नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपाली निघन्टु’ नामक ग्रन्थको दोस्रो संस्करण प्रकाशित भएको छ ।

पहिलो संस्करण प्रकाशित भएको ५२ वर्षपछि उक्त ग्रन्थको दोस्रो संस्करण प्रकाशित भएको हो । पहिलो संस्करण २०२५ सालमा प्रकाशित भएको थियो ।

पं. कविराज कोषनाथ देवकोटाद्वारा लिखित ‘नेपाली निघन्टु’ ग्रन्थ आयुर्वेदका जडीबुटीको परिचयसँग सम्बन्धित छ । लोकजीवन र आयुर्वेद चिकित्सा क्षेत्रका विज्ञहरूका लागि उपयोगी उक्त ग्रन्थमा संस्कृत भाषामा रहेका जडीबुटीका नामसँग सम्बन्धित शब्दहरूका साथै नेपाली, हिन्दी, बङ्गाली, महाराष्ट्री, कर्नाटकी र ल्याटिन भाषामा समेत यथासम्भव उक्त शब्दहरूका नाम दिइएका छन् ।

यसका साथै जडीबुटीहरूका स्वभाव, गुण, रोगमा उपयोगिता आदि कुराहरूसमेत उल्लेख गरिएको ग्रन्थ ‘नेपाली निघन्टु’ आयुर्वेद शास्त्रहरूमध्ये सबैभन्दा बढ्ता महत्त्वको रहेको कुरा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति बालकृण समले ग्रन्थको प्रथम संस्करणको प्रकाशीय भूमिकामा चर्चा गर्नुभएको छ । ५३६ पृष्ठको ग्रन्थको मूल्य रु. ५४५ रहेको छ ।