१. काल विभाजनको लघुकथाः प्रतिप्रश्न 

शुभ शर्मा

शुभ शर्मा

उनका जेठा छोरा-बुहारी विदेशमै बसेको निकै भएको थियो,  नेपाली नागरिकता नै  त्यागेर  ! साथमा बसेको कान्छोको परिवारसँग उनी रमाएकै थिए । एकपटक ठुलो भूकम्प आयो । विधिको लेखा,  परिवारका सबै मरे । उनी एक्लै भए । जेठालाई कुनै उपायले फिर्न अनुनय गरे, तर उनीहरूले मानेनन् । जन्मभूमि र पुर्खौली थलो छोड्न उनको मनले मानेन, र एक्लै बस्न थालेका थिए ।

थाहा न पत्तो, आफ्नो आँगनभरि आज मान्छेहरू भेला भएका देखेर उनी झसङ्ग भए । कारण खोतल्दै जाँदा मिडिया र छिमेकीहरू रहेछन् । उता विदेशमा उनकी नातिनीले उतैको सरकारी जागिरमा ठुलै पद पाएकी, सामाजिक सञ्जालमा छाएकी, अनि गाउँघरका सबै बधाई दिन आएका रे ! उनीहरू सबैले आफ्ना आफ्ना कुराहरू राखे । क्यामेरा र माइकहरू उनका तस्बिर र भावना कैद गर्न तयार थिए ।

प्रश्न सोधियो, “नेपाली छोरीले प्रगति गरेकोमा हजुरबुबाको गर्व र खुसीका अनुभव के कस्ता छन्, कृपया …! ´´

सुरूमा त उनले  केही बोलेनन् तर पछि धर पाएनन् । खुइ….य्य गर्दै  टोपी झिके र तप्प चुहिएको आँसु पुछ्दै प्रतिप्रश्न गरे, `न उनको जन्मथलो नेपाल हो, न त  उनी नेपाली हुन् । न त उनीसँग नेपाली हुनुको मनस्थिति छ, न त  कुनै कागजपत्रको प्रमाण ! कसरी उनी नेपाली चेली भइन्, र यत्रो गुणगान गाउनुभयो ?´´

###

नेपाली लघुकथाको ७० को दशकलाई “सामाजिक सञ्जाल काल” भनिन्छ । यसै दशकबाट नेपाली लघुकथाहरू सामाजिक सञ्जालको माध्यमबाट क्षणभरमै पाठकको हातहातमा पुगिरहेछन् । यसै समयबाट छरिएर रहेका लघुकथाकार र पाठकहरू सँगै रहेको आभाष रह्यो । यही सामाजिक सञ्जाल कालमा देखिएर सक्रिय भएकी हुन् शुभ शर्मा ।

शुभ शर्मा “हाम्रो लघुकथा पाठशाला”को एक एड्मिन सदस्य पनि हुन् । थोरै लघुकथा लेख्ने तर धेरैका लघुकथाहरूमा आफ्नो स्वरभरि पाठक/स्रोताहरूसम्म पुर्याउने काममा क्रियाशील छिन् शुभ शर्मा । हाम्रो लघुकथा पाठशालाले आजको व्यापकता पाउनुको कारण शुभ शर्माको अथक् प्रयासको पनि एक हो ।

शुभ शर्मा नेपाली भूमिबाहिर बस्छिन् । तर नेपाली भूमि र जनजीवनलाई अत्यन्तै आदर र सम्मान गर्छिन् । प्रस्तुत लघुकथा “प्रतिप्रश्न” शुभ शर्माले देशप्रेमको आशक्तिमा लेखिएको बेजोड कथा हो । जन्मथलो, आनीबानी, स्वभाव र कागजी प्रमाणविहीन व्यक्तिलाई नेपाली मानिरहनुमा कुनै तुक नरहेको यथार्थ तर फरक कथा प्रस्तुत गरेकी छिन् शुभले । कथाले नयाँ प्रश्नलाई गम्भीरताको साथ उप्काएको छ ।)

२. सङ्ग्रहभित्रको लघुकथाः बेहया

डा. कपिल लामिछाने

प्रा.डा. कपिल लामिछाने

‘बेहया, सरम छैन । त्यत्रो घ्याम्पो बोकेर हिँडेकी छ ।’

नीतिमाया भैँसी चराएर आउँदै थिई । आज पनि बाटामा ताना सुन्नु प-यो ।

ऊ अठ्ठारमा टेकेकी थिई । पेट बढेकाले पेट दुखेको थियो । ताना सुन्नुपरेकोले मन दुखेको थियो ।

ऊ भैँसी खेद्दै घर पुगी ।

बाबुले भने,  ‘उः आई बेहया । राम्रो केटो खोजेर बिहेदान गरौँला भनेको … कसको हो भन् ?’

