विष्णु भण्डारी आचार्य नेपाली साहित्यका कविता र कथा विधामा राम्रो परिचय बनाएकी स्रष्टा हुन् । उनका कविताका एक र कथाका तीन गरी चारओटा विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् भने केही अप्रकाशित कृतिसमेत रहेका छन् । आचार्य २५ वर्षसम्म शिक्षण गरेर २०७६ सालदेखि निवृत्त जीवनयापन गरिरहेकी छन् । अवकासपछिको समयलाई ‘जीवन विज्ञान’ नामक आध्यात्मिक संस्थामा सक्रिय रहँदै आएकी उनी जीवनलाई कसरी स्वस्थ्य राख्न सकिन्छ भन्ने काममा लागेकी छन् । शरीर मात्र स्वस्थ्य भएर मात्र नहुने, मन पनि उतिकै स्वास्थ्य हुनुपर्ने उनको विचार रहेको छ । उनी भन्छिन्, “शरीर स्वस्थ्य रहनलाई पहिला त मन स्वस्थ्य रहनुपर्छ । आजभोलि म मानिसलाई योग र ध्यानका माध्यमबाट शरीरलाई कसरी स्वस्थ्य राख्न सकिन्छ भन्नेमै व्यस्त हुन्छु ।”
‘बकसपत्र’ भित्रका कथाहरूको विवेचना
मूलतः कथा, कविता, लघुकथा, बालसाहित्यलगायतका विधामा कलम चलाउने उनका मान्छेको भिडभित्र (कवितासङ्ग्रह) –२०७२, फेसबुक आइडी (लघुकथासङ्ग्रह) –२०७८, उघ्रेको आकाश (कथासङ्ग्रह) –२०७९ र बकसपत्र (लघुकथासङ्ग्रह) –२०८१ गरी चारओटा विधा साहित्यका कृति प्रकाशित भएका छन् । माथि प्रकाशित कृतिका अतिरिक्त उनका कथा र बालकविता गरेर दुईओटा साहित्यिक पुस्तक प्रकाशनका तयारीमा छन् । यसका अतिरिक्त उनका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका र हुँदै आएका छन् ।
‘कोसी साहित्य–कला परिषद् नेपाल’, ‘बेलबारी साहित्य विकास समिति’, कण लघुकथा मञ्चलगायतका विभिन्न साहित्यिक सङ्घसंस्थामा आबद्ध रहँदै आएकी उनी निरन्तर रूपमा लेख्नेमध्येमा पर्दछिन् ।
लघुकथा लेखन तथा प्रकाशनको सन्दर्भलाई हेर्ने हो भने वैदिक कालसम्म पुग्नुपर्ने हुन्छ । सूक्तिमय काव्यहरूको चर्चा गरिएको पाइन्छ । पाश्चात्य साहित्यमा लघुकथाको शुरुवात १९५० को दशकदेखि भएको पाइन्छ । अङ्ग्रेजी साहित्यमा भने १९८० बाट मात्र भएको पाइन्छ । नेपाली साहित्यमा पनि लघुकथा निकै लोकप्रिय विधा मानिन्छ । शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्व (१९२७) लाई लिइन्छ । त्यस्तै प्रारम्भिककालीन समयका ‘मुन्सीका तीन आहान’ लाई पनि लघुकथाको इतिहास मानिन्छ ।
लघु हुनु नै लघुकथाको सिद्धान्त भने होइन । लामो कथालाई घटाएर वा छोट्याएर लघुकथा हुने पनि होइन । लघुकथा छोटो भए पनि पूर्ण हुन्छ । यो सूत्रात्मक हुने गर्छ । छोटो भएर पनि पूर्ण हुनु नै यसको विशेषता रहेको छ ।
आधुनिक नेपाली लघुकथाका बारेमा चर्चा गर्दा पूर्णप्रसाद ब्राह्मणको १९९२ मा शारदामा प्रकाशित ‘वरदान’ शीर्षकको लघुकथालाई लिइन्छ । त्यस्तै कृतिकारका रूपमा पनि पूर्णप्रसाद ब्राह्मणलाई नै लिइन्छ । २००७ सालमा प्रकाशित ‘झिल्का’ पहिलो प्रकाशित लघुकथा हो । पूर्णप्रसाद ब्राह्मणको यही कृतिलाई आधार बनाएर पछिल्लो समय लघुकथा लेखन भइरहेको पाइन्छ । ‘बकसपत्र’ पनि यही धरातलमा टेकेर लेखिएको कृति हो । यसमा २०७८ सालको कोरोनाकालपछि लेखिएका लघुकथाहरू रहेका छन् ।
