मोरङ । भाषा, साहित्य, कला र संस्कृतिको समग्र प्रवर्द्धनका लागि ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक नयाँ साहित्यिक संस्था मोरङको बेलबारीमा गठन गरिएको छ।

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भेलाले मोरङ जिल्लाका विभिन्न पालिकामा साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको सहभागितामा नयाँ संस्था गठन गरेको हो। लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा बनेको तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता कुलुङ राई (सहसचिव), चिरञ्जीवी काफ्ले (कोषाध्यक्ष) र अन्य सदस्यहरू प्रिन्स प्रमोदकुमार ढकाल, मनोज विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयल आदि रहनुभएकाे छ । बाँकी ३ जना सदस्य पछि थपिने जनाइएको छ।

भेलामा साहित्यकार हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्रेमप्रसाद भट्टराई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, अग्रज स्रष्टा रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रकाश भट्टराई रमेशचन्द्र अधिकारी, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, दुर्गा न्यौपाने रूपाखेती, शान्ता भट्टराई, एकराज भट्टराईलगायतका स्रष्टा तथा कलाकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

तदर्थ अध्यक्ष केशु विरहीले संस्थाको उद्देश्य स्पष्ट पार्दै राजनीतिक हस्तक्षेपरहित, योगदान र सक्रियता आधारित विशुद्ध साहित्यिक संस्था निर्माण गर्ने उद्देश्यले प्रतिष्ठानको गठन गरिएको बताउनुभयाे । “कुनै पनि संस्थामा नेतृत्व राजनीतिक निकटताको आधारमा होइन, योगदान र क्रियाशीलताको मापनले निर्धारण हुनुपर्छ,” उहाँले भन्नुभयाे, “साहित्यले राजनीतिलाई निर्देशित गर्नु पर्ने हो, तर आज उल्टो स्थिति देखिएको छ। यस्तो प्रवृत्तिविरुद्ध संस्थाले आवाज उठाउनेछ।” उहाँले थप्नुभयाे, “हाम्रो संस्था कुनै पार्टीको भातृसंस्था होइन, यो सबै स्रष्टा–कलाकारका लागि खुला साझा थलो हो।”

प्रतिष्ठानले निकट भविष्यमा नियमित साहित्यिक गतिविधि, सिर्जनात्मक अभिव्यक्तिको प्रवर्द्धन र प्रतिभा पहिचान तथा सम्मानमा जोड दिने जनाएको छ।