अर्जुन प्रधान, ह्यारिस्बर्ग । त्रिवेणी साहित्य मञ्चद्वारा आयोजित साहित्यिक कार्यक्रम ह्यारिस्बर्ग, पेन्सलभेनियामा सम्पन्न भएको छ। शृङ्खला-६ अन्तर्गत आयोजित यस कार्यक्रममा विभिन्न साहित्यकारहरूले आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रमका मुख्य आकर्षणहरू सोम भण्डारीद्वारा लिखित “Chasing an Unknown Destiny” पुस्तकको विमोचन र गुन्जन तथा अन्तरा उपाध्याय दिदीबहिनीद्वारा सञ्चालित Nepsisters युट्युब च्यानलको सार्वजनिक उद्घाटन गरेको थियो । “Chasing an Unknown Destiny” कृतिमाथि डा. तुलाराम न्यौपाने र डा. नारद पोख्रेलले आ-आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । डा. न्यौपानेले यस कृतिलाई लेखकका जीवन अनुभव र कथाहरूसँग जोड्नुभएको थियो भने डा. पोख्रेलले यसलाई सरल र सुन्दर शैलीमा लेखिएको उत्कृष्ट रचना भनेर प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलोले गर्नुभएको थियो भने प्रमुख अतिथि डा. तुलाराम न्यौपाने र विशेष अतिथि साहित्यकार सीता पाण्डे हुनुहुन्थ्यो। सांस्कृतिक प्रस्तुतिमा बालकृष्ण न्यौपानेको सुमधुर गायन र ल्यान्कास्टरबाट आएका बालप्रतिभाहरूको आकर्षक स्वागत नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो।

कार्यक्रममा खेम अधिकारी, नारद अधिकारी, ओम घिमिरे, बिनिता पुरी, गण्डकी पुत्र, तुङ्गनाथ उपाध्याय लगायतका थुप्रै साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। त्रिवेणी साहित्य मञ्चका सचिव नारद आचार्य “सुदामा” ले कार्यक्रमको सफल सञ्चालन गर्नुभएको थियो।