तेह्रथुम । तेह्रथुमको फेदापमा ‘फेदाप–प्रज्ञान’ नामक स्मारिकाको लोकार्पण तथा ‘तेह्रथुमको साहित्यिक इतिहास’ माथि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

फेदाप कला, साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजना र फेदाप शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा भएको कार्यक्रममा स्थानीय साहित्यकार तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।

फेदाप गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ‘फेदाप–प्रज्ञान’ को लोकार्पणसँगै कृतिको समीक्षा साहित्यकार केशु विरहीले गर्नुभएकाे थियाे । कार्यक्रममा फेदाप गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवाल, उपाध्यक्ष सुनिता पाहिम, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद आचार्य र छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा ‘बेगारी’ लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

सोही कार्यक्रममा विरहीद्वारा लिखित अर्को महत्वपूर्ण कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ माथि पनि चर्चा गरिएको थियो । तेह्रथुम साहित्य प्रतिष्ठानका अध्यक्ष दीपक कट्टेल ‘आयाम’ ले उक्त अनुसन्धानमूलक कृतिमाथि आफ्नो विचार प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा लेखक तथा स्रष्टाहरूलाई सम्मान गरिएको थियो भने प्रेम शङ्कर प्यासी, रोशन यात्री, मित्र नेपाली, मनकाजी कट्टेल, सुष्मा दाहाल, मदनराज गुरुङ, टामाकान्त लुइटेल, धनप्रसाद भट्टराई, तुलसीराम रिमाल, कमल बुढाथोकी, प्रमोद दुलाल, सुनिता निरौला भट्टराई लगायतका लेखक तथा कलाकारहरूले आ–आफ्ना रचना वाचन तथा साङ्गीतिक प्रस्तुति दिनुभएकाे थियाे ।

फेदाप कला, साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष नवीन बस्नेत ‘नाशित’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मोहन भण्डारीले गर्नुभएकाे थियाे । कार्यक्रमले तेह्रथुमको साहित्यिक क्षेत्रलाई थप उजागर गर्न र स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।