साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि तथा गजलकार विद्या भण्डारी ‘चिराग’को सचित्र बाल गजलसङ्ग्रह ‘लौरी हजुबुबाको’ प्राप्त भएकाे छ ।

नरोकिई सधैं एकनास हिन्छ समय,
सफल त्यही हुन्छ जसले चिन्छ समय ।

समयमै गर्छ जसले गर्नु पर्ने काम,
उसलाई नै पुरस्कार दिन्छ समय ।

ढिलो गर्ने, अल्छी हुने बानी छ जसको,
उसको पाउने भागै खोसी लिन्छ समय ।

नजिस्कनु समय छ साह्रै बलावान्,
ठट्टा गर्नेको खुशी छिन्छ समय ।

नरोकिई सधैं एकनास हिन्छ समय,
सफल त्यही हुन्छ जसले चिन्छ समय ।

२० बालगजलहरु सङ्ग्रहित सङ्ग्रहमा चित्र भर्ने काम चित्रकार नवीनभक्त अधिकारीले गरेका छन् । सरल र सहज शब्दका साथ बालबालिकाले बुझ्ने भाषामा लेखिएका गजलमा चित्रहरुले थप नवीनता र रोचकता थपेका छन् ।

‘‘यो सचित्र बाल गजलसङ्ग्रहमा शीर्षकसहितका २० वटा गजलहरु समेटिएका छन् । यिनमा विविध खालका भावहरु देख्न पाइन्छ ।’’, भूमिकामा समीक्षक रमेश प्रभात लेख्छन्, ‘तीमध्ये दुईवटा गजल हजुबुबासँग सम्बन्धित छन् भने एउटा गजल हजुरआमासँग सम्बन्धित छ । बाँकी गजलहरु मामाघर, नेपाली जाति, हाम्रा चाडपर्व, हाम्रा विद्यालय, बालापन र हाम्रा आनीबानीसँग सम्बन्धित छन् । यी गजलहरु पढेर तपाईँका मनमा पनि गजल लेख्ने रहर पलाउन सक्यो भने लेखकको सफलता अझ चुलिने छ ।’

पुस्तकलाई पं. नीलकण्ड पौडेल स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।