उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक अभिनद्ध मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ ।
नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक अभिनद्ध तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, ओजस थिएटर काठमाडौँ र आदिइत्यादि काठमाडौँले संयुक्त रुपमा नाटक तयार पारेका थिए ।
“सम्भवत हामी नेपाली नाटकमा नाटकघर चलाउने नाटककै पछिल्लो संस्था हौँ होला । हामीले पहिलोपल्ट विदेशको नाट्ययात्रा गरेका हौँ । फरक अनुभव लिने अवसर मिल्यो र फरकफरक नाट्य संस्थाहरुको सामूहिकताको एउटा प्रयास पनि उपलब्धिमूलक रह्यो भन्ने मेरो ठम्याइ हो ।”, ओजस थिएटरका सञ्चालक एवम् अभिनद्ध नाटकका कलाकार सागर कार्कीले बताउनुभयो ।
“हामी त मोफसलमा बसेर साहित्य र नाटकको क्षेत्रमा बामे सर्दै गरेका हौँ । स्थानीय स्थरमा मात्रै सीमित हाम्रो लागि यो महोत्सव एउटा ठूलो अवसर पनि थियो । हामीले यो नाट्य महोत्सवबाट धेरै कुरा सिक्ने अवसर पनि प्राप्त गर्यौँ ।”, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार आकाश अधिकारीले आफ्नो अनुभव सुनाउनु भयो ।
फरक फरक ठाउँका कलाकारहरु मिलेर नाटक तयार पार्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको ठम्याइ आदिइत्यादिका कोषाध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार सुशीलसिंह ठकुरीको पनि रह्यो ।
“झण्डै २२ वर्षपछि म अभिनयमा फर्केको थिएँ, डर पनि लागेको थियो । तर सबै कलाकारहरु पेशागत कलाकार भएका कारण मैले धेरै कुरा सिक्ने अवसर पनि पाएँ र काम गर्न पनि सहज भयो ।”, कलाकार उषा केसीले बताउनुभयो ।
नाटक हेरेर आफ्नो संक्षिप्त प्रतिक्रिया दिँदै फ्रन्सेली नाटककार तथा नाट्य प्रशिक्षक पथ्रिकले नेपाली टोलीको समसामयिक नाटकले आफ्नो ध्यान खिचेको बताउनुभयो ।
नाट्य महोत्सवका निर्देशक एवम् नाट्य चेतनाका अध्यक्ष प्रसिद्ध भारतीय नाटककार तथा निर्देशक सुबोध पटनायकले नेपाली नाटक अभिनद्धको मञ्चनले नेपाली नाट्यमञ्चनको शैली र हामीले काम गरिरहेको लोकनाट्य शैलीको आदानप्रदान भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि नेपाली नाट्यसंस्थाहरुसँग सहकार्य गरिने बताउनु भयो ।
एकल महिलाले भोग्नु पर्ने समाजिक प्रताडनमाथि केन्द्रित करिब १ घण्टा लामो नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका थिए । नाटक अभिनद्धमा सविना गोपाली, रविन तामाङ, आकाश अधिकारी, सागर कार्की, सुशीलसिंह ठकुरी र उषा केसीको अभिनय रहेको थियो ।
नाटकमा कवि सरस्वती तिमल्सिनाको छवटा कविता समावेस थियो । नारायण दंगालको संगीत संयोजन रहेको नाटकको सहायक निर्देशन रविन तामाङले गरेका थिए ।
नाटक महोत्सवमा भारतका विभिन्न राज्य र नेपालको गरेर ११ वटा नाटक मञ्चन भएका थिए । नाटक टोलीलाई कलकत्तामा हाम्रो छहारी नामक संस्थाले स्वागत गरेको थियो । स्वागत कार्यक्रममा कलकत्तामा रहेका नेपाली र नेपालीभाषी साहित्यकार तथा विशिष्ट व्यक्तिहरू नारायण हुमागाईँ, सञ्जीव गुरुङ, राजु पाठक, गुञ्ज श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।