काठमाडौँ । भानु प्रतिष्ठानले भानुभक्त आचार्यको जन्मजयन्ती मनाउने क्रममा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानको निमन्त्रणापत्रमा आगामी श्रावण ६ गतेसम्म प्रतिष्ठानका विभिन्न कार्यक्रम योजनामा रहेको जानकारी समेटिएका छन् । अहिलेसम्म केही कार्यक्रम सम्पन्न भइसकेका छन् । त्यसमध्ये २८ गते सरस्वती नगर चावहिलमा रहेको एपेक्स लाइफ स्कुलमा स्रष्टा सम्मान, पुरस्कार वितरण एवम् रचनावाचन कार्यक्रम सम्पन्न भयो ।

२११ औँ भानुजयन्तीका अवसरमा भानु प्रतिष्ठान र एपेक्स लाइफ स्कुलको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि एवम् सम्मानित व्यक्तित्व ९४ वर्षीय साहित्यकार महेश्वर शर्मा हुनुहुन्थ्यो । एपेक्स स्कुलका अध्यक्ष सुवास न्यौपानेको सभाध्यक्षतामा सम्पन्न सो समारोहका विशेष अतिथि भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छु हुनुहुन्थ्यो ।

विशेष अतिथि शुभेच्छुले कार्यक्रमको उद्देश्य, सम्मानित व्यक्तित्वको परिचयसहित दोसल्ला, ताम्रपत्र र नगदसहित महेश्वर शर्मालाई सम्मान गर्नुभयो । शर्मालाई गरिएको सम्मान पत्रको भाषा विद्यालयका शिक्षक रामप्रसाद रेग्मीले वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रमका आरम्भमा विद्यालयका प्रधानाध्यापक प्रद्युम्न पौडेलले भानुप्रतिष्ठान र एपेक्स स्कुलको सहकार्यको इतिहास बताउनुहुँदै कार्यक्रमको औचित्यसहित सहभागीहरुलाई स्वागत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् सम्मानित प्रतिभा महेश्वर शर्माले सम्मानले जीवनमा केही गर्ने उर्जा र हौसला मिल्ने भन्नुहुँदै आफ्ना लेखन अनुभव सुनाउनुभयो । उहाँले भानु प्रतिष्ठान र एपेक्स स्कुल परिवारप्रति कृतज्ञता पनि प्रकट गर्नुभयो ।

सोही अवसरमा तीन दिन अगाडि विद्यालयले आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कृत छात्रछात्रामा लोयल्टी एकेडेमीका विनम्र थपलिया प्रथम, कान्ति भैरव गुरुकुलका देवेन्द्र खरेल द्वितीय, हिमशिला बोर्डिङ स्कुलकी रिया प्याकुरेल तृतीय स्थानमा विजयी हुनुभएको थियो ।

विजयी छात्रछात्रालाई विशेष अतिथि डा. शुभेच्छु र सभापति न्यौपानेले संयुक्त रुपमा प्रमाणपत्र, नगद पुरस्कार र पाठ्यसागम्री पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा कवि पुरु लम्साल, भगवती बस्नेत, सीता भट्टराई, देवकुमारी लुइटेल, नारायण नेपाल, भीष्मराज काफ्ले, रवि सुवेदी, सिर्जना अर्याल र उदय ओझाले रचना वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष न्यौपानेले यस कार्यक्रमले विद्यार्थीको सिर्जनशील क्षमता विकासमा टेवा पुगेको बताउनुहुँदै सहकार्यका लागि भानु प्रतिष्ठानलाई र सम्मानित प्रतिभालगायत सबै उपस्थित महानुभावप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सहभागी कविहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

यो परम्परा एपेक्स स्कुलले बिसौँ वर्षअघिदेखि बसाउँदै आएको छ । विद्यालयका छात्रछात्राले विशेष सांस्कृतिक कार्यक्रमका साथै भानुभक्तीय रचना पाठ गरेका थिए ।