यस कृतिभित्र विभिन्न भावका ४१ ओटा कथा रहेका छन् । ‘हैसियत’ यस सङ्ग्रहको पहिलो कथा हो । यो सामाजिक हैसियतमा आधारित कथा हो । आर्थिक हैसियत माथि उठाउन मानिस खराब काम गर्न पनि पछि पर्दैनन् तर यसरी खराब काम गरेर प्राप्त भएको हैसियत क्षणिक हो, जसरी बढेको हुन्छ त्यसरी नै सकिन्छ भन्ने सन्देश दिइएको छ । लोभलालचमा नपरी साहित्य साधनामा लागेको स्रष्टाको हैसियत सधैँ माथि हुन्छ भन्ने सन्देश यस कथामा पाइन्छ । यो कथा लेखकको जीवनसँग पनि मेल खान्छ ।
‘सङ्कीर्णता’ कथामा पुरुषवादी सोचको परिणामलाई देखाएको छ । पुरुषले गरेको गल्तीलाई बहादुरी ठान्ने तर त्यही कुरा महिलाले गर्दा पाप हुने चिन्तनबाट गुज्रिएको हाम्रो समाजको मनोविज्ञानलाई यहाँ उठाइएको छ ।
नकारात्मकताले भरिएको दिमागले सधैँ नकारात्मक कुरा मात्र सोच्दछ, त्यही भएर हामीले सकारात्मक भएर सोच्नुपर्छ भन्ने कुरा ‘सम्मान’ कथामा उठाइएको छ । विदेश जानुभन्दा अघिका रामदयाल र विदेशबाट फर्किएपछिका रामदयालमा धेरै भिन्नता पाइन्छ । अरूका कुरा काटेर समय व्यतीत गर्ने उनी विदेशबाट फर्किपछि भने मिहिनेती किसान भएका छन् । गफ छाँटेर समय व्यतीत गर्ने रामदयाल आज कर्मका कारणले वडा तथा पालिकाबाट सम्मानित पनि भएका छन् ।
छोरा र छोरीप्रति विभेद गरिनुहुन्न, सन्तान बराबरी हुन्, परेका बेलामा छोरीले पनि काम गर्छिन् भन्ने कुरा ‘भाग्यमानी को ?’ कथामा पाइन्छ । छोरी मात्र पाई, अब यसलाई कसले हेर्ला भनेर घृणाभाव व्यक्त गर्ने रामदाइ छोराबाट कुनै सेवा नपाएपछि मात्र चेत्छन् । आमा बित्दासमेत आउन सक्तैनन् । उता छोरी मात्र भएका घनश्यामले भने ज्वाइँबाट मान सम्मान पाएका छन् । तसर्थ सन्तान बराबरी हुन्, छोरा र छोरीमा विभेद गर्नुहुन्न, पर्दा छोरी ज्वाइँले पनि उचित हेरचाह वा सम्मान गर्दछन् भन्ने सन्देश यस कथाले बोकेको छ ।
खुसी धनसम्पत्तिबाट प्राप्त हुन्न, खुसी हुनलाई ठुलो कुरा पनि नचाहिने रहेछ, सानो कुराले पनि मानिस खुसी हुन्छ भन्ने भाव ‘खुसी’ कथामा पाइन्छ । गरगहनामा सजिएर रमाइरहेका बेला पवित्रा भने घरमा कुकुरका छाउरा जन्मिएकामा निकै मक्ख छे ।
छोरी र बुहारीबिच विभेद गरिनुहुन्न । छोरी र बुहारी एकै हुन् । दुवैलाई समान रूपले हेरिनुपर्छ भन्ने ‘तिज’ कथाको सन्देश रहेको छ । नन्दआमाजुलाई सम्मानका लागि बुहारीले तिजमा माइत आउन नपाउने बुहारीको कुरा सुनेपछि सासूले माइत पठाएको कुरा यस कथामा आएको छ ।
