नयाँ वर्षको पहिलो दिनको अवसर पारेर दक्षिण कोरियाको ह्वासङ सहरस्थिति याङगाम म्यनको जू ग्यङ भवनमा कवि सुरेश राईको नवीनतम कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’माथि परिचर्चा गरियो ।

कार्यक्रममा चर्चित ‘माटो’ गजल संग्रहका सर्जक राज विसर्जनको प्रमुख आतिथ्यमा भएको थियो । उहाँले ‘सम्झनाको फोटोकपी’ उम्दा कृति भएको उल्लेख गर्दै कवि लामो दौडको घोडा भएको बताउनुभयो ।

कवि राईले आफू गोपाल प्रसाद रिमाल, भुपी शेरचन बिक्रम सुब्बा आदिका कविताहरू पढेर कविताप्रति आकर्षित भएको बताउँदै आउँदा दिनमा साहित्यमा अझ इमानदारीसाथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी कवि राई कार्यरत कम्पनीको तर्फबाट कम्पनी प्रतिनिधि आहमेद हुसैनले उपस्थिति जनाउँदै उनले कवि राई अत्यन्तै सिर्जनशील भएको र साहित्य, गीत, संगीत र कलाप्रति अत्यन्तै झुकाव रहेको उल्लेख गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा साहित्य अनुरागीहरू मकवानपुर फापरबारिका दिनेश राई, इलामका डिल्ली हर्सुरुङ्बा लिम्बू, काभ्रेका रामकृष्ण ढुङ्गाना, नुवाकोटका प्रकाश दोङ, दोलखाका रविन्द्र तामाङ, सिन्धुपाल्चोकका राजन भण्डारी, झापाका राजेश यादव लगायतले संग्रहका एक एक कविता वाचन गरेका थिए । कविता वाचनमा काभ्रेका केशव आवेले गीतारमा साथ दिनुभएको थियो ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।