आउँछन् आँधिबेहरी
तुफान र ज्वारभाटा
उचालिन्छ गगन चुम्न

पोखिएर रित्तिएरको गाग्रीजस्तै
पोख्छ, आक्रोश अनि
ह्वात्त बढार्छ बस्तीहरू र फर्किन्छ

यी तूफान, आँधिबेहरीले
बढार्दैन मान्छेका चरित्र
बढार्दैनन् दुःख र भोक
केवल मेट्छ आफ्नो तिर्खा
र,सुत्छ छ महिना वर्षदिन

कहिले निर्दोष लाग्छन्
मानिसका भावहरू
कहिले कसैको दोषी बन्छन्
ठम्याउनै नसकिने दोषी त
हाम्रो बुझाई रहेछ
तर करार गर्न हामी मान्दैनौँ

तपाईंका मेरा बुद्धिहीन
ज्वारभाटाहरूले हेरेक टापुको
आकृति दिन्छ
यौटा चोटको चिनो हामीलाई
उपहार छोडेर जान्छ

मेरो चित्तमा उठ्ने चित्र विचित्र
तरंगहरू पनि मदेखि अलग छैनन्
तिम्रा मनका निष्पट्ट निख्खर
कर्तुतहरू पनि
तिमीबाट टाढा कहिल्यै हुँदैनन्

मलाई थाहा छ
मानवको मन-मष्तिष्क
बढार्ने गरी कुनै प्रलयकारी
तूफान आउँदैन

आफैँ बद्लिनुस्
आफैँलाई बदल्नुस्
सकारात्मकताको तूफान
एकदिन पक्कै आउँछ।