जिम्मेवारीको भारी बोक्दा बोक्दै
अभावको नाम्लोले ढाकरको फेरो नपुगेपछि
राजनीतिले तेरो भविष्य
हरियो पासपोर्ट हो, भनेर थमाएपछि
आज-अहिले हरेक घर-घरको
मझेरीमा
बुँईगलमा
गल्लीहरूमा
चिया पसलमा
चर्चा विदेशीकै चुलिएको छ
चाउरी परेका हातको बक्ररेखा देखाउँदै
पहेँलपुर गालामा दुइ हात राखी खुइइअ गर्दै
बा भन्नुहुन्छ-
देश त पूरै विदेशमा छ
कर्मले होइन
नेताको नियतले छ
यो अवस्था झेल्नु त छँदैछ
बदल्नु पनि छ
खुशी खोज्न होइन
खुशी लुटाउन
राजनीतिले लखेटेको
युवाले सपना देख्न
नेताको नियत बुझ्न
देशको बहिखाताको उधारो तिर्न
एक लक्का जवान
जवानी बेच्न
तिमी विदेश जानै पर्ने भयो
जाऊ शुभकामना छ
आज वर्षौंपछि
सखारै घामफूल
नफुल्दै
उस्ले एक पित्को
खुशीको पोको
पठाएको छ
आँगन डिलमा
यौटा बूढो मुस्कान
चाउरिँदै फिस्स मुकुराउँछ
एकमुठी खुशी
परदेशीको लागि ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










