तनहुँ ।  राष्ट्रिय पुस्तकालय दिवस तथा १५९ औं मोती जयन्तीको अवसर पुस्तकालयको महत्त्व तथा साहित्यवाचन कार्यक्रम दमौली, तनहुँमा सम्पन्न भएको छ। एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आयोजना र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हो ।

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा. डा. मधुसुदन गिरिले गरेका थिए।

प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य राजेन्द्र केसरी न्यौपाने, एमाले पार्टीका तनहुँ जिल्ला अध्यक्ष हरिराज कँडेल, नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, श्रीराम कार्की, लमजुङका साहित्यकार विष्णुभक्त अधिकारी, संगम सापकोटा, शान्ता बास्तोला, शुभ पिया, दिवाकर भट्टराई, कल्पना पौडेल, गोपाल सुर्खेली, लगायत ५० बढी राजनीतिकर्मी, साहित्यकार, बुद्धिजीवीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको कार्यालय परिसरमा रहेको पुस्तकालयमा वर्षभरिमा धेरै समय पुस्तक अध्ययन गर्ने तनहुँका विष्णु वाग्ले सम्मानित भएका छन्।

कार्यक्रमले विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि साहित्यिक कार्यक्रमले हरेक क्षेत्रलाई समेट्दै लैजाने गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले धारणा राखेका थिए।

ठाडो भाकाका गीत, विभिन्न श्लोकहरूले कार्यक्रमलाई संगीतमय बनाउन विष्णुभक्त अधिकारीको ठूलो भूमिका रहेको र आगामी दिनमा स्थानीय राष्ट्रिय साहित्यिक व्यक्तित्वबाट राष्ट्र निर्माताले धेरै कुरा सिक्नुपर्ने धारणा प्रमुख अतिथि गिरीले राखेका थिए।

एकदेव आले स्मृति प्रतिष्ठानमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य सिर्जना सिग्देलले र कार्यक्रमको सञ्चालन माधव प्रसाद अधिकारीले गरेका थिए।