आमा कराइन्, ‘भन् रे । बरु त्यसैलाई दिन्छौँ । भन् भन्दा किन मान्दिनस् ? हाम्रो नाकै काटिइसक्यो ।’

उसले भैँसी बाँधी । हातखुट्टा धोई । बाबुआमाका सामु गएर भनी, ‘कोही छैन । मेरो कसैसित कुनै सम्पर्क छैन । बाटाभरि ताना सुनेर आउँदैछु । बिन्ती, अब घरमा तपाईंहरू त त्यसो नभन्नुस् ।’

बाबुले राँगाले झैँ हेरे ।

‘नभए कसरी हुन्छ त त्यस्तो ? छ-छ मैनाको भइसक्यो ।’ आमा झर्कंदै भित्र पसिन् ।

एकैछिन पछि लाठा लिएर गाम्लेहरू आँगनमा दाखिला भए ।

‘एइ बेहया, कसको हो भन् ?’

‘ए गोले । छोरीको मुख खोला । नत्र भने … ।’

‘मैले त केरिरहेछु नि । भने पो ।’ उसका बाले भने ।

‘ए भन्दिन । भनाउने उपाय हामीसित छ । यो त अचाक्ली भो । गाउँ नै बदनाम भो ।’

गाउँलेहरू आक्रमणका मुद्रामा थिए ।

नीतिमायाले हात जोडेर भनी – ‘पेट बढ्दै गएकोमा म आफैँ चिन्तित र दुखी छु । पेट बढेको मात्र होइन, दुखेको पनि छ । यसको उपचार हुनुपर्छ ।’

‘ए ए नाटक नगर । अझ उपचार । हँ । कसको बोकेकी होस्, त्यो भन् ।’ उसले बोल्दाबोल्दै एउटाले लाठो उज्याएर भन्यो ।

हिम्मत बटुलेर उसले फेरि भनी – ‘मैले कसैको केही बोकेकी छैन । कसैसित कुनै सम्बन्ध पनि छैन । यस्तो हेपेर भन्दा अलिकति सरम पनि त लाग्नुपर्ने हो ।’

‘ए हान्  हान् । बेहया कहीँकी ।’

एक्कासि उसमाथि आक्रमण भयो । ऊ बेहोस भई । गाउँलेहरू हिँडे । अस्पताल पु-याउँदा उसको सास गइसकेको थियो ।

पोस्टमार्टमको रिपोर्ट देखाउँदै डाक्टरले भने– ‘पेटमा त ११ किलोको ट्युमर रहेछ ।’

###

(डा. कपिल लामिछाने नेपाली लघुकथाको स्थापित नाम हो । उनीले थुप्रै लघुकथाकृतिमार्फत् नेपाली लघुकथाको भण्डार सजाएका छन् । प्रस्तुत लघुकथा “प्रतिस्थापन” सङ्ग्रहबाट लिइएको हो ।

डा. कपिल लामिछाने बौद्धिक लघुकथाकार हुन् । लघुकथाको सटिक समीक्षक र समालोचकसमेत रहेका डा. कपिल लघुकथामा अनेक बौद्धिक प्रयोग पनि गरिरहन्छन् । उनीले पाँच शब्दको नेपाली लघुकथा पनि लेखेका छन् , जुन हालसम्मकै छोटो नेपाली लघुकथा हो । लघुकथामा विशेष: तराईको गरिब जनजीवनलाई प्रस्तुत गर्न डा. कपिल औधी रुचाउँछन् ।

प्रस्तुत लघुकथा “बेहया” ग्रामीण तराईको लघुकथा हो । किशोरीमाथिको अमानवीय दमनको चरम् विषयमा लेखिएको यो लघुकथा कतै देखेको झैँ लाग्छ तर कथाकारले कथालाई मज्जाले मोडेका छन् । कथाको प्रत्येक घुम्ती र मोडहरूमा दुखाइ मात्र छ । करूण रसले भरिएको यो लघुकथाले पाठकलाई पछिसम्म पनि सताइरहन्छ । यो सताइ नै कथाकार कपिल लामिछानेको सफलता हो ।)

३. समसामयिक लघुकथाः कम्बल

दीपक लोहनी

दीपक लोहनी

गाउँ/सहरमा जाडो ह्वात्तै  बडेको थियो । सबै जना कठ्ङ्ग्रिएर लुगलुग काम्दै थिए ।

भेँडागोठालोले भेँडाहरूलाई हेर्यो । भेँडाहरू झ्यापुल्ले भुत्लाहरू भिरेर पनि लुगलुग काम्दै थिए ।

