दोहा । अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा चर्चित लेखक अखण्ड भण्डारीको नवीनतम उपन्यास ‘बोरा’को कतारमा भव्य विमोचन तथा विमर्श गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को साहित्य विभागको आयोजनामा दोहाको मुम्ताजास्थित गोर्खाली रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा उपन्यासको लोकार्पण गरिएको हो।

एनआरएनए एनसिसि कतारका अध्यक्ष रमेश भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा दोहाका साहित्यकार, पत्रकार, राजनीतिकर्मी तथा विभिन्न जिल्ला संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले पुस्तकको लोकार्पण गर्दै यसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

समीक्षक सुरेश भट्ट आश्रिनले ‘बोरा’ उपन्यासले समाजमा घटिरहेका यथार्थ घटनालाई मार्मिक रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले यस उपन्यासलाई असहाय छोराले आमालाई दिएको पीडादायी घाउको सत्य कथाको रूपमा व्याख्या गर्दै चावहिलको पुलमुनिबाट उद्धार गरिएकी यमुना पात्रलाई उपन्यासमा सशक्त रूपमा चित्रण गरिएको उल्लेख गर्नुभयो । उपन्यासको पठनीयताको प्रशंसा गर्दै उहाँले केही पश्चिमा अंग्रेजी शब्दहरूको प्रयोग कम गर्न सुझाव दिनुभयो।

लेखक भण्डारीले महिनौँको खोजपछि वृद्धाश्रमका आमाबाबुको पीडालाई फिक्सनको माध्यमबाट प्रस्तुत गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ”हिजो वृद्धवृद्धालाई डोकोमा हालेर फालिन्थ्यो, आजभोलि बोरामा हालेर फालिएको देखेपछि मैले उपन्यासको नाम ‘बोरा’ राखेको हुँ ।” उपन्यासमा समाजको यर्थाथतालाई उजागर गरिएको र यसले पाठकको मन छुने विश्वास लेखकले व्यक्त गर्नुभयो।

कार्यक्रममा उपन्यासको बारेमा छलफल भएको थियो र उपस्थित श्रोताहरूले लेखकसँग प्रश्नोत्तर सत्रमा सहभागिता जनाउनुभएको थियो ।