विश्वका दसवटा महत्वपूर्ण तथा उल्लेखनीय सिनेमाहरुको नाम लिनुपर्यो भने हामीले पथेर पंचालीको नाम केही गरी पनि छुटाउनु हुँदैन । यो त्यो सिनेमा हो जसले सत्यजीत रायलाई सत्यजीत राय बनायो ।
अचानक मैले केही महिना अघि, बैशास १० गते सत्यजीत रायलाई सम्झेँ र सम्झेँ उनको पथेर पंचाली किनभने बैशाख १० गते अर्थात् अप्रिल २३ तारिखको दिन, तीन वर्षअघि सत्यजीत रायको मृत्यु भएको थियो पथेर पंचालीलाई प्रज्वलित पार्दै ।
वास्तवमा पथेर पंचाली मेरो सपना थियो, करिब १५ वर्ष अघिदेखि हेर्ने सपना । २०३५–३६ सालतिर जब म त्रिपुरेश्वरमा रहेको खानेपानी संस्थान (तत्कालीन खाने पानी समिति) मा कार्यरत थिएँ, प्रायःजसो अफिस हाजिर गरेर नयाँ सडकमा रहेको भारतीय पुस्तकालयमा पुग्ने गर्थे र पुस्तक, पत्रपत्रिकाहरु पढ्ने गर्थे । त्यही सन्दर्भमा मैले पथेर पंचलीसम्बन्धी चर्चाहरु पढेँ । सत्यजीत रायसम्बन्धी लेखहरु पढेँ । अनि मलाई त्यो सिनेमा हेर्ने लालसा अत्यन्त नै बढ्यो ।
सत्यजीत रायको त्यो सुन्दर सिर्जनालाई कसरी हेर्ने ? सम्भावना कतै थिएन । अचेलजस्तो भिडियो–सिडियो थिएन त्यतिखेर र हलमा बङ्गाली सिनेमा लाग्ने कुरो पनि भएन । ज्ञात होस् पथेर पंचाली बङ्गाली सिनेमा हो । पथेर पंचाली हेर्न त पाइएन तापनि त्यतिखेर भारतीय पुस्तकालयमै प्रर्दशन गरिएका सत्यजीत रायद्धारा निर्देशित गोपी गायन बाघा बायन, नायक र प्रज्ञाप्रतिष्ठानले देखाएको शतरंजकै खिलाडीहरु हेर्न पाइए । तर पथेर पंचालीचाहिँ अहँ हेर्न पाइएन । त्यो हेर्ने लालसा झन् तीव्र भयो ।

किशोर पहाडी
जब अनि देशमा भिडियो आयो, नायक, शतरंजकै खिलाडी, गोपी गायन बाघा बायनहरु पलायन भएर गए र अगाडि तेर्सिए – हिंसा, अश्लीलताले भरिएका सिनेमाहरु । पथेर पंचाली हेर्ने लालसा पुनः जस्ताको तस्तै रहिरह्यो ।
पथेर पंचाली वास्तवमा के हो ?
कुनै पनि सम्प्रषणीय माध्यमको एक व्याकरण हुने गर्दछ । र त्यसभित्र केही यस्ता रचनाहरु हुने गर्छन् जसलाई व्याकरणको अध्ययनको लागि पाठ्यपुस्तकको रुपमा पढ्न सकिन्छ । पथेर पंचालीलाई केही समीक्षकहरुले सिनेमाको व्याकरणको पाठ्यपुस्तक भन्ने गरेका छन् । पथेर पंचाली सत्यजीत रायको पहिलो सिनेमा थियो र भारतीय सिनेमालाई अन्तर्रााष्ट्रय स्तरमा मान्यता दिन लगाउने पहिलो सिनेमा पनि थियो । विश्वका दस उल्लेखनीय सिनेमामध्ये गनिनु नै यसको ठूलो उपलब्धी हो ।
भारतको पथेर पंचालीबाहेक रुसको दी ब्याटलशिप पोटेम्किन्, इटालीको दी बाईस्कल थीफ्, अमेरिकाको सिटिजन केन, दी प्यासन अफ जोन अफ आर्क, फ्रान्सको दी रुल्स अफ दी गेम, जापानको रशोमन, बर्थ अफ ए नेशन, वाइल्ड स्ट्रबेरिज, हिरोशिमा मोन अमारलाई विश्वका महत्वपूर्ण सिनेमा मानिने गरिन्छ कलात्मकताको दृष्टिले, सर्वकालिकताको दृष्टिले ।
