दृढ इच्छाशक्ति भएमा जतिजुकै कठीनभन्दा कठीन कार्य पनि फत्ते गर्न सकिन्छ भन्ने उदाहरण चन्द्रमणि गुरागाईंको जीवनबाट लिन सकिन्छ । जीवनको छ दशकको यात्रा पूरा गरेपछि मात्र उनले कलम चलाउन सिके, त्यसलाई निरन्तरता दिए । कडा मिहिनेत र लगावका कारण उनको कलमले सार्थकता पायो । अनुभवले भरिएको एउटा पुस्तकको जन्म भयो । पुस्तकको नाम राखियो ‘भीरगाउँदेखि भीमचौरीसम्म’ ।

लेखक गुरागाईंका बारेमा कुरा गर्दा उनी केही वर्ष शिक्षक र डेढ दशकजतिको समय  बहिदार, मुखिया हुँदै खरिदार भएर काम गरेका व्यक्ति हुन् । तर उनको औपचारिक शिक्षा भने कक्षा ८ सम्मको मात्र हो ।

२०१३ सालमा ननिलाल चौधरीको नेतृत्वमा दुलारी, मोरङमा स्थापना भएको दीपक अपर प्राइमरी स्कुलमा ३ वर्ष पढाएपछि उनी तत्कालीन दुलारी आदर्श गाउँपञ्चायतमा जोडिए । २०२६ सालमा बहिदारका रूपमा प्रवेश गरेका उनले २०३९ सालसम्म त्यहाँ काम गरे । बहिदारबाट प्रवेश गरेका उनले मुखिया हुँदै खरिदारसम्मको जिम्मेवारी समाल्न सफल भएका थिए । यद्यपि गाउँपञ्चायतको जागिर उनका लागि जागिर मात्र नभएर त्यो एउटा स्वयम् सेवा पनि थियो । अर्थात् उनले त्यहाँ जागिरभन्दा पनि बढीचाहिँ स्वयम् सेवा नै गरे भन्दा पनि अत्युक्ति नहोला ।

गाउँ पञ्चायतबाट निस्किएपछि उनी गाउँघरमै बाटाघाटा, पैनीनिर्माण तथा सङ्घसंस्थाको विकासमा सक्रिय देखिएका छन् । ती कार्यमा उनी कहीँ सहयोगी त कहीँ नेतृत्वदायी भूमिमा समेत देखिन्छन् ।

कान्छी छोरी नम्रताका कारणले लेखक बन्न सफल भएको बताउने गुरागाईंको जन्म २००१ साल जेठ ६ गते शुक्रवारका दिन साबिकको भीरगाउँ गाविस, (हालको धनकुटा नगरपालिका –२, भीरगाउँ), धनकुटामा पिता मोहनलाल गुरागाईं र माता नरेन्द्रकुमारी (दाहाल) गुरागाईंका माहिला छोराका रूपमा भएको हो । त्यस्तै २०१३ साल माघ २७ गते भीरगगाउँकै चन्द्रलाल लामिछाने र गङ्गादेवी लामिछानेकी माहिली छोरी गोमादेवी लामिछानेसँग वैवाहिक बन्दनमा बाँधिएका उनीहरूका दुई भाइ छोरा र दुई बहिनी छोरी गरेर चार जना सन्तान रहेका छन् ।

चन्द्रमणि गुरागाईं मूलतः फुटकर रूपमा कविता विधामा कलम चलाउँदै आएका व्यक्ति हुन् । उनी कविताका अतिरिक्त निबन्ध पनि लेख्ने गर्छन् । उनका फुटकर केही रचनाहरू प्रकाशित पनि भएका छन् ।

‘भीरगाउँदेखि भीमचौरीसम्म’ उनको आत्मकथाको पुस्तक हो । यसमा उनले आफ्नो जीवनकथा वा जीवन भोगाइलाई सुन्दर तथा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

भूमिकासहित २१० पृष्ठमा समेटिएको यस कृतिमा उनका बाल्यकालीन याददेखि लिएर, शिक्षादीक्षा, विवाह, बसाइसराइ हुँदै उनले बिताउँदै आएको पछिल्लो एकल जीवनका बारेमा समेत उल्लेख गरिएको छ ।

