‘राम्रै लक्षणकी बुझेर यिनको नामै प्रभा राखियो
उस्तै उज्ज्वल बुद्धिकी भइदिँदा शब्दार्थ मिल्दै गयो
साँवा अक्षर यी घरतिरै पढिन् भर्ना भइन् तीनमा
कक्षामा पनि यी पुरस्कृत भइन् दोस्रो हुँद जाँचमा ।
…
आफ्ना ती बहिनी दुवैतिर बसी दिन्थे निकै हौसला
आमा प्रेरक भै खडा भइदिँदा बढ्थ्यो गलामा कला ।
आर्शीवाद पियो कि आदिकविको आफ्नै हुँदा वशंज !
रच्थे काव्य यदाकदा जब पिता रोजिन् पिताकै पथ !
(नारायणदत्त शास्त्री)
कवि प्रभा भट्टराई आचार्यको छन्दोबद्ध कविताहरूको सङ्ग्रह हो ‘कविता–प्रभाव’ । सरल शब्द संरचनामा लेखिएका आचार्यका कविताहरू श्रुतिमधुर, गेयात्मक, बोधगम्य, सम्प्रेषणीय र समसामयिक सन्दर्भलाई समेट्ने किसिमका छन् ।
‘मेरो सृष्टि छ यो, म मालिक यहाँ संसार मेरै घर
आफ्नै सिर्जनवागका मखमली बुट्टाहरू सुन्दर ।
हेर्दै दङ्ग परी तरङ्गित हुँदै तैरन्छु रातोदिन
भन्नेले अब जे भनून् थरीथरी राम्रो मलाई छु म ।
(कवि भन्छ, पृ. २३)
‘कवितासितको सङ्गतले साढे चार दशक पार गरिसकेको छ, तर संवाद कहिलेकाहीं मात्रै हुन्छ । कविता आफ्नै धूनमा अनि म पनि आफ्नै धूनमा ! अत्यन्तै मन्द कछुवा गतिमा भए पनि कवितासितको यात्रा कायमै छ ।’, पुस्तकमा कवि आचार्य लेख्छिन्, ‘बेलाबखत झुल्कने फुटकर कविताहरूलृ पनि प्रिय पाठक–स्रोतासँग अटूट र आत्मीय सम्बन्ध बनाएका छन् । ससाना नानीबाबुदेखि प्रौढ परिपक्क भावकहरूसमेतले कवितालाई चासो लिएर मन पराइदिनुहुन्छ र मलाई यो यात्रा निरन्तर अघि बढाउन प्रेरणा मिलेको छ, जसका लागि म सबैप्रति आभारी छु ।’
पुस्तकलाई कोकगोष्ठी परिवारले प्रकाशनमा ल्याएको हो । १ सय २० पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य ३ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।