरतालाई जोड दिइएको छ। यसअघि, निटफेस्टको दोस्रो संस्करण “विविधताको उत्सव” भन्ने अवधारणामा सम्पन्न भएको थियो।