अर्जुन प्रधान, ह्यारिसबर्ग । त्रिवेणी साहित्य मञ्च, पेनसिल्भेनियाको आयोजनामा २०८१ सालको देउसी भैलो कार्यक्रम ह्यारिसबर्गस्थित हिमालयन तेक्वान्दोको भवनमा  सम्पन्न भएको छ। कार्यक्रममा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्दै ११६ औं लक्ष्मीजयन्ती समेत मनाइएको थियो ।

कार्यक्रममा मञ्चका सल्लाहकार विष्णु लुइँटेलले महाकवि देवकोटाको जीवनी प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवसरमा देउसीभैलो, सृजनात्मक वाचन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। सहभागीहरूले नेपाली कला, संस्कृति र परम्परालाई जीवित राख्न यस प्रकारका कार्यक्रमको महत्त्वबारे चर्चा गरेका थिए । विशेष गरी देउसीभैलोको परम्परालाई विदेशमा निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न नेपाली समुदायका सदस्यहरूले सहभागिता जनाए । उपस्थित सबैले रमाइलोका साथ नेपाली सांस्कृतिक धरोहरको अनुभव साटासाट गरेका थिए । त्रिवेणी साहित्य मञ्चले लेन्कास्टरमा आफ्नो शाखा विस्तार गर्दै ओम घिमिरे र दिपेश चापागाईंलाई शाखा प्रमुखको रूपमा घोषणा गरेको छ।

कार्यक्रम संयोजक प्रेम घिमिरे, विष्णु लुइँटेललगायतका कार्यकर्ताको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो भने मञ्चका सचीव नारद आचार्य सुदामाले सञ्चालन गर्नुभएको थियो । प्रेम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा लेकास्टरले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पं. हरि फुयल र विशेष अतिथि विनय लुइँटेल, जेनेल स्टिलसन, किम प्याटी, डेभ मेडसन, ओम घिमिरे, नकुल शर्मा र ओम भट्टराईको उपस्थिति रहेको थियो । कार्यक्रम समापनका क्रममा मञ्चका अध्यक्ष केशव बैरागी माइलाले नेपाली पठनपाठन कक्षा सञ्चालन र उद्घोषण तालिमको योजना अघि सार्दै “दिन एउटा कथा” नामक संग्रह तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई तिहारको शुभकामना व्यक्त गर्दै औपचारिक रुपमा समापनको घोषणा गर्नुभयो ।