महेश पौड्यालको अनुवादमा नेपाली कथाहरूको अङ्ग्रेजी अनुवाद सङ्ग्रह ‘सेलेक्टेड नेपाली स्टोरिज’ प्रकाशित भएको छ । उक्त अनुदित कृतिलाई खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
प्रतिष्ठानले प्रत्येक वर्ष योगदानका आधारमा पद्मश्री साधना सम्मान र वर्षको उत्कृष्ट पुस्तकलाई पद्मश्री पुरस्कार अर्पण गर्दैआएको छ । त्यसै सिलसिलामा प्रतिष्ठानले एक कार्यक्रमका बिच गायक तथा संगीतकार भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान र लेखक केशव दाहाललाई मोक्षभुमिका लागि पद्मश्री पुरस्कारले सम्मानित गरिएको छ । त्यसै कार्यक्रममा पौड्यालको अनुवादमा ‘सेलेक्टेड नेपाली स्टोरिज’ सार्वजनिक गरिएका हो ।
अघिल्लो वर्ष (वि.स. २०६६) को पद्मश्री सम्मान र पुरस्कार विवादमा आएपछि रद्द गरिएको थियो । त्यही अर्पण गरिएको सम्मान र पुरस्कार राशिको सदुपयोग गर्दै ‘सेलेक्टेड नेपाली स्टोरिज’ प्रकाशित गरिएको प्रतिष्ठानले जनाएको छ ।
“यहाँहरूलाई विधितै छ, खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विगतका दिनमा पनि छानिएका नेपाली कविता र निबन्धका सङ्ग्रह तथा केही उपन्यासको अङ्ग्रेजी अनुवाद प्रकाशित गरिसकेको छ ।”, कार्यक्रममा बोल्दै अनुवादक महेश पौड्यालले भन्नुभयो, “विगतका केही वर्षमा, सायद केही प्राविधिक कारणले, यस्ता अनुवाद कार्य केही स्थगित भएका देखिएको भए पनि यस वर्षबाट प्रतिष्ठानले पुनः अनुवादको लय समातेको छ, र आज केही समयको अन्तरालपछि हामीमाझ पुनः नयाँ अनुवाद सँगालो, मानक २५ नेपाली कथाको अङ्ग्रेजी रूपान्तरणको रूपमा देखा परेको छ ।”

महेश पौड्याल
यस अनुदित सँगालोमा गुरूप्रसाद मौनाली, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, दौलतविक्रम, इन्द्रबहादुर राई, पारिजात, मनु ब्राजाकी, रमेश विकल, किशोर पहाडी, भागिरथी श्रेष्ठ, प्रेमा शाहा, नारायण ढकाल, ध्रुवचन्द्र गौतम, आहुती, राजेन्द्र विमल, माया ठकुरी, अविनाश श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, पोषण पाण्डे, सनत रेग्मी, गोविन्दबहादुर मल्ल गोठाले, कृष्ण धरावासी, परशु प्रधान, देवकुमारी थापा, पुष्कर शमशेर गरी २५ कथाकारका २५ मानक नेपाली कथाहरू सङ्ग्रहित छन् ।
“मानक नेपाली कथाहरूको अङ्ग्रेजी अनुवादलाई पुस्तकका रूपमा प्रकाशनमा ल्याउनु हाम्रो लागि गौरवको कुरा हो ।”, प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले भन्नुभयो, “यसैगरी भविष्यमा पनि मानक नेपाली साहित्यका रचनाहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन प्रतिष्ठानले भूमिका खेल्नेछ ।”
कृष्ण धरावासी र गोविन्द गिरी प्रेरणाको सम्पादन रहेको यस पुस्तकको वितरणको जिम्म पौरवी प्रकाशनले गर्नेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

