स्याङ्जा । आनन्दआश्रम ज्ञान केन्द्र, स्याङ्जाको आयोजनामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा साहित्यको महत्त्व, आनन्दआश्रमको योगदान र ग्रामीण क्षेत्रमा साहित्यको पहुँच विस्तार जस्ता विषयमा छलफल भएको थियो।
उपाध्यक्ष दिप्तिनारायण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा शारदा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाल लेखक सङ्घ स्याङ्जाका जिल्ला अध्यक्ष तथा युवा साहित्यकार मिलन समिर कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँले साहित्यले व्यक्ति र समाजलाई रूपान्तरण गर्ने शक्तिको चर्चा गर्दै आनन्दआश्रमको कार्यलाई प्रशंसा गर्नुभयो। उहाँले आफ्नो ”म आँधीखोला उल्टो बगिरहेको छु” शीर्षकको कविता पनि वाचन गर्नुभयो।
प्रा.डा. यमबहादुर पौडेल क्षेत्रीले आनन्दआश्रमले दुई वर्षभित्र तीनवटा पुस्तकको परिचर्चा गरिसकेको जानकारी गराउँदै यसले साहित्यिक गतिविधिहरूलाई प्रवर्द्धन गरिरहेको बताउनुभयो।
कार्यक्रममा संस्थापक संरक्षक त्रिलोचन ढकाल, पोखराका साहित्यकार धनबहादुर नेपाली, साहित्यकार पारिश्वर न्यौपाने, प्रगतिशील लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष शम्भु अर्याल लगायतले आनन्दआश्रमका गतिविधिबारे प्रकाश पार्दै आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो। प्रद्युम्न पनेरु माध्यमिक विद्यालयकी छात्रा शिखा सुनार र कवि सूर्य जिटीले आकर्षक कविता वाचन गर्नुभएको थियो भने विद्यार्थी सबिन जिटीले शिक्षाप्रद कथा सुनाउनुभएको थियो।
आनन्दआश्रमको टुल्की नन्दकला सभा कक्षमा सम्पन्न दुई घण्टा भन्दा लामो गोष्ठीको समापन गर्दै सभापतिले एउटा शिक्षाप्रद कथा सुनाउनुभयो र २६ औँ अध्याय चैत्र १६ गते हुने जानकारी गराउनुभयो। शारदा शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। गोष्ठीले ग्रामीण क्षेत्रमा साहित्यको प्रचारप्रसारमा आनन्दआश्रमले खेलेको भूमिकाको प्रशंसा गरेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 









