जयराम तिमल्सिनाको पहिलो कृति हो उपन्यास ‘धीमहि’ । लेखक तिमल्सिनाले यो आख्यानमार्फत् आत्माद्वन्द्व व्यवस्थापनका विकल्पहरूको खोजी गर्दै नयाँ विमर्शका लागि प्रशस्तै ठाउँहरू छोड्नुभएको छ । आत्मद्वन्द्वका आयाम र परिणामहरूले उपन्यासकारले मिहीन र कलात्मक तवरले प्रस्तुत गर्नुभएको छ ।

‘मान्छेभित्र आत्मद्वन्द्वका कारक कति छन् त्यसको सूची बनाउन सम्भव छैन, सायद । तर, त्यस्ता द्वन्द्वका स्थायी निकास छन् वा छैनन् यो बहसको विषय हो ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘द्वन्द्व व्यवस्थापनका सूत्रबद्ध उपकरणले समस्याको शमन गरेको देखिए तापनि तिनले केही दाग, इख वा असन्तुष्टि छोडेकै हुन्छन् भन्ने अनुभव जताततै छ । आत्मद्वन्द्वको हकमा पनि यसको व्यवस्थापन त्यति सहज देखिएको छैन । अति प्रतिभाशाली भनिएका र संसारका धेरै क्लिष्ट रहस्य बुझेका  कतिपयले मानसिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर आत्माहत्याको बाटो पनि रोजेका छन् । कतिपय भने मौन मौन गहन साधनाको बाटो रोज्दछन् र द्वन्द्वका सांसारिक कारणबाट आफूलाई पुर्णतः असंलग्न राख्ने बाटोतिर लाग्छन् । एक कर्मशील एवम् अन्तर्जगत्को मन्थनमा रमाउने जयराम तिमल्सिनाको पहिलो कृति धीमहि आत्माद्वन्द्व व्यवस्थापनका यिनै विकल्पहरूको आख्यानिक खोज हो ।’

त्यस्तै, पुस्तकको स्वकथनमा उपन्यासकार तिमल्सिना लेख्नुहुन्छ, ‘…त्यसो त म नदीको एक किनारको यात्री हुँ । नदीमा अर्को पनि किनार छ । मबाट थोरै टाढा । मेरो विपरीत भएर बसिरहने किनार । अझ भनुँ मेरो समानान्तर तर म सँगसँगै रहिरहने । जीवन र नदीको लय उस्तै लाग्छ अचेल । जुन विन्दुमा हेर्यो त्यही विन्दु महत्त्वपूर्ण लाग्ने …  । मेरो यात्रा एउटा किनार हुँदै बढिरहेको छ । म हिँडिरहेको यो किनारा जसलाई मैले राम्रोसँग देखेको छु । हरेक पल भोगेको पनि छु र जान्दछु पनि । मसँगै मेरो समानान्तर हिँडिरहेको अर्को किनार जसलाई मैले समानान्तर रूपमा देखिरहेको हुँ, देखेका आधारमा केही जानेँ तर भोगेको भने छैन । त्यसका आरोह–अवरोह अनुमान लगाउँछु र तिनै अनुमानका रङ जीवनमा भर्छु । तिनै रङ, म नहिँडेको किनार, मेरा आँखाअगाडिबाट बगिजाने मुख्य नदी यो उपन्यासको मूल भङ्गालो हो ।’

पुस्तकलाई पेज टर्नरले प्रकाशन गरेको छ । १ सय ८१ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय ५५ रुपैयाँ रहेको छ ।