काठमाडौँ । प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव – २०८१ मा १० (दश) जना कविका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको छ । वाचनका लागि छानिएका २५ जना कविका कवितामध्येबाट १० जना कविका कवितालाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
सर्वोत्कृष्ट १० मा बर्दियाका कवि अग्र आवाजको कविता ‘माटोको उडान’, मकवानपुरका कवि अनिता न्यौपानेको कविता ‘अचेल कहाँ हराइरहेका छन्- बच्चाहरू ?’, नवलपरासीका कवि अन्जान प्रदीपको कविता ‘फूलको पोस्टमार्टम’, दाङका कवि छविलाल कोपिलाको थारुभाषाको कविता ‘पस्नक बास’, रोल्पाका कवि दिलिप बुढामगरको मगरभाषाको कविता ‘मासन्सिउ छकाल्य’, मोरङका कवि रुमानी कुलुङको कविता ‘आमाको अनुहार’, सिन्धुलीका कवि रूपक जमरा घलानको तामाङ भाषाको कविता बगरला दुङाल, सोलुखुम्बुका कवि रेजिना खालिङको खालिङ भाषाको कविता ‘अर्दु युम प्योक’, ललितपुरका कवि शर्मिला दुलालको कविता ‘बग्नु एक नियति’ र पाँचथरका कवि सुमन सहयात्री योङहाङको ‘कविता बिर्सिजानेहरू’ रहेका छन् ।
सर्वोत्कृष्ट घोषित १० जना कविहरूलाई जनही ३० हजार (अक्षेरुपी तिस हजार मात्र) राशिको पुरस्कार र कदरपत्र विशेष कार्यक्रमको आयोजना गरी समर्पण गरिने कुरा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.सुवेदीले बताउनु भएको थियो।
महोत्सवको समुद्घाटन प्रमुख अतिथि माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गर्नुभएको थियो ।उहाँले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रका क्षेत्रलाई समेटेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको प्रज्ञा-प्रतिष्ठान सबैको साझा थलो भएको बताउनु भएको थियो । मन्त्री तामाङले प्रज्ञा-प्रतिष्ठानको प्राज्ञिक उन्नयनका लागि आफू सरकारको तर्फबाट लागिपर्ने बताउनुभएको थियोे ।
महोत्सवका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले २०२२ सालदेखि एकल भाषाका रूपमा सुरु भएको राष्ट्रिय कविता महोत्सवको ढाँचालाई केही परिवर्तन गरेर नयाँ शिराबाट ‘बहुभाषिक राष्ट्रिय कविता महोत्सव’को आयोजना गरिएको बताउनु भएको थियो । उहाँले प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङलाई प्रज्ञा-प्रतिष्ठानका प्रकाशनहरू उपहारस्वरूप र महोत्सवमा सहभागी कविहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले समुद्घाटन सत्रको कार्यक्रम सञ्चालन गर्दै भाषा, साहित्य, संस्कृति र दर्शन लगायतका क्षेत्रमा प्रतिष्ठानले महत्त्वपूर्ण काम गरेको चर्चा गर्नुभएको थियो ।
महोत्सवका कार्यक्रम संयोजक, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य( पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले स्वागत मन्तव्यका क्रममा राष्ट्रिय कविता महोत्सव -२०८१ मा ६०४ जना कविको सहभागिता रहेको उल्लेख गर्नुभएको थियो । जसमा मातृभाषामा रचिएका कविका ४५ वटा कविताको समेत सहभागिता रहेको थियो ।
प्राज्ञ बस्नेतका अनुसार राष्ट्रिय कविता महोत्सवलाई समावेशी र बहुभाषिक बनाएपछि कविहरूको आकर्षण झन् बढेको उल्लेख गर्नुभएको थियो ।
उक्त महोत्सवमा प्राप्त कविताको मूल्याङ्कन समितिमा कविहरू श्रवण मुकारुङ, महेश प्रसाईं, केशव सिलवाल, अभय श्रेष्ठ र विमला तुम्खेवा रहनुभएको थियोे ।
उक्त राष्ट्रिय कविता महोत्सवका अतिथि कविहरूमा बेन्जु शर्मा , विप्लव ढकाल, पञ्चकुमारी परियार, अनील पाण्डेय, अशोक अमन, असीम सागर, गोविन्द नेपाल, जयन्ता पोखरेल, प्रोल्लास सिन्धुलीय, विमल भौकाजी र मनोज न्यौपाने रहनु भएको थियो ।
प्रमुख अतिथि मन्त्री तामाङले उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ सुरेन्द्र महर्जन, दुर्गादेवी शर्मा र कुलराम थापा, खेलकुद तर्फको ब्याडमिन्टन सिङ्गलमा प्रथम पुरस्कार इन्द्रप्रसाद सुवेदी र द्वितीय पुरस्कार पूर्णबहादुर तामाङ ब्याडमिन्टन डबल्स तर्फको प्रथम पुरस्कारद्वय इन्द्रप्रसाद सुवेदी र विजयमान सिंह प्रधान, द्वितीय पुरस्कारद्वय शैलेन्द्र सिम्खडा र पूर्णबहादुर तामाङ, ब्याडमिन्टन जुनियर तर्फ प्रथम पुरस्कार नवीनराज चौलागाई र द्वितीय पुरस्कार मोहन राई, फुटसल तर्फ प्रथम पुरस्कार किरणअधिकारी, रोशनकाजी सिन्दुराकार, नैनबहादुर कार्की, टेकबहादुर श्रेष्ठ, सन्जय पुजारी, मनोजकुमार मेहता र कमला कार्की र द्वितीय पुरस्कार राजेन्द्रकुमार शाही ठकुरी, विशाल लामा, जितबहादुर खड्का, कविता अधिकारी, मोहन राई, मोहनकुमार श्रेष्ठ बुद्धिचाल (चेस) तर्फ प्रथम पुरस्कार सन्तोष राई, द्वितीय पुरस्कार टेकबहादुर श्रेष्ठ, हाजिरीजवाफतर्फ प्रथम पुरस्कार द्वय अनिता कार्की र जानकी धामी, द्वितीय पुरस्कार अन्जन थापा मगर र नवीनराज चौलागाईंलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । ब्याडमिन्टन तर्फको निर्णायक रेफ्रीमा गौरव पोखरेल र फुटसल तर्फको निर्णायक रेफ्रीमा रामहरि बराल रहनुभएको थियो ।
उक्त कविता सत्रको अध्यक्षता प्राज्ञ बस्नेत र कार्यक्रमको सञ्चालन भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियोे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।