विभूतिभूषण बनर्जीको उपन्यास पथेर पंचालीलाई स्वयं सत्यजीत रायले पटकथामा ढालेका हुन् । यसका मुख्य पात्र एक जना ठिटो हो अपु नामको । बङ्गालको कुनै गाँउको एक जना भर्खरको ठिटो, जसले सिनेमाभरि विभिन्न किसिमका सुख–दुःखहरु अनुभव गर्दै जान्छ । आफ्नो वरिपरि रहेका जीवनका रहस्यहरु खोतल्दै जान्छ । आफ्नो सानो परिवारले गरेका विभिन्न क्रियाकलापका रहस्यहरु, गाँउका आगन्तुक र छिमेकीका रहस्यहरु, खेतपारी आकाश नीलो पार्दै कुद्ने रेलको रहस्य, पोखरीमा पौडी खेल्ने कीरा–फटेङ्ग्राको रहस्य, अपु अनुभव गर्दै जान्छ । मृत्युको अनुभव पनि गर्छ, अपु आफ्नी दिदी अति नै मिल्ने दुर्गाको मृत्यु । त्यो बच्चो अपुले यी सबै कुराको अनुभव गर्छ आँखाहरुको बादलभित्र र यी सबै कुरालाई सत्यजीत रायले एउटा सुन्दर कविताको रुपमा प्रस्तुत गरेका छन् । कुन क्षणलाई कसरी प्रस्तुत गर्ने भन्नेकुरा रायले भित्री दृष्टिदेखि नै पहिल्याएर प्रस्तुत गरेका छन् । अनि ती क्षणहरु काव्य बनेका छन् । काव्य बनाउनलाई यसको सङ्गीतले पनि निकै सघाएको छ । पथेर पंचालीलाई सङ्गीतले सिंगारेका छन् भारतका सुप्रसिद्ध सङ्गीतकार रविशंकरले ।
गरिबी आफैँमा पनि एउटा काव्य हो । पथेर पंचालीमा पनि अभाव, गरिबीकै कथा छ । यसो गरेर टर्छ कि भनेरै जिन्दगी बिताउने अपुका बाबु हरिहरको कथा छ यसमा । पैसा कमाउन गएका हरिहर जब केही उपहारको साथमा घर फर्कन्छन्, आफ्नी श्रीमतीको मौन क्रन्दनले थाहा पाउँछन छोरी मरिसकी भनेर । त्यतिखेर आमाको रुवाइभन्दा धेरै ठुलो स्वरमा एकतारेको तीव्र ध्वनि सुनिन थालिन्छ । यस दृष्यलाई लिएर चर्चित लेखक सलमान रुम्दीले एक ठाउँमा लेखेका छन्, ‘त्यो आत्मा कङ्कलाशब्द गर्दै रोएको हो ।’
‘सत्यजीत राय’ वास्तवमा को हुन् ?
सत्यजीत रायका बारेमा थुप्रै किताबहरु अत्यन्त मोटामोटा आकारमा निस्किएका छन् । त्यसैले उनका बारेमा यो छोटो लेखमा के–कति लेख्नु ? लाज लागिरहेछ ।
संक्षेपमा भन्नुपर्दा – सत्यजीत रायको जन्म भारतको कलकत्तामा ई.स. १९२१ मे तारिखको दिन भएको थियो । उनका बाजे उपेन्द्रकिशोर राय र बाबु सुकुमार राय दुवैले साहित्य, सङ्गीत र चित्रकलामा अति नै नाम कमाएका थिए । यसरी बाबुबाजेको कलाकारिताले गर्दा नै सत्यजीत रायलाई सिनेमाको इतिहासमा उभिन प्रेरणा मिलेको हुनुपर्छ । त्यसो त रायलाई बालककालदेखि नै सिनेमा हेर्ने सोखचाहिँ थियो जब कि परिवारमा आर्थिक स्थिति त्यति राम्रो थिएन । रायले कतै लेखेका छन्, “…. आर्थिक अभावको कुरा मेरो बाल्यकालमा यति थियो कि हामी रेलमा पहिलो, दोस्रो क्लासमा हैन, तेस्रो क्लासमा मात्र यात्रा गर्थ्यौं । म महिनामा एक दुईवटा मात्र किताब किन्थेँ सायद धेरै किन्न सक्दैनथेँ । सिनेमा हेर्न हप्ताको एक–दुईपल्टको साटो महिनाको एक–दुईपल्ट मात्र जान्थे ….. ।”
