काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा ‘प्रज्ञा पुस्तक प्रदर्शनी मेला – २०८०’ को आयोजना गरेको छ ।

पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभएको थियो । राईले पठन संस्कृतिलाई व्यापक तुल्याउने उदेश्यले पुस्तक प्रदर्शनी मेलाको आयोजना गरिएको बताउनुभएकाे थियो ।

उहाँले प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित पुस्तक र पत्रिकालाई पाठकसामु पुर्याउन यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोडदिनु भयो । उहाँले अँध्यारोबाट उज्यालोमा हिँडाउन र ज्ञानविज्ञालाई विश्वव्यापी तुल्याउनमा अन्तर्राष्ट्रिय पुस्तक दिवसको अहम् भूमिका रहँदै आएको बताउनुभयो ।

प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित शब्दकोष, समालोचना, खोज अनुसन्धान, भाषा, साहित्य, दर्शन, सामाजिक, इतिहास, कला र संस्कृतिलगायतका विधागत पुस्तकहरू राखिएका छन् ।

आमपाठकहरूको पठन संस्कृति र अभिरुचिलाई ध्यानमा राखेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’लगायत एक हजार थानभन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएका छन् । प्रज्ञा-प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनीमा राखिएका पुस्तकहरू इच्छुक व्यक्ति वा क्रेताले २० देखि ४० (चालीस) प्रतिशतको विशेष छुटमा खरिद गर्न सक्ने छन् ।

प्रदर्शनीमा रू. ५ मूल्य रहेको काव्यर्चनादेखि तीन हजार तीन सय पाँच रूपैयाँ मूल्य रहेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोशसम्म राखिएको छ।

पुस्तक प्रदर्शनी २०८० फागुन १८ गतेसम्म रहने छ ।