२०२० सालमा सम्भावनाको खोजीमा जन्मस्थल छोडेर तराई झरेका उनी सुनसरीको सत्तेरझोडा गाउँपञ्चायत (हात्तीमुडा) मा हुँदै भीमचौरीमा आएर बस्न थाल्छन् र जीवनको महत्त्वपूर्ण समय त्यहीँ व्यतीत गर्छन् । यसमा उनको जन्मस्थल धनकुटाको भीरगाउँदेखि बसाइसरेर आएर बस्न थालेको मोरङको भीमचौरी हुँदै अमेरिकासम्मका घटनाहरू अटाएका छन् । सारमा भन्दा उनको यो जीवनी वा अनुभवकथा पनि हो ।

हुन त यस कृतिमा उनले आफ्नो अनुभव मात्र समेटेका छैनन्, यसमा यात्रा वर्णनका साथै उनले समाजमा लुकेर रहेका केही सामाजिक व्यक्तित्वलाई समेत बाहिर ल्याउने काम गरेका छन् ।

आफ्ना लागि मात्र बाँच्नेकाहरूको भीडमा त्यस्ता व्यक्तिहरू पनि भेटिन्छन् जो सधैं समाजका लागि जिउँछन् । समाजकै लागि मर्दछन् । जसले औपचारिक शिक्षाको अवसर नपाए पनि उनीहरूले समाजका लागि आफ्नो अमूल्य समय खर्चिएका हुन्छन् । आफ्नो सुतीखेतीसँगै समाजका लागि उनीहरू केही न केही गरिरहेका हुन्छन् ।

उनीहरूले आआफ्ना ठाउँबाट समाजलाई केही न केही योगदान दिएका हुन्छन् । तर त्यस्ता व्यक्तित्वका बारेमा खासै सोधीखोजी गर्ने काम भएको पाइँदैन, उनीहरूलाई बाहिर ल्याउने काममा कसैको पनि चासो पुगेको देखिँदैन । राज्यले पनि त्यस्ता व्यक्तिले समाजमा पुर्याएको योगदानलाई खासै चासो दिएको पाइँदैन । खराब राजनीतिले गर्दा झन् पछिल्लो समय त यस्ता कुरालाई चासो नै दिइँदैन, देखे पनि नदेखेझैँ गरिन्छ । विचार नमिल्ने वा फरक आस्था लिएका वा स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिले गरेको योगदानलाई योगदान नै नदेख्ने परिपाटी उत्तिकै मौलाउँदो छ । तर चन्द्रमणिले भने कुनै आग्रह नै नराखी आफ्नो पुस्तकमार्फत् बाहिर ल्याएर उनीहरूलाई जीवित राख्ने काम गरेका छन् । आफ्नो क्षमताअनुसार समाजमा योगदान पुर्याउने व्यक्तिहरूलाई बाहिर ल्याएर उनीहरूलाई जीवित राख्ने काम गरेको हुनाले यस कृतिलाई एउटा खोज अनुसन्धानको पुस्तकका रूपमा पनि लिन सकिन्छ । यसरी हेर्दा उनी लेखकका अतिरिक्त एक जना अन्वेषक पनि बन्न पुगेका छन् ।