सुप्रसिद्ध कवि रविन्द्र नाथ टैगोर रायको पारिवारिक मित्र हुनुहुन्थ्यो । उहाँले पनि रायलाई बाटो देखाइदिनुहुन्थ्यो किनभने सत्यजीत सानोे छँदा नै उनका बाबु सुकुमारको मृत्यु भएको थियो । तापनि उनले पुस्तकालय गएर सिनेमासम्बन्धी पुस्तकहरु अध्ययन गर्न थाले । पुडोभ्किनको फिल्म ‘फिल्म टेक्निक याण्ड एक्टिङ्ग’ जेकोवको ‘राइज अफ दी अमेरिकन फिल्म’ र पल रोधाका विभिन्न पुस्तकहरु उनले पढे । त्योताक उनी चित्रकला र मूर्तिकला विषय अध्ययन गर्दै थिए । त्यति नै खेर जे. कीमरको विज्ञापन संस्थामा जागिर खाए । त्यहीँदेखि उनमा सिनेमा बनाउने तीव्र इच्छा जागृत भयो । बङ्गालमा विमल रोयले केही राम्रा राम्रा सिनेमाहरु बनाउन थालेका थिए, जसमध्ये चर्चित सिनेमा ‘देवदास’ पनि पर्छ । त्यसैको प्रेरणास्वरुप सत्यजीत रायले अब पटकथा लेख्छु भनी निधो गरे र लेख्न थाले पनि । त्यही सन्दर्भमा उनको हातामा त्यतिखेरको चर्चित उपन्यास पथेर पंचाली पनि पर्यो । त्यो पढ्दापढ्दै उनमाथि अनायासै के विचार आयो भने त्यो उपन्यासको त अति राम्रो सिनेमा बन्न सक्छ तर पैसा न सैसा टिकी ट्याँसट्याँस भयो । त्यसको दुई–चार वर्षपछि आफ्नो मेहनतले केही पैसा त कमाए । पछि सन् १९५० मा अफिसबाट राय ६ महिनाको लागि लण्डन र यूरोप जाने भए । त्यो उनको लागि वरदान नै सावित भयो । उनले भारतमा नआएका सिनेमाहरु त्यतातिर हेरे ।
उनकै भनाइमा “… साढे चार महिनामा मैले उनान्सयवटा सिनेमा हेरेँ ठ्याक्कै उनान्सयवटा ।”
पेरिसमा चाहिँ मैले थोरैमात्र हेर्ने मौका पाएँ । …. एकपछि अर्काे हेर्दै गएँ । आधा दर्जन त इटालियन सिनेमा नै हेरेँ जसमा ‘बाइस्कल थिफ्स’ पनि पर्यो । योचाहिँ अद्भुतको अनुभव थियो ….. ।
हो, यही ‘बाइस्कल थिफ्स’ ले सत्यजीत रायलाई निकै प्रभाव पार्यो र २९ वर्षको त्यो सानो उमेरमा ‘अब म फिल्म निर्देशक बन्छु, जर्मन गएर पढेर फर्कन्छु’ भन्ने निधो गरी त्यसै गरे । त्यसपछि अनेक सङ्घर्ष गरी बनाए पथेर पंचाली आर्थिक अभावका कारण करिब दुई वर्ष लाग्यो त्यो सिनेमा बन्न । सत्यजीत रायले निकै शारीरिक र मानसिक कष्ट सहनुपर्यो त्यो सिनेमा बनाउँदाखेरि । अन्ततः पथेर पंचाली बन्यो र उनी सिनेमाको इतिहासमा अमर बने ।
निर्देशन, सम्पादन साथै पटकथा लेखन, सेटडिजाइन, पहिरन, क्यामेरा सञ्चालन, सङ्गीत परिकल्पना आदि सबै काम सत्यजीत रायबाटै भएको थियो । त्यस सिनेमामा कलाकार छनौटको बारेमा केही रोचक कुराहरु छन् ।
कलाकार छनौट कसरी गरिए ?
