मोरङ । पठन संस्कृतिको विकास र स्रष्टाप्रति सम्मान प्रकट गर्ने उद्देश्यले मोरङको बेलबारीमा आयोजित एक कार्यक्रममा अनौठो शैली अपनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूले आफैँले लेखकको कृति खरिद गरी सोही कृतिको लोकार्पण गर्नुभएको छ ।
नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउँदै आएका लेखक केशु विरहीले बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणको अभियान सुरु गर्नुभएको छ । उहाँले तयार पारेको पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’को बिक्रीबाट प्राप्त रकमको कम्तीमा ५० प्रतिशत रकम यस अक्षयकोषमा जम्मा गरिनेछ। यसबाट प्राप्त ब्याजबाट अनुसन्धानमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गरिनेछ। पहिलो चरणमा बेलबारी बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरी त्यहाँका अनुसन्धानरत विद्यार्थीलाई पुरस्कृत गर्ने र दोस्रो चरणमा राष्ट्रिय स्तरका अनुसन्धानकर्तालाई पुरस्कृत गर्ने योजना रहेको विरहीले जानकारी दिनुभएको छ।
बेलबारी साहित्य विकास समितिको आयोजना र बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टरको सहआयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक व्यक्तित्व विनोद भण्डारी, डा. उद्धव पोखरेल, स्रष्टा छवि वैरागी घिमिरे, ईरान राई लगायतको उपस्थिति थियो।
लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेले समीक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले विरही र उहाँले सुरु गर्नुभएको अभियानको प्रशंसा गर्दै शुभकामना दिनुभएको थियो । पठन संस्कृति हराउँदै गएको र साहित्यिक कृतिहरू निःशुल्क वितरण गर्नुपर्ने बाध्यतालाई चिर्दै यस अभियानले नयाँ आशाको सञ्चार गरेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