समाजका लागि सबैथोक समर्पण गर्न पनि अल्छी नगर्ने, सधैँ समाजकै लागि जिउने त्यस्ता व्यक्तिका बारेमा कसैले पनि खोजी नगरेकाले आफ्नो पुस्तकभित्र उनीहरूलाई अटाएको गुरागाईंको भनाइ रहेको छ । उनी भन्छन्, ‘मैले समाजका केही मानिसहरूलाई असल मान्छेको संज्ञा दिएर लेख्नुको कारण के हो भने महेश्वर लिम्बूले खुलाएको महेश्वर झोडामा धेरैतिरका मानिस आए । कोही प्रवासबाट, कोही पहाडबाट । उनीहरूले कोसेलीका रूपमा आ–आफ्ना अनुभवका पोका ल्याएका थिए । प्रवासबाट आउनेले झोडाका बालबालिकाहरू पढ्न नपाएर धुलोहिलोमा खेलेको देखे । पहाडबाट आउनेले सानातिना चिया दोकान, किराना दोकान देखे । प्रवासीले ती बालबालिकाहरूलाई कखरा सिकाउन घरमै मास्टर राखेर पढाउन थाले । त्यसैलाई विद्यालयको रूप दिन प्रयास गरे । कोही विद्यालय स्थापना गर्न जग्गा दिने भए । कोहीले पुस्तकालयका निम्ति घर बनाइदिए । कोही सञ्चालक समितिमा रहेर काम गर्न तयार भए । मान्छे पढ्न–लेख्न नपाए पनि शिक्षित हुन सक्तो रहेछ भन्ने उदाहरण पेस गरे । शिक्षा र सामाजिक एकताको बीजारोपण गरे । बाँचुन्जेल त्यही समाजमा हाँसे, रमाए । भावी पुस्ताका लागि असल सन्देश छोडेर गए (पृ.१५१) ।”

यसका अतिरिक्त ‘घनकुटा र धनकुटाका प्रतिभाहरू’ शीर्षकभित्र पनि उनले केही व्यक्तित्वहरूका बारेमा चर्चा गरेका छन् (पृ.३३) । त्यस्तै उनले यस कृतिमा अमेरिका र नेपालमा रहेका प्राथमिक विद्यालय र पुस्तकालयका बीचमा तुलना गरेका छन् । उनको यो तुलना निकै घतलाग्दो रहेको छ । अमेरिकामा बालबालिकालाई सानैदेखि नै पुस्तकप्रतिको मोह बढाउने काम गर्ने गरेको अनुभवसमेत उनले यस कृतिमार्फत् बाँड्ने काम गरेका छन् । पछिल्लो समय पठनसंस्कृतिमा ह्रास आइरहेको अवस्था छ, किताबप्रति खासै आकर्षण देखिँदैन । मानिसहरूको बढी समय चिया गफमै बित्ने गर्दछ । पुस्तकालय गएर अध्ययन गर्ने बानीको विकास भएको पाइँदैन । त्यसो त नेपालमा भएका पुस्तकालयहरू पनि सर्वसाधरणको पहुँचभन्दा निकै टाढा छन् ।अझ नयाँ पुस्तामा त पुस्तकप्रतिको विकर्षण झन् विकराल बन्दै गएको छ । कोर्षका भन्दा अरू पुस्तक उनीहरू पल्टाउनै चाहँदैनन् । तर अमेरिकामा बस्दा उनले जेष्ठ नागरिक तथा बालबालिकाले समेत पुस्तकालयमा समय बिताएको देखेका छन् ।

यस पुस्तकले नेपालमा पनि पुस्तकालयप्रतिको आकार्षण बढाउन विभिन्न कार्यक्रम ल्याउनुपर्ने, पुस्तकालयलाई सुविधासम्पन्न बनाउनुपर्ने पर्ने कुराको वकालत गरेको छ । पुस्तकालयलाई पुस्तकालयजस्तो बनाउनुपर्नेमा उनको विशेष जोड रहेको छ । सारमा भन्दा उनको यस अनुभव कथाले नेपालमा पुनः पुस्तकप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

कठीनभन्दा कठीन परिस्थितिमा पनि विचलित नभई आफ्नो श्रम र पसिना रोपेर सुतीखेतीमै रमाउँदै आएका व्यक्ति हुन् चन्द्रमणि गुरागाईं । निकै सङ्घर्षमय जीवन बिताएका, आफ्नो महत्त्वपूर्ण समय समाजसेवामै खर्चिएका व्यक्तिको यस अनुभवकथालाई एउटा सार्थक कृतिका रूपमा लिन सकिन्छ । सारमा भन्दा यस कृतिलाई सङ्घर्षमय जीवन बिताएका चन्द्रमणि गुरागाईंको सार्थक जीवनकथाका रूपमा लिन सकिन्छ ।