कसैलाई थाहा छैन
आज सुतेपछि
उस्ले भोलिको सूर्योदय
भेट्टाउँछ कि भेट्टाउँदैन

भोलिको सुन्दर विहानीको
शीतमा उसका औंलाहरूले
स्पर्श पाउने छन् या छैनन्
त्यो पनि थाहा छैन

तर,
अक्सर मान्छे आजको छोडेर
भोलिको चिन्ता गर्दैछन्
यस्तो लाग्छ, भोलिबाट
-समाज बन्नेछ
-नेता सुध्रिनेछन्
-देश बन्नेछ

आँखामा भोलिको सपना लिएर
निदाएको मान्छे
यो अनिश्चित रातसँग
कसरी साक्षात्कार गर्छ ?
शायद,
शिशु अवस्थाका ती हत्केलाहरू सम्झँदै
दाहिने हातको हत्केलाको सिरानी हाल्दै
ओछ्यानमा पल्टिन्छ
महिलाहरूद्वारा बुनेको
आदिम संगीतको
धुनमा निदाउँछ
कसैले नदेख्ने गरी
अँधेरीमा फुलेका पारिजात जस्तै
भुईँभरि अलपत्र

यस्तो देखियोस् कि,
पखेटा पलाओस् मान्छेको गिद्धको झैँ
आँखा बदलियोस् चमेरामा-
म उँभो-उँभो उडी
मुर्दा शहर निहार्न सकुन्
यो अनिश्चित रातले
लाटकोसेरो जो बनाएको छ मान्छेलाई

खोइ कहाँ छ निश्चित रात ?
निद्रामा पनि रातभर जागा छन् मान्छेहरू
कोही भू-लोकमा
कोही मृत्युलोकमा
अनिश्चित अनिश्चित …।