काठमाडौं, पुस ३० / शनिबार  वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा “वातावरण शिक्षा” पुस्तकमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

डा. हिमलाल श्रेष्ठले शुरु गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण डा. रोशन शेरचनले गर्नुभएको थियो । हिमाली संरक्षण समूहको तर्फबाट डा. भरतमान श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । डा. श्रेष्ठले हिमाली संरक्षण समूहको स्थापनाकालदेखि नै वन तथा वातावरण संरक्षण क्षेत्रमा जनचेतना जगाउन विविध कार्यक्रम गर्दै आएकोमा प्रकाशित “वातावरण शिक्षा” पुस्तकले थप योगदान दिने विश्वास ब्यक्त गर्नुभयो।

डा. शेरचनले प्रधान सम्पादक विष्णुप्रसाद आचार्यको परिचय वन प्राविधकको मात्र नभई लेखक र संरक्षण अभियन्तासमेत रहेको साथै उक्त पुस्तकले वन, वातावरण र पर्यावरणको विविध पाटाहरु समेटेको बताउनुभयो ।

प्रधान सम्पादक आचार्यले पुस्तक प्रकाशनको मूल उद्देश्य, यसको ढाँचा, प्रकाशनको व्यवस्थापन, सम्पादक मण्डल अनि लेखकहरूको विस्तृत विवरण पेश गर्नुभयो । डिभिजनल वन अधिकृतसमेत रहनुभएका विष्णुप्रसाद आचार्यले सो प्रकाशन प्रस्तुतिको क्रममा सम्पादक मण्डल र सबै शुभेच्छुहरूलाई धन्यवाद दिनुभयो ।

उक्त पुस्तकको प्रकाशक, डिभिजन वन कार्यालय, राप्ती, मकवानपुर रहेको छ । प्रस्तुतिकै क्रममा, स्कुले भाइबहिनी र कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएको भए पनि केही पाठ्य साम्रगीहरू अन्य वर्गको निम्ति उपयुक्त रहेको बताउनुभयो । डडेल्धुराबाटै यस्ता प्रकाशनहरू निकाल्दै आएकोमा मकवानपुरमा पनि त्यसलाई निरन्तरता दिइएको आचार्यले उल्लेख गर्नुभयो ।

संक्षेपमा वहाँले पुस्तकमा समाविष्ट ३६, ३७ लेख कविताको सार खिच्नुभयो । ईको क्लब, सालक, शहरी वन, शिक्षा अभियन्ता रुपचन्द्र विष्ट, विद्यालय शिक्षा, संरक्षण शिक्षा, मकवानपुरका पर्यटकीय गन्तव्यहरु, वन्यजन्तु फोटोग्राफी लगायतका विषयहरू पुस्तकमा समेटिएका छन् ।

तत्पश्चात वक्ताहरू डा. पुष्पा के.सी. भण्डारी र डा. ऋषि बस्ताकोटीले आ–आफ्ना धारणा राख्नुभयो । डा. भण्डारीले प्रकाशित पुस्तक बालबालिकामा समर्पित गरेकोमा प्रधान सम्पादकको प्रशंसा गर्नुभयो ।

पुस्तकले समेटेका वन, वातावरण, पर्यापर्यटन, जलवायु परिवर्तन र विद्यालय शिक्षाजस्ता वहुपाटाहरु उदाहरणीय भएको कुरामा जोड दिनुभयो । वर्तमान परिप्रेक्ष्यमा वन, वातावरण, पर्यावरण सेवा सुविधाहरूको विषयको सान्दर्भिकता झन् बढेकाले यस्ता कार्यक्रमहरूले यी विषयलाई विस्तार गर्नेमा विश्वस्त भएको बताउनुभयो ।

पुस्तकमा देखिएका प्राविधिक र अवधारणागत अस्पष्टताहरुलाई आगामी दिनमा सुधार गर्दै अगि बढ्नेमा विश्वस्त रहेको समेत बताउनुभयो ।

डा. ऋषि बस्ताकोटीले प्रधान सम्पादक आचार्यको सृजनात्मकता र सधैँ नयाँ गर्ने तल्लिन लगनशीलताको प्रशंसा गर्दै उक्त प्रकाशनमा सहयोग गर्ने सम्पादक मण्डल, लेखक र सम्बन्धित सबैको सकारात्मक पहल अनुकरणीय रहेको बताउनु भयो ।

नवपुस्ता र विद्यार्थी भाइबहिनीहरुलाई वातावरणको मूल प्रवाहमा ल्याउन यो पुस्तक कोशेढुंगा हुने बताउनुभयो । बस्तकोटीले एक जिल्लाबाट शुरू गर्नुभएको यो अनुकरणीय अभियान र यसका सिकाईलाई स्थानीय सरकार र प्रान्तीय सरकारसँग मिलेर नीतिगत रूपमा ल्याउन सके राम्रो हुने भएकाले सम्बन्धित पक्षले ध्यान दिन जरुरी भएको बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा डा. राजेन्द्र केसी, डा. विजयराज पौडेल, दधि सापकोटा, हेमन्त काफ्ले, डा. ज्योति भण्डारी लगायत सहभागीहरूले यस्ता विचार विमर्शको कार्यक्रमले वातावरण र पर्यावरणको कार्यलाई अझ विस्तार गर्ने, यस्ता कार्यक्रम धेरैभन्दा धेरै जनमानससम्म पुर्‍याउन थप प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।

“हरियो वन नेपालको धन“ भन्ने गरिएता पनि स्कूलको पाठ्यक्रमबाट वन र वातावरणको विषयहरू घट्दै गएकोमा समेत सहभागीले चासो राखेका थिए ।

समय र सहभागिताको निम्ति सम्पूर्ण उपस्थित महानुभावहरूलाई सहजकर्ता डा. शेरचनले धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा देश विदेशका साठी भन्दा बढीको सहभागिता रहेको थियो ।