सबैभन्दा पहिले त यसका मुख्य कलाकार अपुको छनौट गर्नु थियो । भर्खरको फुच्चे केटा कलकत्ताको सम्पूर्ण स्कुलहरुमा खोज्दा पनि सत्यजीतले खोजेको बच्चो भटिएन । अखबारहरुमा विज्ञापनहरु दिइयो तापनि पार लागेन । एकदिन के भयो भने कुरैकुरामा सत्यजीतले आफ्नी श्रीमती बिजोयालाई अपुको कस्तोखालको इमेज हुनुपर्छ भनी आफूले चाहेको कुरा भने । त्यसपछि अर्काेदिन बिजोया झ्यालमा बसी बाहिर हेरिरहेकी थिइन् । बाहिर केही ठिटाहरु अर्काे घरको छानामा खेलिरहेका देखिन् । तीमध्ये फुच्चे सुबीर बनर्जी पनि थियो । उसलाई देख्नासाथ बिजोया सत्यजीतकहाँ गइन् र भनिन् “मैले अपु भेट्टाएँ ।”
“कहाँ ?” सत्यजीत खोज्दा खोज्दा थाकेर बसेका मान्छे छक्क परे ।
“ त्यही पल्लो घरमा ।” कलकत्ताभरि खोजेको केटो पल्लो घरमा भएको कुरो अचम्मलाग्दो नै थियो ।
अपुकी दिदी दुर्गाको भूमिकाको निम्ति उमादास गुप्ताको छनौट त पहिल्यै भइसकेको थियो । अपुकी आमाको भूमिकामा करुणा बनर्जीका छनौट गरियो, जो नषँ कुनै नाट्यसमुहमा अभिनय गर्दथी ।
“रङ्गमञ्चमा कुने प्रभाव पार्न सकेकी छैन करुणाले तर पर्दामा पार्न सक्छे । उसको सानो स्वरले उसलाई रङ्गमञ्चमा अलि कम प्रभावशाली पारेको हो ।” सत्यजीतले भने करुणाको बारेमा । यद्यपि करुण अलि वैभवशाली, गर्वाेन्मत्त र प्रफुल्ल देखिन्थी र रायको धारणामा ऊ झगडालु स्वास्नी र कुण्ठित आमाको भूमिका राम्ररी गर्न सक्छे भन्ने थियो ।
कथाको एक–अर्काे महत्वपूर्ण चरित्र इन्दिर ठकुरान, एक अति नै वृद्धा आइमाई (जो अन्तिम समयमा अति नै प्यारी देखिन्छे) को छनौट गर्न रायले कुनै गाउँतिरकै वृद्धाहरुमध्येबाट गर्ने निधो गरे पहिले त । थुप्रै वृद्धाहरुको अनुहारमा प्रचीनतान त झल्कन्थ्यो तर तिनीहरुले क्यामेराअगाडि अभिनय गर्नसक्ने वा या शब्दहरु कण्ठ पार्न सक्ने कुरामा चाहिँ शङ्कै थियो ।
यस्तै यस्तै असजिलोमै कुनै एक कलाकारले असी वर्षीया, भूतपूर्व नायिका चुनिबालादेवीको नाम प्रस्ताव गर्यो ।
जमानामा नायिका भए पति त्यतिखेर कलकत्तामा वेश्यालयमा बसेकी रहिछ ऊ । उसलाई देख्नासाथ सत्यजीतले इन्दिरको भूमिकाको निम्ति उपयुक्त ठाने । एक कलाकारको नाताले सत्यजीत रायको प्रस्ताव सुनेर वृद्धा सिरिङ्ग भई, अत्यन्त खुशी भई ।
अपुको बाबुको भूमिकामा एक व्यवसायिक कलाकार कानु बनर्जीलाई छनौट गरियो । पहिलो दिनको शुटिङ्गमा जब उनलाई बोलाइयो, व्यावसायिक कलाकारिताको हिसाबले उनी एक हजामकहाँ गए र राम्ररी कपाल काटी हिरो बनी रायकहाँ पुगे । उनको चिटिक्क परेको मुहारले गर्दा राय धेरै दुःखीत भए । शुटिङ्ग रद्द गरे जब कि पैला बेकारमा खर्च भयो । अनि ‘कपाल फेरि पहिले जत्रै र पहिले जस्तै भएपछि मात्र आउनू’ भने ।
रिसाउनुको साटो कानु बनर्जी त खुशी पो भए । बल्ल साँच्चिकैको निर्देशक भेटेछु भन्ने निक्र्याैल निकाले । कसैले उनलाई आजसम्म कुनै विशेष चरित्रको निम्ति निश्चित लम्बाइको कपाल चाहिन्छ भनेका रहेनछन् ।
सत्यजीत रायको यो प्रसङ्गले पछि आर्ट फिल्म बनाउने कति निर्देशकहरुको घँैटोमा घाम लगाएको हुनुपर्छ । त्यसरी नै नेपालका सिनेमा निर्देशकहरुले पनि उनका क्रियाकलापबाट निकै कुरा सिक्न सक्नेछन् ।