गोठालोले अनुहारमा मिठास फैलाउँदै बोल्यो – “भेँडाहरू हो, म तिमीहरू सबैलाई एक एकवटा बाक्ला कम्बलहरू बनाइदिन्छु । त्यही कम्बल ओडेर तिमीहरूले यो जाडो भगाउनुपर्छ ।”

सबै भेँडाहरू खुसीले बुर्लुक्क उफ्रिए ।

गोठालोले सबै भेँडाहरूको बाक्लो भुत्लाहरू स्नेहपूर्वक खौरियो । भेँडाहरू सर्वाङ्ग नाङ्गा भए ।

गोठालो भेँडाहरूको भुत्लाहरू बोकेर कम्बल लिन सहर पस्यो । तर अझै फर्किएको छैन । भेँडाहरू जाडोमा लुगलुग काम्दै कम्बल पर्खिरहेका छन् ।

###

गतहप्तादेखि मौसममा चिसो अत्याधिक बढेको छ । उच्चपहाडी क्षेत्रमा हिउँहरू फुसफुसाएका छन् । सामाजिक सज्जालभरि हिउँसँग खेलेका फोटोहरू र जाडोको अनुभूतिहरू पोष्टिएका छन् । यही समय लघुकथाकार दीपक लोहनीको “कम्मल” लघुकथा आएको छ, जुन अत्याधिक सान्दर्भीक छ । साहित्यपोस्टका लघुकथा सम्पादक भएर साहित्यपोस्टमार्फत् लघुकथाको अध्ययन र अनुसन्धानमा पनि सक्रिय छन् । 

प्रस्तुत लघुकथा “कम्मल” दीपक लोहनीको पछिल्लो लघुकथा हो । स्वैरकल्पनाको प्रयोग गरी दीपकले गरिबी र  आश्वासनको चित्रण यस लघुकथामा गरेका छन् । एउटा वातावरणको चर्चा गरेझैँ गर्दै अर्को वातावरणलाई व्यङ्ग हान्न दीपकको अधिकांश लघुकथा सफल छन् । कम्बलको पनि ध्येय यही हो । कथा प्रत्येक जाडोमा सम्झन लायक छ ।)

४. लघुकथा समूहभित्रको लघुकथाः जागिर 

त्रिलोचन ढकाल

त्रिलोचन ढकाल

“बा ! सरिताले आज पनि पैसा तिरिन । खाजा खाई र गई ।” रामबहादुरले सुनेको नसुन्यै गर्यो ।

“त्यसले दिनदिनै खान्छे । पैसा भने तिर्दिन ।” रामबहादुरले वास्ता गरेन ।

छोरो रिसायो । खुट्टा भुइँमा बजार्यो, र भन्यो- “त्यसले चोरेर खाएकी छ । तिमीले देखेका छैनौँ ?”

“देखेको छु ।”

“किन नमागेको त पैसा ?”

“विद्यालयका सयभन्दा बढी विद्यार्थीले पैसा तिरेर खाएका छन् खाजा । एक जनाले नतिरेर घाटा पर्दैन छोरा ।”

छोरो मानेन । रिसाइरह्यो । रामबहादुरले त्यो केटीसँग लसपस गर्दो रहेछ कि भनेर शङ्कासमेत गर्यो ।

छोराको चालामाला देखेपछि बाबुले सत्य कुरा ओकल्नैपर्ने भयो – “विद्यालयका सबै विद्यार्थीलाई खाजा खान ल्याइदेउ भनेर सरितालाई जागिर दिएको छु ।”

###

(सामाजिक सञ्जालमा लघुकथाको पेज खोल्ने पहिलो श्रेय “लघुकथा कुनो”लाई जान्छ । वरिष्ठ लघुकथाकार नारायण तिवारीको परिकल्पनामा लघुकथा कुनो जन्मिएको हो । यो पेज लघुकथाको पेजहरूमध्ये अत्याधिक सदस्य सङ्ख्या रहेको पेज हो । यस पेजलाई अन्य पेजहरूको तुलनामा प्राज्ञिक पेजको रुपमा हेरिन्छ । यसै पेजमा त्रिलोचन ढकालका थुप्रै लघुकथाहरू पढ्न पाइन्छ । प्रस्तुत लघुकथा “जागिर” पनि यसै पेजबाट लिइएको हो ।

त्रिलोचन ढकाल राजनीतिक अनुशासनबाट लघुकथामा आएका व्यक्ति हुन् । उनीका प्रायः लघुकथाहरूमा राजनीतिक रङ र सुगन्ध भेटिन्छन् । पछिल्लो समय लघुकथाको विकासको लागि पनि त्रिलोचन ढकाल सक्रिय छन् । उनी लघुकथा समाजको गण्डकी प्रदेश अध्यक्ष पनि हुन् ।

