बर्खे झरीले लपक्कै भिजाएको

ढिस्को जस्तै रहेछ मन

बाढीले हिर्काउँदा हिर्काउँदा धस्केको डिल

जो भत्किनलाई चाहिँदैन भयंकर केहि

बिना कारण

भत्किदिन सक्छ खस्रक्कै

तिम्रो दुईथोपा आशंकाले । (आशंका, पृ. २९)

युवा कवि शकुन आँसुको पहिलो कविता संग्रह हो ‘नवयुगकी सुम्निमा’ । संग्रहमा आँसुले विद्रोह, प्रेम, परदेशको परिवेशलाई कविताको माध्यमबाट सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ ।

”यहाँनेर लेख्न बस्दा लागिरहेको छ, धेरै कुरा त कविताले भनिसकेको छ, फेरि के भनौँ ? तर सोचिरहेको छु यदि अनुभूतिहरू कविता बन्न सक्छन् भने यो पनि अर्को कविता नै हो ।”, कवि शकुन आँशु आफ्नो कुरामा लेख्नुहुन्छ, ”धेरै कविज्युहरूले भन्नुहुन्छ – मैले सोचेको पनि थिइनँ कविता संग्रह निकाल्छु भनेर ……., हो त्यही शब्द मैले दोहोर्याइनँ यहाँ । तर नजिक रहेर उभिनुमा सर्मथन पक्कै गर्छु । यहाँनेर कारणहरू भने फरक हुन सक्ला । मैले लेखनको शुरुवात गजलबाट र गजल लेखनको शुरुवात रेडियो कार्यक्रमबाट गरेँ । पढेपछि ‘जागिर खानुपर्छ’को  अभिमानलाई शिक्षण कार्य गर्दागर्दै कुन्नी कुन खालको भूत मगजमा प्रवेश गर्यो, र ‘दाम होइन, नाम कमाउँछु’को लालसाले मलाई जागिर छोडेर रेडियो एफ.एम.को लागि प्रशिक्षण लिन हौस्यायो । आखिर रहरको सिँढी त कहिल्यै नाघेर नसकिने रहेछ । एक पछि अर्को उक्लिरहन मन लाग्ने । बीचमा जति थाकियोस् जति गलियोस, त्यो पनि स्वादिलो नै लाग्ने रहेछ ।”

पुस्तकमाथि कवि पराजित पोमु लेख्नुहुन्छ, ”सीमान्त संस्कृतिक, लैंगिक असमान्ता र राजनैतिक, सामाजिक विकृतिका विरुद्ध समानता र अस्तित्वको दावी आवाज समयको वृत्तसित संग्रहमा उर्लिएको छ । आम मानिसको जीवन भोगाईहरूको आरोह अवरोहका जिजीविषा उपर पहाडको नदी झैँ निजी सुरसौम्य शैली शकुन आँशुका कविताको विशेषता हो ।”

पुस्तकलाई इतर अभियानले प्रकाशन गरेको हो । ४२ थान कविता रहेको संग्रहको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।