‘परिणाम’ कथामा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान सार्थक भएको छ । यस कथाले राजनीतिक नेताको चरित्रलाई उदाङ्गो पारिदिएको छ । जितेर गएपछि गाउँ नफर्किने, आफ्ना वचनबद्धता पूरा गर्नुभन्दा पनि काम लिएर नागरिक जाँदासमेत प्रहरी लगाएर लखेट्ने काम हुन्छ । कार्यालय तोडफोडमा सक्रिय रहेको भनेर पक्राउ गर्ने काम भएको छ ।
गर्भभित्र भ्रुण बढ्दै गरेकी एउटी कुमारी आमाको विवशता ‘रूपान्तरण’ कथामा पाइन्छ । समाजका कारण नारीले सम्मानित भएर जिउन सक्ने अवस्था छैन । इच्छा नहुँदा नहुँदै पनि महिला गर्भवती बन्न पुग्छन् । समाजले गर्भवती बनाउने पुरुषलाई खोज्दैन । महिलालाई दोषी देख्छ, कठघरामा पनि महिलाले नै उभिनुपर्ने हुन्छ । त्यसलै ऊ भ्रुणहत्या गर्न खोज्छे तर गर्भभित्रको उसको भ्रुणले “मलाई नमार, मलाई बाहिर आउन दे” भनेको जस्तो लाग्छ । यस कथामा स्त्रीमनोविज्ञान पाइन्छ ।
‘रक्षाकवज’ कथामा अस्तित्ववादका कुरा उठाइएको छ । प्रकृतिले हरेक वस्तुलाई जे जसरी जन्म दिएको छ, त्यसको कारण छ । तसर्थ म यस्तो छु, म उस्तो छु भनेर घमण्ड र अपमानित भएको महसुस गर्नुपर्ने कुनै ठाउँ नभएको कुरा यस कथामा उठाइएको छ ।
आफ्ना सन्तानप्रतिको भाव ‘मातृत्व’ कथामा समेटिएको पाइन्छ । आमाले सन्तानका लागि सबै खुसी पनि न्योछार गर्न सक्छिन् तर सन्तानले त्यो कुरा बुझ्दैनन् भन्ने भाव यस कथामा पाउन सकिन्छ । यहाँ पनि त्यस्तै भएको छ । मोबाइल किनिदिनुपर्छ भनी फोन काटेको छोराले पनि आमाको फोन गर्नुको कारण बुझ्दा निकै भावविह्वल भएको छ ।
कोरोना कालको पीडाको कथा हो ‘राहत’ । यसमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको व्यथालाई देखाइएको छ । मानिस कसरी विवश भएर आफ्नो जीवन अन्त्य गर्छ भन्ने कुरा यस कथामा देखाइएको छ । जिउँदो हुँदा परपर तर्किने तर मरेपछि भने इमानदारीको बखान गर्ने समाजलाई यहाँ नङ्ग्याइएको छ । सन्ते यस कथाको एउटा प्रतिनिधि पात्र मात्र हो ।
‘श्राद्ध’ कथामा एकल परिवारको पीडा छ । आमाको मृत्युपछि सन्तानकै लागि भनेर दोस्रो विवाह नगरी बसेका पितालाई पछि सन्तानले हेर्दैनन् । देखावाका लागि मानिस श्राद्ध गर्छन् तर आफ्ना मातापिताले खाए खाएनन् भन्ने कुनै मतलब हुँदैन भन्ने कुरा यस कथामा पाइन्छ ।
श्रीमतीको सानो रहर पूरा गर्न नसक्ताको परिणाम हो ‘रहर’ कथा ।
श्रीमानको इज्जतका डरले आफूमाथि भएको हिंसा पनि महिलाले सहिरहेका हुन्छन् । ‘इज्जतको डर’ कथामा पनि निर्मलाले श्रीमानबाट मानसिक यातना पाउँछे तर केही पनि बोल्न सक्तिन र बोल्न चाहँदिन पनि ।
‘प्रहार’ कथामा लकडाउनका कारण उत्पन्न समस्या र यसका नाममा हुने गतिविधि रहेको छ । यस्ता विपत्तिमा पनि राहतका नाममा देखावा गर्नेहरू हुन्छन् भन्ने अवस्थालाई देखाइएको छ । यो व्यङ्ग्य कथा हो ।
अभियानका नाममा राज्यको बजेटमा आँखा गाढ्नेविरुद्ध व्यङ्ग्य गरिएको छ ‘अभियान’ कथामा । आफूले गर्नुपर्ने सरसफाइ पनि नगरी राज्यको बजेट खर्च गर्नेप्रति व्यङ्ग्य गरिएको छ । बेलबोटे टोल एउटा विम्ब हो भने अभियन्ता घनश्याम यसका प्रतिनिधि पात्र मात्र हुन् ।
