ज्याग्दीखोला साहित्य प्रतिष्ठानले स्याङ्जामा जन्मिएका र साहित्यसेवामा योगदान पुर्याउनु भएका तीन साहित्यकारलाई सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’– २०७९ द्वारा विगत चार दसकभन्दा बढी समयदेखि निरन्तर रुपमा साधना गर्दै आएका स्रष्टा\द्रष्टा व्यक्तित्व डा. कृष्णराज अधिकारी (वि.सं. २०१९) लाई सम्मान गरिने भएको छ ।

यो पुरस्कार समाजवादी यथार्थवादी धारा अथवा आलोचनात्मक यथार्थवादी धारामा कलम चलाउने स्रष्टा/द्रष्टालाई प्रदान गरिँदै आएको छ । डा. अधिकारी कास्की जिल्लाको पोखरामा जन्मेका स्रष्टा\द्रष्टा व्यक्तित्व हुन् । पोखरामै रहेर साधना गर्ने प्रगतिवादी स्रष्टा\द्रष्टा अधिकारीले प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित हुँदै समालोचना, कविता, कथा, निबन्ध लगायतका विधामा कलम चलाउँदै आएका छन् । उनका ‘स्मृतिका बिम्बहरू’ (नियात्रा, २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य’ (समालोचना, २०६६), ‘सुरूङ खन्दैछन् मुसाहरू’ (कविता सङ्ग्रह, २०६८), ‘साहित्यिक अवलोकन’ (समालोचना, २०७१), ‘केही सिर्जनाः पृथक विवेचना’ (समालोचना, (२०७८), ‘अँध्यारो यात्रा’ (कथा सङ्ग्रह, २०७८) लगायतका कृतिहरू प्रकाशित छन् ।

यसपूर्व उक्त पुरस्कारबाट २०७६ सालमा प्रा.डा. ताराकान्त पाण्डेय, २०७७ सालमा प्रा.डा. रविलाल अधिकारी र २०७८ सालमा दिल साहनी सम्मानित भएका थिए । पुररकारको राशि नगद १५ हजार रुपैयाँ रहेको छ ।

‘ज्याग्दीखोला साहित्य सम्मान’– २०७९ पीताम्बर नेपालीलाई प्रदान गरिने
‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ले स्याङ्जाको आँधीखोलामा वि.सं. १९९७ मा जन्मेर पाँच दसकभन्दा बढी समयदेखि हालसम्म निरन्तर साहित्यिक साधनामा क्रियाशील व्यक्तित्व पीताम्बर नेपालीलाई २०७० को ज्याग्दीखोला साहित्य सम्मान प्रदान गर्ने भएको छ । राष्ट्र र राष्ट्रियताप्रति बढी नै संवेदनशील स्रष्टा नेपालीका ‘पेटको राँको’ (कविता सङ्ग्रह, २०२२), ‘सिमानाको गीत’ (बालकविता सङ्ग्रह, २०६५), ‘उखरमाउलो’ निबन्ध सङ्ग्रह, २०६९), ‘रहरको खहरेमा बयली खेल्दै’ (नियात्रा, २०७१), ‘सिलो’ (कविता सङ्ग्रह, २०७२) लगायतका कृतिहरू प्रकाशित छन् । उक्त सम्मानद्वारा हालसम्म २०७४ मा डा. महेश्वर शर्मा, २०७५ मा प्रा.डा. गोविन्दराज भट्टराई, २०७६ मा केदार शर्मा ढकाल, २०७७ मा देवीप्रसाद वनवासी र २०७८ मा ईश्वरी ओझा सम्मानित भइसकेका छन् ।

कवि चिन्तु गिरीलाई ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’– २०७९ प्रदान गरिने
‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’, स्याङ्जाले गण्डकी प्रदेशमा रहेर साहित्य, सङ्गीत तथा कलाको साधना गरी विशिष्ट योगदान पु-याउने स्रष्टाको सम्मान गने उद्देश्यले प्रत्येक वर्ष ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ प्रदान गर्दै आएको छ । प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारद्वारा स्याङ्जामा रहेर काव्य साधनामा क्रियाशील स्रष्टा चिन्तु गिरीलाई सम्मान गने भएको छ । विगतका वर्षहरुमा यस पुरस्कारद्वारा साहित्यकार गङ्गा कर्माचार्य पौडेल, विश्वप्रेम अधिकारी र छायादत्त न्यौपाने ‘बगर’ सम्मानित भएका थिए । स्याङ्जाको पुतलीबजारमा जन्मेका कवि चिन्तु गिरीका ‘मेरो धर्ती’ (कविता सङ्ग्रह– २०५०), ‘बिरामी वर्तमान’ (कविता सङ्ग्रह– २०५९), ‘गोलैँचीका फूलहरु’ (गीती कविता सङ्ग्रह– २०६१), छन्दका पत्करहरू (कविता सङ्ग्रह– २०६६)’, ‘पछुतो’ (कथा सङ्ग्रह– २०६९) लगायतका कृतिहरू प्रकाशित छन् । पुररकारको राशि नगद १० हजार रुपैयाँ रहेको छ ।

पुरस्कार तथा सम्मानको प्रतिभा चयनका लागि प्रतिष्ठानले कार्यसमिति सदस्य मिनुइन्द्र लम्सालको संयोकत्वमा प्रतिष्ठानकै सल्लाहकार लोकबहादुर थापा र ‘ज्याग्दीखोलाको तरङ्ग’ त्रैमासिकका कार्यकारी सम्पादक नारायण मरासिनी रहेको तीन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसअनुरुप नै यसपटक ‘विश्वराधा नेत्रा साहित्य पुरस्कार’– २०७९ डा. कृष्णराज अधिकारीलाई, ‘ज्याग्दीखोला साहित्य सम्मान’– २०७९ पीताम्बर नेपालीलाई र ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’– २०७९ कवि चिन्तु गिरीलाई प्रदान गरिने भएको हो । प्रतिष्ठानले यी तीनवटै सम्मान तथा पुरस्कारहरु प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।