
हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘खाइराइड’को दोस्रो संस्करण प्रकाशनमा आएको छ । २०८० भाद्रमा पहिलो प्रकाशन भएको यो कृति २०८१ असारमा दोस्रो संस्करण प्रकाशनमा आएको हो ।
फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको खाइराइडको दोस्रो संस्करणमा प्राडा. खगेन्द्र लुइँटेल, प्रकाश सायामी, खेमराज पोख्रेल, चट्याङ मास्टर (कृष्ण मुरारी गौतम), श्याम तमोट, साहित्यपोस्ट, चन्द्र घिमिरे, बद्रीप्रसाद दाहाल, केदार शर्मा, अञ्जु कार्की, कृष्णप्रसाद निरौला, गायत्री लम्साल, प्रमोद आमात्य, सर्वज्ञ वाग्ले, डा. कुसुमाकर शर्मा, ठाकुर शर्मा भण्डारी, अनिता काेइराला, डा. रमेश शुभेच्छु, मीनु राजभण्डारी र रेहित सैंजुका प्रतिक्रिया समावेश गरिएका छन्।
साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको उत्कृष्ट ५ मा परेको राजेन्द्र कार्कीको ‘खाइराइड’का निबन्धहरू विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले रसिला बनेका छन् । उनका व्यङ्ग्यहरु समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । उनका व्यङ्ग्य–निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ ।
खाइराइड्मा विशेषतः सामाजिक विषय छन् । खाइराइडका निबन्धमा परम्परावादी सोचभन्दा माथि उठेर आधुनिकताका पक्षमा पनि निबन्धहरू लेखिएका छन्। कामलाई सानो ठूलो भन्ने मान्ने परम्परावादी प्रचलनलाई भत्काएको छ र काम भनेको काम हो भन्ने आधुनिक चिन्तन समावेश गरेको छ।
भाषा प्रक्षेपणमा सुन्दरता देखिन्छ । अनुप्रास मिलाउने, उखान तथा टुक्काको प्रयोग गर्ने, टुक्काले प्रहार गर्ने तथा शालिन तरिकाले आक्रमण गर्ने शैली देखिन्छ। जहाँ जुन वादका थिममा निबन्ध लेखिएका छन्, त्यहाँ प्रगति खोजिएको छ भनेर समिक्षकले प्रतिक्रियामा लेखेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

