सुरभि साहित्य प्रतिष्ठानले स्थापना दिवसको अवसर प्रत्येक वर्ष माघ महिनामा प्रदान गर्दै आएको चारओटा पुरस्कारहरूको घोषणा गरेको छ ।

घोषणाअनुसार ५१ हजार राशिको ‘सुरभि–विजय चालिसे वाङ्मय पुरस्कार’ प्रा. डा. दयाराम श्रेष्ठ सम्भवलाई, २५ हजार राशिको ‘सुरभि–रमा–बद्री निबन्ध पुरस्कार’ वरिष्ठ निबन्धकार एवं वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई, २५ हजार राशिकै ‘गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार’ कथाकार किशोर पहाडीलाई र २५ हजार राशिकै ‘सुरभि–बाजुराम आख्यान साधना पुरस्कार’ कथाकार भागीरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकार विजय चालिसेको संयोजकत्वमा समालोचक युवराज मैनाली र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदस्य रहेको तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । उक्त समितिबाट पुरस्कारका लागि चयन भई आएका प्रतिभाहरूको नामसहितको प्रतिवेदन  २०८१ पौष २० गते बसेको प्रतिष्ठानको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो ।

उल्लिखित पुरस्कारहरू आगामी २०८१ साल माघ महिनाको १९ गते शनिवार अर्पण गरिने जानकारी संस्थाका अध्यक्ष बाजुराम पौडेलले गराउनुभयो ।