‘नशा’ कथामा सबैतिरबाट हण्डर खाएपछि मानिस नशामा डुब्न विवश हुन्छ भन्ने कुरा देख्न पाइन्छ । तर सिर्जनशील कामले नशाबाट पार लगाउँछ भन्ने सन्देश यस कथामा दिइएको छ ।
बुहारीको हातमा छोराले पैसा पठाइदिने गरेको तर उल्टै बुहारीले भने पैसा छैन भनेर बुवाआमाको वृद्धभत्ता पनि लगेर खर्च गरिदिएको कुरा ‘दरिद्रता’ कथामा उल्लेख गरिएको छ ।
‘अभियोग’ कथामा वास्तविक दोषीले उन्मुक्ति पाएका कुरालाई उठाइएको छ । पहुँचका भरमा वास्तविक अपराधी बाहिरै हुन्छन् तर अभियोग अरूलाई नै लगाइन्छ ।
घर नहुनेको पीडा छ ‘यस्तो फोहरमा’ कथामा । फालेको ढुङ्गाको त काम आउँछ भने अरू कुराको काम नआउने त कुरै हुन्न । प्रकृतिका अघि कसैको पनि जोर चल्दैन । हिजो कोठा दिन नमानेकी साहुनी पनि श्यामकलीकै छाप्रोमा बास माग्न आइपुग्छिन् ।
‘अस्मिता’ कथामा जागिरका नाममा महिलामाथि हुने हिंसाका कुरा उठाइएको छ । आफ्नो अस्मिता लिलामी गर्नुभन्दा जागिर नखाने सुरमा पुग्न विवश हुन्छन् महिला । अरूकामा जागिर खानुभन्दा आफ्नै लगानीमा सानै भए पनि व्यवसाय शुरु गर्ने मनसाय आफैँमा क्रान्तिकारी निर्णय हो ।
पैत्रिक सम्पत्तिमा सन्तानले गर्ने लालचमा आधारित कथा हो ‘आमा’ । जस्तो करणी उस्तै भरणी भन्ने सन्देश यस कथामा पाउन सकिन्छ । बाबुआमाबाट जबर्जस्ती सम्पत्ति लिएर गएको तर श्रीमतीले सबै लिएर अर्कैसँग गएपछि मात्र ऊ चेत्छ । त्यसो हुँदा पनि आमाले उसलाई माया गर्छिन् । आमा भनेको आमा नै हुन् ।
‘भोक’ कथामा गाँस, बास र कपास जत्तिकै यौनको पनि आवश्यक छ भन्ने कुरा देखाउन खोजिएको छ । श्रीमानले अरूका सुन्दैन । त्यसमा आफू नै दोषी भएको बताउँछन् ।
‘पश्चताप’ कथामा घरमा आमाबुबालाई घुर्क्याएको जस्तो विदेशमा कहाँ हुन्छ र ? विदेशमा त निकै हण्डरको सामना गर्नुपर्छ । कहिलेकाहीँ त शारीरिक यातना समेत सहनुपर्छ ।
‘गुनासो’ कथामा अभर पर्दा सबै परपर भए पनि सुखमा भने सबै नजिक हुन्छन्, हिजो ऋण दिन पनि नमान्ने मानिस सम्पन्न भएपछि भने सापटी दिन पनि पछि पर्दैनन् भन्ने कुरा देखाइएको छ ।
असल प्रेम गर्नेले आफूले मन पराएका व्यक्तिको गल्तीलाई क्षमा दिन्छन् भन्ने कथा ‘न्यायमूर्ति’ मा देखाइएको छ । उसले आफ्नो श्रीमतीको विवाहपूर्व भएको सम्बन्धलाई पनि सहज रूपमा लिन्छ ।
‘सपना’ कथामा सेयर बजारमा लगानी गरेको छोराले सपनामा सेयर परेको देख्छ र ‘परो परो’ भनेर कराउँछ । त्यस्तै यस कथामा महिलाले पूरा गर्नुपर्ने जिम्मेवारीका बारेमा पनि बताउन खोजिएको छ ।
बाहिर मानिस जस्ता देखिन्छन् तर वास्तवमा त्यस्ता हुँदैनन् भन्ने कुरा ‘असली रूप’ कथामा देखाइएको छ । दाइजोको विरोध गर्ने चन्द्रिका भित्र भने दाइजोको पक्षमा देखिन्छे । २० तोला सुनको डिमान्ड गर्छन् ।
