ज्याग्दीखोला साहित्य प्रतिष्ठानले तीन साहित्यकारलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले प्रा.डा. जगदीश चन्द्र भण्डारी, रामराज रेग्मी र काजी रोशनलाई तीन फरक फरक साहित्यिक पुरस्कारले सम्मान गर्न लागेकाे हो ।
प्रा.डा. जगदीश चन्द्र भण्डारीलाई ‘विश्वराधानेत्रा साहित्य पुरस्कार २०८१’ ले सम्मान गरिने भएको छ । ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित यो पुरस्कारले विगत पाँच दशकदेखि निरन्तर साधनारत स्रष्टा भण्डारीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । यो पुरस्कारको राशि रु. १५ हजार रहेको छ ।
त्यस्तै, प्रतिष्ठानले पोखरामा जन्मेर संस्कृति तथा दर्शनका क्षेत्रमा साधनारत रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान – २०८१’ द्वारा सम्मान गर्ने भएको छ । रेग्मी गतिशील चिन्तनमा आधारित वैचारिक लेखक हुन् ।
त्यसैगरी, प्रतिष्ठानले साहित्य, सङ्गीत तथा कलामा साधना गरी विशिष्ट योगदान पुर्याउने स्रष्टाको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ प्रदान गर्दै आएको छ । प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारद्वारा बाग्लुङका साहित्यकार काजी रोशनलाई सम्मान गर्ने भएको छ । धवलागिरिको साहित्यिक संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका काजी रोशन विभिन्न पुरस्कारका संस्थापक र सम्पादक व्यक्तित्व पनि हुन् । यो पुरस्कारको राशि दश हजार रहेकाे छ ।
उल्लिखित तीनवटै पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले संस्थाका सहसचीव प्राज्ञ नारायण मरासिनीको संयोजकत्वमा सल्लाहकार टीकाराम वाग्ले र साहित्यकार भीम रानाभाट रहेको तीन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।