आज देश विदेशका विभिन्न ठाउँमा २११ औँ भानुजयन्ती भव्यताका साथ मनाइएको छ । भानुभक्त आचार्य सम्बन्धी आधिकारिक संस्था भानु प्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरीसहित भानुजयन्ती मनाउँदै आएको छ ।

यस प्रतिष्ठानले आज काठमाडौँमा दुई श्रष्टालाई रथारोहण सहित अभिनन्दन गर्नका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रभातफेरी र श्रद्धाञ्जली सभाको आयोजना गर्यो ।

समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल जस्तो विभिन्न जातजातिको बसोवास भएको तथा बहुल संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ बढी महत्व राख्ने बताउनुभयो र आज भानुभक्तकै कारण नेपाली भाषा विश्वव्यापी महत्त्वको भाषा बन्दै गएको विचार राख्नुभयो ।

वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने पनि बताउनुभयो । सभामुख घिमिरेले आदिकवि भानुभक्तले गरेको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रुपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताउनुभयो । ’नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलित रुपबाट एक ठाउँमा ल्याएर विशाल राष्ट्र बनाउने र नेपालीलाई अगाडि बढाउने कुरा एउटा ऐतिहासिक महत्व कायम गर्नुभयो, त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ’, घिमिरेको कथन थियो

सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञानः सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जर्मको गरिरहेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा प्रतिष्ठानले दशकौँदेखि भानु प्रतिष्ठानसँग सहकार्य गर्दै आएको र सोहीको निरन्तरताका रुपमा २११ औँ भानु जयन्ती समारोह मनाइएको बताउनुभयो ।

भानु प्रतिष्ठानका तर्फबाट डा. रमेश शुभेच्छुले भानु प्रतिष्ठानको इतिहास र गरेका कामहरुको जानकारी दिनुभयो । शुभेच्छुले नेपालका सातै प्रदेशका राजधानीमा प्रतिष्ठानका प्रदेश समन्वय समितिले पनि यस्ता कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । उहाँले बोल्ने क्रममा प्रतिष्ठानको आफ्नो भवनसहितको कार्यालयको आवश्यक रहेको र त्यसका लागि पहल थालिएको बताउनु भयो । उहाँँले भानुभक्तका नाममा राजधानीमा संग्रहालय हुनु आवश्यक रहेको जिकिर गर्नुभयो । शुभेच्छुले अगाडि सारेको कार्य योजनामा आफूले रु १,००,००१ (अक्षरेपी एक लाख एक ) सहयोग गर्ने कुरा बरिष्ठ साहित्यकार प्रा.डा. नोवलकिशोर राईले सममानित प्रतिभाको मन्तव्यका क्रममा बताउनुभयो । राईले भानु प्रतिष्ठानले आफूलाई सममान गरेर भानुभक्तप्रतिको श्रद्धाका साथै नेपाली भाषाका लागि थम काम गर्ने अभिप्रेरणा जागृत भएको बताउनुभयो ।

त्यस्तै सम्मानित प्रतिभा साहित्यकार माया ठकुरीले सम्मानित भएकामा खुसी व्यक्त गर्दै यो नेपाली नारीहरुको पनि सम्मान भएको बताउनुभयो । सो समारोहमा डा. राई र ठकुरीलार्य रथारोहण गराई नगर परिक्रमा गराउनका साथै अभिनन्दन पत्र प्रदान गरिएको थियो । उहाँहरुमा समर्पण गरिने विशेष अभिनन्दन पत्र उषा भट्ट र दुर्गा नेपालले वाचन गर्नुभएको थियो ।

समारोहमा भानु प्रतिष्ठानका तर्फबट २०१० औँ भानुजयन्तीका सन्दर्भमा गतवर्ष उत्कृष्ट झाँकीसहित सहभागी विद्यालयमध्ये प्रथम हुने सूर्योदय सेकेन्डरी स्कुल द्वितीय क्याम्ब्रिज पब्लिक स्कुल, काठमाडौँ, तृतीय ग्लोबल स्कुल एन्ड कलेज, काठमाडौँका साथै प्रोत्साहन स्थानमा अन्नपूर्ण मा.वि, काठमाडौँ र कान्तिभैरव गुरुकुल, काठमाडौँ लाई पुरस्कृत गरियो ।

प्रमुख अतिथिले विद्यालयका प्रतिनिधिलाई पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो भने भानु प्रतिष्ठानबाट पत्रे रामायण र भानुभक्तको तस्बिर सभाध्यक्ष डा. लम्सालले प्रदान गर्नुभयो ।

यस वर्ष विभिन्न २० विद्यालय र्यालीमा सहभागी थिए ती मध्ये निर्णायक मण्डलले प्रथम स्थानमा अन्नपूर्ण मा.वि कान्तिपथ, द्वितीय हुने सूर्योदय मा.वि घट्टेकुलो, तृतीय कान्ती भैरव गुरुकुल, गोकर्ण, चतुर्थ ग्लोबल पब्लिक स्कुल र ज्ञानदीप शीक्षा सदन भएको निर्णय घोषणा गर्यो । ती विद्यालयलाई आगामी २१२ औँ भानुजयन्ती समारोहमा पुरस्कृत गरिने जानकारी प्रतिष्ठानका उपाध्यक्ष ऋषभ घिमिरेले गराउनुभयो ।

प्रभातफेरी कार्यक्रममा ब्रिलियन्ट एजुकेसनल मा.वि चावहिल, ग्गोबल पबिलक स्कुल पेम्सिकोला, क्याम्ब्रिज पब्लिक हाइस्कुल, पुरानो बानेश्वर, रिभेरा इन्टरनेसनल स्कुल चावहिल, ह्वित किट्न इन्टरनेसनल स्कुल विशालनगर, कान्तिभैरव गुरुकुल गोकर्ण, सूर्योदय आवसीय मा.वि घट्टेकुलो, हेम्स स्कुल रातोपुल, एपेक्स लाइफ स्कुल सरस्वतीनगर, विनायक शान्ति निकेतन स्कुल थापाथली, अन्नपूर्ण मा.वि, कान्तिपथ, प्रस्फुटन स्कुल सिनामङेगल, लुम्बिनी एकेडेमी स्कुल चुच्चेपाटी, ज्ञानदीप शिक्षा सदन गौरीघाट, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, अनमोलज्योति स्कुललगायतको सहभागिता रहेको थयो । कार्यक्रमका सभाध्यक्ष भएवम् भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्सालले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

भानु प्रतिष्ठानले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । आगामी श्रावण ६ गतेसम्म प्रतिष्ठानका विभिन्न कार्यक्रम योजनामा रहेका छन् । अहिलेसम्म केही कार्यक्रम सम्पन्न भइसकेका छन् ।