१. पहिलो कथा
(चित्रकला सहितको पहिलो लघुकथा संग्रह)
सृजना र व्यवधान
किशोर पहाडी
देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दै थिए –
“हाम्रो माग पूरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।”
त्यही ताका मैले घर बनाउन शुरू गरें ।
उनीहरूले जुलुस निकाले – प्रधान्त्री मूर्दावाद !
मैले घर बनाउन जग खनें ।
उनीहरूले चक्काजामको कार्यक्रम राखे ।
मैले जगमा ढुङ्गा माटो हाल्ने काम गरें ।
उनीहरूले मशाल जुलूस निकाले ।
मैले झ्याल ढोका हाल्दै गारो बनाउन थालें ।
उनीहरूले “नेपाल बन्द”को कार्यक्रम राखे ।
मैले घरमा छाना छाइदिएँ ।
अचेल म घरमा बसिरहेछु । उनीहरू अझै सडकमा ।
#
(नेपाली लघुकथा संग्रहमा प्रत्येक लघुकथामा चित्र राखेर प्रकाशनमा आएको पहिलो लघुकथा संग्रह “किम्बदन्ती” हो । यस संग्रहलाई मिनी प्रोडक्सनले २०५३ सालमा प्रकाशन गरेको थियो । संग्रहमा चर्चित ५ कलाकारहरूको कला हेर्न पाइन्छ ।
लघुकथाकार किशोर पहाडी नेपाली आख्यानको एक मुर्धन्य स्रष्टा हुनुहुन्छ । उहाँका एकदर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । सम्मानित थुप्रै पुरस्कार प्राप्त गर्नु भएको स्रष्टा पहाडीलाई लघुकथा समाजले “लघुकथा सम्मान” पनि अर्पण गरेको छ । किशोर पहाडी नेपाली लघुकथाको लागि एक विश्वविद्यालय झैँ हुनुहुन्छ ।
प्रस्तुत लघुकथाले सृजनाको अगाडि व्यवधान आफैँ पराजीत हुन्छ भन्ने कुरा रोचक पाराले प्रस्तुत गरेको छ । लघुकथा आफैँमा कालजयी छ ।)
२. स्वर्णकालीन लघुकथा
अँध्यारो बस्ती
विनयकुमार कसजू
एउटा बस्ती थियो जहाँ बत्ती थिएन । मानिसहरु सबै काम अँध्यारोमै गर्न अभ्यस्त थिए ।
एकपल्ट बस्तीको एकजना किशोर सहर गयो । उसले त्यहाँ बत्ती देख्यो । उसले एउटा बत्ती किनेर घरमा ल्यायो ।
राती उसले बत्ती बाल्यो । उसको घर उज्यालो भयो । घरको झ्यालबाट बत्तीको प्रकाश बाहिर निस्क्यो । बस्तीका मानिसहरूले किशोरको घरमा बत्ती बलेको टाढैबाट देखे ।
“हाम्रो घरमा पनि बत्ती बालौँ न !” अरू घरका किशोरहरूले आफ्ना अभिभावकहरूसँग अनुरोध गरे ।
“उज्यालोमा बस्दा हाम्रो आँखा बिग्रन्छ ।”
“बत्ती बाल्नु हाम्रो संस्कृति र परम्पराविरुद्ध काम हो ।”
“हाम्रो शास्त्र–पुराणमा कहीँ पनि बत्तीको उल्लेख छैन ।”
“बत्ती त देउताले मात्रै बाल्छ ।”
“बत्ती बाले देउता रिसाउँछ ।”
बस्तीका बुढापाकाहरुले यस्तैयस्तै तर्क गरे ।
उनीहरु सबैजना हुल बाँधेर बत्ती बाल्ने घरमा गए । उनीहरुले त्यहाँ बलिरहेको बत्ती निभाइदिए र पानस भाँचेर खोल्सामा फालिदिए ।
#
(प्रसिद्ध लघुकथाकार विनयकुमार कसजू (२००४-२०७६) ले २०२७ सालदेखि निरन्तर लघुकथा उन्नयनमा लागिरहनु भयो । ०३० को दशकलाई लघुकथाको स्वर्णकालीन समय बनाउन उहाँको योगदान पनि अतुलनीय छ । २०३३ सालमा उहाँकै सकृयतामा हवाई पत्रिकामा लघुकथा प्रकाशन कार्यको थालनी गर्नुभएको थियो ।
विनयकुमार कसजूका पशुमन्त्र, लिस्नो, थोपाथोपा र स्याललाई स्लिपिङ ब्याग गरी चारवटा लघुकथा संग्रहहरू प्रकाशनमा आएका छन् । उहाँले “प्रतिनिधि लघुकथा” को सम्पादन पनि गर्नु भएको छ ।
प्रस्तुत लघुकथाले हाम्रो समाजको सोचको वास्तविक तस्वीर उतारेको छ । कसैले केही नौलो गर्न खोज्दा समाजले गर्ने उल्लिबिल्ली नै यस लघुकथाको मर्म हो । लघुकथा अत्यन्त सरल र सरस छ ।)
३. मलाई मन परेको लघुकथा
आयु
किशन पौडेल
बगैँचाभरि रङ्गीचङ्गी फूलहरू मुस्कुराइरहेका थिए । त्यही बगैंचाको एक छेउमा एउटा बूढो रूख चुपचाप ठिङ्ग उभिएको थियो ।
फूलले घमण्डका साथ रुखलाई भन्यो –
“मैले सयौं जुनी फेरिसके,
तपाईं जहाँको त्यहीँ उस्तै हुनुहुन्छ अझै !”
रुखले विनीत स्वरमा भन्यो –
“हो । तिमी अत्यन्तै सुन्दर छौ । सबैको प्रिय छौ, तर दुनियाँमा सुन्दरताको आयु लामो हुँदैन ।”
#
(किशन पौडेल कुशल पत्रकारको छवि बनाएर नेपाली साहित्यमा पछिल्लो समय लघुकथाको माध्यमबाट सकृय हुनुहुन्छ । उहाँको “कहर” नामक गजल संग्रह प्रकाशनको अन्तिम तयारीमा प्रेसमा छ ।
लघुकथाकार किशन पौडेलको कल्पना लघुकथामा समकालीन लघुकथाकारहरूभन्दा भिन्न देखिन्छ । उहाँ स्वैरकल्पनामा प्राय लेख्न रुचाउनु हुन्छ ।
प्रस्तुत लघुकथा “आयु” मा उहाँले रुख र फूलको संवादलाई बढो मज्जाले बुनेर रुपवादीहरूलाई चकनाचुर बनाउनु भएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।