
यो पैतालाले आगो टेक्नेहरुको ठाउँ हो
मलम आफ्नै आँशु हो
भोक पनि आफ्नै आँशुले मेटिन्छ
तर कसैले बताएनन्
याद आँशुले मात्र नमेटिँदोरहेछ ।
कवि रबिन शर्माको नवीन कवितासंग्रह हो ‘देउता बनाउने कारखाना’ । कवि शर्माले कवितामा गाउँ, देश र परदेशका कथाव्यथा लेख्नुभएको छ ।
‘जीवनमा गरीबी र अथाह सङ्घर्षका उल्झनहरू त छँदैछन् । तीभन्दा पनि भयावह सामाजिक विभेदका अभेद्य पर्खालहरू देशोन्नतिका विपक्षमा तैनाथ छन् । आजको एक्काइसौँ शताब्दीमा यात्रा गरिरहँदा पनि छोइछिटो र उँचनीच यथावत् नै छ । सबैले खाने रोटी पनि उस्तै हो । सबैले खाने भात पनि उस्तै हो । किन त्यसमा पनि उँचनीचको भावना ? यस्तै सामयिक प्रश्नहरूको दस्तावेज पनि हो यो कवितासंग्रह ।’, भूमिकामा लालगोपाल सुवेदी लेख्नुहुन्छ, ‘साँचो बोल्न र लेख्न नडराउने स्वभाव छ उनमा । यही स्वभावले उनलाई सत्यको नजिक लैजानेछ भन्ने मेरो विश्वास छ । धेरै युवाकविमा प्रशस्तै बासीपना भेटिन्छ तर रबिनमा केही नौलो वा नयाँ शैलीमा कविता बनून् भन्ने चाह राख्छन् । यही नवीनता र भिन्नपनको आभास उनका कविताले दिएका छन् । आध्यात्मिक जगत्मा साधना शब्द प्रचलनमा रहेको पाइन्छ । सिद्धिका लागि साधना त गर्नैपर्छ । शिखरमा पुग्न उकालो त चढ्नैपर्छ । शब्दहरूलाई ठीकठीक तवरले उन्न र बुन्न लामै अभ्यास गर्नुपर्छ । अरुभन्दा भिन्न देखिनका लागि जसलाई पनि साधना जरुरी हुन्छ । यस्तो अपेक्षा रबिनका सन्दर्भमा पनि लागू हुन्छ ।’
कवि शर्मा आफ्नो कुरामा लेख्नुहुन्छ, ‘मैले पहिलोपटक टेकेको धर्ती नेपाल हो, देखेको धर्ती नेपाल हो । नेपाल रहे कपालसँगै, कपालसँगै बर्मा गए कर्मसँगै भनेझैँ हिँडेर, गुडेर, उडेर चार चौरास चहारे पनि मैले छाम्ने आफ्नै कपाल हो, सम्झने आफ्नै नेपाल हो । आफ्नै हात, पाउ, दिमाग र मनले गर्ने कर्म पनि मेरै मर्ममुताविक हुन्छ । हिमाल, पहाड, जंगल र आकाशले पठाएको बतासले मैले प्रथम पटक श्वास फेरेँ । त्यही बतासको सहाराले आमा भनेँ, अ, आ गर्दै कदेखि ज्ञसम्मका अक्षरले बनेको नेपाली भाषा नै मेरो प्रथम भाषा हो । माता र मातृभूमि नै मेरो चेतनातन्तुका आधार हुन् । यही चेतनातन्तुका जगमा गीत गुन्गुनाउन र कविता लेख्न सिकेँ । हिँड्ने, गुड्ने, उड्ने क्रममा नेपाल, भारत, जापान, र अमेरिकी माटो र बाटोमा मेरा पाइलाका डोबहरू परेका छन् ।’
पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसीले प्रकाशन गरेको छ । ३९ वटा कविताहरुले बनेको संग्रहको मूल्य ३ सय रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