सत्यजीत रायले पटकथा लेख्नु र सिनेमा बनी तयार हुनुमा कुल पाँच वर्ष लाग्यो र ई.स. १९५५ मा पथेर पंचाली बनेर तयार भयो ।
पथेर पंचालीमा हरिहरको कवि बन्ने महत्वकाङ्क्षा छ, सङ्कटैसङ्कटको ठूलो जालो छ । गरिबी र अभावको विशाल खाल्डो छ, बालसुलभ चाञ्चल्यता छ । साँच्चीकै भन्ने हो भने बङ्गालको सिङ्गो गाउँको पूर्ण चित्र छ ।
विभूतिभूषण बनर्जीको पथेर पंचाली उपन्यासलाई सत्यजीत रायले तीन भाग (Trilogy) मा विभाजन गरेका छन्, पथेर पंचाली, अपराजितो र अपुर संसार । तीमध्ये यस लेखको मुख्य उद्देश्य पथेर पंचालीको चर्चा गर्नु हो ।
थप चर्चाः पथेर पंचालीको
भारतको ‘दी टाइम्स अफ इण्डिया’ ले आफ्नो १९५६ फ्रेबु्रअरी ११ तारिखको अङ्कमा यस्तो छापेको छ पथेर पंचालीको बारेमा, “पथेर पंचालीलाई कुनै पनि भारतीय सिनेमासँग तुलना गर्नु वाहियात काम हो । “पथेर पंचाली एउटा सम्पूर्ण सिनेमा हो । रङ्गमञ्चको सानो झुल्को पनि यसमा छैन । पथेर पंचालीले एक असम्भव कामलाई विश्वसनीय बनाएर आयाम थपेको छ ।… सत्यजीत रायसँग दर्शक र दृष्यको निम्ति एउटा छरितो आँखा छ ।”
विश्वका अर्का एक महान् सिनेनिर्देशक अकिरा कुरोसावाका अनुसार “पथेर पंचाली हेरिसकेपछि मेरो मष्तिष्कमा आएको उत्तेजनालाई म कहिल्यै बिर्सन सक्तिनँ । … एउटा ठूलो नदीमा पाइनेखालको शान्त र सौम्य बहाव भएको सिनेमा हो यो ।”
उनका समकालीन पत्रकार लिन्ड्से आयन्डर्सनका अनुसार “कुनै स्टुडियोमा यस्तो खालको सिनेमा बनाउन सकिँदैन, न धनको लागि नै बनाइन्छ । सत्यजीत रायले पूर्ण समर्पणका साथ, पूर्ण बौद्धिकताका साथ काम गरेका छन् । घुँडा धँसेर । उनको यो सिनेमा गहन अध्ययनको साथ अगाडि आएको छ, एउटा नबिर्सिने अनुभवका साथ । ”
ई.सन् १९५६ को क्यान्स फिल्म फेस्टिभल ( Cannes Film Festival) मा यसले ‘सर्वश्रेष्ठ मानव अभिव्यक्तिको निम्ति’ पुरस्कार प्राप्त गर्यो । अर्काे वर्ष १९५७ मा पथेर पंचाली सनफ्रान्सिको फिल्म फेस्टिभलमा प्रदर्शन गरियो, सिनेसमीक्षकहरुको सल्लाहअनुसार त्यहाँ यसले सर्वश्रेष्ठ चलचित्र र सर्वश्रेष्ठ निर्देशनमा पुरस्कार जित्यो । सन् १९५९ मा अमेरिकाको रोबर्ट फ्लेहर्टी सेमिनारमा भाग लिन सत्यजीत रायलाई विशेष निमन्त्रणा दिइयो र न्यूयोर्कमा पथेर पंचाली प्रदर्शन गरियो । सेमिनार र न्यूयोर्क दुवै ठाउँमा राय सफल भए । यस पश्चात सत्यजीत रायले कहिल्यै तल फर्कनुपरेन । देशविदेशका विभिन्न समारोहहरुमा उनले सम्मान पाउँदै गए विभिन्न किसिमसित । आफ्नो जीवनकालमा पथेर पंचालीपछि, अपराजितो, पारस पत्थर, जलसाधर, अपुर संसार, देवी तीन कन्या, कञ्चनजंघा, अभिजान, महानगर, चारुलता एकसेएक करिब दुई दर्जन सिनेमाहरु बनाए ।
र, अन्तमा ई. स. १९९२ अप्रिल २३ तारिखको दिन साँझ पौने ६ बजेतिर मुटुले काम गर्न छोडेबाट सत्यजीत रायको निधन भयो । पश्चिम बङ्गालले उनलाई सम्मान दिँदै उनको सम्झनामा एक दिन बिदा पनि दियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