प्रस्तुत लघुकथा सरल वाक्यबाट सहज घटनामा बगेको छ । तर लघुकथाकै धर्मानुसारमध्ये भागमा द्वन्द्व देखिन्छ र त्यो द्वन्द्वको समाधान सहज रूपमा गरिँदा कथा पूरै मोडिन्छ । कथामा थाहा नपाउँदो किसिमले राजनीतिक जलप लगाइएको छ ।)

५. मलाई मन परेको लघुकथाः मुकुट

शरण राई 

शरण राई

ऊ असफल भएर आर्थिक रूपले समस्याग्रस्त भयो । नोकरी, व्यापार, खेती  केही  थिएन  । भोकै हुने अवस्था आएपछि उसले युक्ति निकाल्यो – एउटा मुकुट बनाएर समाजको सबैभन्दा ठुला मान्छेलाई सम्मान गर्दै पहिर्याउने ।

‘गणतन्त्रको युगमा पनि के को मुकुट ?’ मानिसहरुले भने ।

‘राजा बनाउन मुकुट पहिराउने नभएर सबैभन्दा ठुला मान्छेको सम्मान गर्ने असल तरिका हो  ।’ उसले भन्यो ।

मुकुट भनेपछि महँगो हुने नै भयो । आफ्नो ठाँउको इज्जत जाला भन्दै उसले सबैसँग थुप्रै चन्दा उठायो । नेता, उद्योगी, व्यापारी, साहित्यकार, समाजसेवी र अन्य सबै ठुला मानिसहरू आफूलाई त्यस ठाउँको सबैभन्दा ठुला मानिस सम्झन्थे । त्यो मुकुट आफूले नै पहिरिन पाउँछु भन्ने सोच्थे । त्यसैले उसको काममा सबैले साथ दिए । मुकुटका लागि उसको चाकडी पनि कसै कसैले त गर्न थालेका थिए ।

‘मुकुट पाइयो भने त चुनाव जित्न सजिलो हुन्छ’ नेता सोच्थे । ‘ठुलो मान्छे भइन्छ’ अरुहरू पनि सोच्थे ।

ठुलो धन राशि उठ्यो, हेर्दाहेर्दै ऊ धनाढ्य भयो । उठेको कुल रकमको सय भागको एक भाग खर्च गरेर उसले सुन, चाँदी र रत्न मिश्रित मुकुट बनायो ।

मुकुट पहिराउने भव्य समारोहको आयोजना गर्यो । सबै ठुला भनाउँदाहरूले आफूले नै पाउँछु भन्ने सोचेका थिए । त्यसैले कसैले विरोध गरेनन् । सबै ठुलाहरूले त्यस कार्यक्रममा ठुला ठुला भाषण र शुभकामना मन्तव्य दिए । अन्तमा मुकुट पहिराउने समय आयो ।

ऊ उठ्यो र मुकुट सबैलाई देखाएर आफैँले पहिर्यो । उसका पत्नी, नातागोता र पाल्तुहरूले ताली बजाए । विरोध गर्न भनेर नेताहरुले उठेर आफ्ना पाल्तुहरूलाई हेरे । पाल्तुहरु त कहिले हो कहिले, उसले किनिसकेको रहेछ । उसकै  भिजिलान्तेहरूको ठुलो समूह देखेर आफूलाई ठुला सम्झनेहरू सब चुप भए ।

मुकुट पहिरेर ऊ त्यस समाजको सबैभन्दा सम्मानित ठुलो मान्छे भयो ।

###

(शरण राई पाका लघुकथाकार हुन् । अनुभवको भकारीबाट निकालिएका विषयवस्तुहरूलाई यथार्थको नजिक पुर्याउने क्षमता शरण राईका प्रत्येक लघुकथाहरूले राख्छन् । प्रस्तुत लघुकथा “मुकुट” मधुपर्क साहित्यिक पत्रिकाको ५५५ पुर्णाङ्क “लघुकथा विशेषाङ्क” २०७२ सालमै चर्चामा रहेको लघुकथा हो ।

वर्णनात्मक शैलीमा लेखिएको यो कथाले साहित्यको एक पाटोलाई उजागर गरेको छ । हाम्रो समाजमा सबै सम्मान र कार्यहरू यस्तै हुन्छन् भनेर भनिएको त कथामा छैन, तर यस्तो दृष्य पनि बग्रेल्ती नभेटिने चाहिँ हैनन् । कथामा सजाइएका शब्द, परिवेश, पात्र र विषयले साहित्यका  इतरव्यक्तिहरुको पनि मन छोएको छ । कथा सफल छ । कथाले आफ्नो हात, जगन्नाथ भन्ने उखानलाई चरितार्थ गरेको छ ।)