खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रा. कृष्ण गौतमको ‘अद्वैत’ उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति जारी गर्दै यो वर्षको पद्मश्री साहित्य पुरस्कार ‘अद्वैत’ उपन्यासलाई प्रदान गरिएको घोषणा गरेका हुन् ।

मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा गहन विचार प्रस्तुत गरिएकाे  ‘अद्वैत’ अत्यन्तै परिष्कृत र बोधगम्य भाषाशैलीमा लेखिएको छ।

प्रतिष्ठानले वि.सं २०८० सालमा प्रकाशित प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ र संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरेको थियो ।

पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उपन्यासकार गाैतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।

त्यस्तै, प्रतिष्ठानले नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा निरन्तर लागिपरेका पवनकुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ ।

चामलिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री थिए।

विज्ञप्ति अनुसार समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्राडा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ ।

यी पुरस्कारको राशि जनही रु. ३ लाख तथा सम्मान पत्र रहेको छ ।