‘छोरीको भाग्य’ कथामा छोरी र बुहारीप्रति विभेद गरिनु हुन्न भन्ने कुरा देखाउन खोजिएको छ । आफ्नी छोरीले गर्दा सामान्य लाग्ने तर त्यही कुरा बुहारीले गर्दा खराब लाग्ने हाम्रो समाजलाई व्यङ्ग्य गरिएको छ ।
‘माफी’ कथामा पुरुषको प्रवृत्तिलाई उजागर गरिएको छ । पुरुषले बाहिर केटी राखेर बस्ता सामान्य ठान्ने तर महिलाले भने सामान्य बोलचाल गर्दा समेत बात लगाउने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ ।
‘ताली’ कथामा पुरुषको प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । बाहिर बाहिर नारी अधिकारका कुरा गर्ने तर आफ्नी श्रीमतीलाई समय नदिने राजनीतिक नेताको व्यवहारलाई यस कथामा देखाइएको छ ।
‘वकसपत्र’ कथामा सन्तानको प्रवृत्ति देखाइएको छ । बुबाआमालाई सन्तानको माया भए पनि सन्तानलाई भने जायजेथाको मात्र माया हुन्छ भन्ने कुरा यहाँ देखाइएको छ । बुबाको मृत्युपछि काम गर्ने रामेका नाममा वकस गरेको थाहा पाउँदा सन्तान चकित भएको कुरा यहाँ आएको छ ।
आफ्ना सासूससुरालाई वृद्धाश्रममा राखेर बाहिर बाहिर धर्मकर्म गर्ने बुहारीको प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । छोराका कारण अन्त्यमा सासूससुरालाई वृद्धाश्रमबाट घर ल्याउन राजी हुन्छिन् ‘भ्रम’ कथामा ।
आफूसँग भएको ज्ञान अरूलाई बाँडेमा मात्र त्यसको महत्त्व हुन्छ नत्र त्यसको काम छैन भन्ने कुरा ‘लोकप्रियता’ कथामा पाइन्छ । चारचारओटा विषयमा डिग्री गरेका ज्ञानप्रसादभन्दा धर्मानन्द निकै परिचित छन् । उता ज्ञानप्रसादलाई यसमा ईर्ष्या लागेर आउँछ ।
असल वातावरणका अभावमा असल सिर्जना त्यसै ओइलाउँछन् । ‘जन्मजात प्रतिभा’ कथा पनि यस्तै भएको छ । बुबाका डरले छोराले आफूले बनाएको चित्रबाट अरूले पुरस्कार पाएको घटना आएको छ ।
‘जित’ कथामा बालकको चलख्याइँको कुरा आएको छ । उसको कारण बुबाआमाको सम्बन्ध बाँचेको छ ।
सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक वा व्यवहारिक शिक्षाको खाँचो ‘विवेक’ कथामा पाइन्छ । यसमा जातीय विभेदका कुरा पनि आएको छ ।
‘अस्ताउँदो सूर्य’ कथामा श्रीमतीको स्वभाव र त्यसबाट उत्पन्न समस्याका बारेमा लेखिएको छ । सबै ठाडै खाने बिराम परेपछि भने शान्त भएको कुरा यसमा छ ।
‘लकडाउन’ कथामा कोरोना कहर पाइन्छ । कोरोनाले गर्दा गाउँघरमा खेतबारी खनिएका कुरा यहाँ आएका छन् ।
‘पराइघर’ कथामा बुहारीको पीडा व्यक्त भएको छ । विवाह गरेर गएकी छोरीले सासूससुराको मात्र जिम्मेवारी लिनुपर्छ भन्ने मानसिकता यहाँ देखाउन खोजिएको छ ।
‘झड्का’ कथामा छोराबुहारीलाई छुटाएर अलग अलग बसाएकी आमालाई आफ्नी छोरीलाई अलग राखिदिने कुरा गर्दा झड्का लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










