मानव सभ्यताको बस्तीमा
कङ्क्रिटको जङ्गल उठ्यो
प्रकृतिको माया हरायो।
धुवाँको आवरणमा
चन्द्रमाले पनि आफ्नो मुहार लुकायो
भवन विशाल, झुटो मुस्कान
हजारौँ एक्लो मान्छे
यहाँ सपना त पलायो
तर जीवनको सौन्दर्य हरायो ।
आफ्नै बस्तीहरू पनि
अपरिचित देखिन थालेपछि
न तिमीले छोड्यौ
न मैले तिमीलाई
तर माया आफैँ हरायो ।
हाम्रा हातहरू जुधे तर स्पर्श हरायो
शब्दहरूका अर्थ हराए
बडेमानको सहरमा ‘माया’ भन्ने अक्षर हरायो ।
तिमी हराएदेखि म अधुरो मात्र होइन
अपरिचित पनि छु
तिमी हराएको प्रत्येक पल
तिमीलाई खोज्ने गर्छु
जसरी पानीले समुद्रलाई खोज्दछ ।
तिमी हराएको सहरमा
म मनका गल्लीहरूमा माया खोजिरहेछु
भित्र-भित्रै मायाको आश्रयस्थल ।
जहाँ तिमी विराजमान हुन चाहन्थ्यौ,
हराउन चाहन्थ्यौ
डुब्न चाहन्थ्यौ मायामा ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 









