जुनेली रात त जुनेली रातै हो नि । त्यही पनि काठमाडौँको आकाशको जून भन्दा हाम्रै गाउँको आकाशको जून मलाई ज्यादा जुनेली लागिरहेको थियो । कलेज बिदामा गाउँ आएको बेला थियो । यो प्रेमिल पूर्णिमामा उसको याद बेस्सरी मुटु भिज्ने गरी आइरहेको थियो । गजबको कुरा त म आफ्नो घरको बार्दलीमा बसेर खोटाङको बाम्राङबाट गोरखाको तान्द्राङ हुनेलाई मस्त सम्झिरहेको थिएँ ।
यस्तो मनोरम जुनेली रातमा परबाट एउटा नारी आकृति अत्तालिँदै र हडबडाउँदै हाम्रै घरतिर आइरहेको देखेँ । मेरो ध्यान भङ्ग भयो । को रहेछ भनेर म बार्दलीबाट ओर्लेको मात्र के थिएँ चिनिहालेँ । गैराटोले केपी दाजैकी श्रीमती केपीनी भाउजू रहिछन् । साथमा काखको नानी पनि रहेछ । निधारछेउमा नीलडाम ,लतारिएको कपाल , च्यातिएको स्वेटर । केपी दाजैले फेरि आज जाँड खाएर आफ्नी श्रीमती घरबाट खेदाएछन् । यत्ति बुझ्न मलाई समय लागेन । आमाले भाउजूलाई एक रात हाम्रै घरमा बस्नलाई भन्दै हुनु हुन्थ्यो । भाउजू भने माइत नै जाने जिकिर गर्दै थिइन् ।
आमाले कर गर्दै भन्नु भो, “यो राती हुँदी आइमाई मान्छे यस्तो सानो बच्चा लिएर कसरी पुग्छौ त्यति टाढाको माइत । भो ! आज एक रात यहीँ बस भोलि गाउँ भेला गरेर त्यो केपीलाई फेरि सम्झाउँला ।”
बल्ल भाउजू मान्नु भो । मैले सोधेँ, “भाउजू केपी दाइले त जाँड रक्सी सबै छोडेको भन्ने सुनेको थिएँ त ! फेरि खान थाल्नु भो र ? ”
भाउजूले सुकसुकाउँदै भनिन्, ” पहिले पहिले रक्सी खाएर पिट्थ्यो बाबु आजकल गाउँको जाँड रक्सी खाँदैन । बियर मात्रै खान्छ । त्यै खाएर झगडा गर्छ ।”
“ए..त्यसो पो” मन अमिलो भो । विकासले गाउँमा मोटर मात्र हैन । मोटरमा चढाएर बियरहरू पनि ल्याएछ । सोचेर मन कस्तो कस्तो भएर आयो ।
भोलिपल्ट गैराटोलमा केपीदाजैको घरमा कचहरी बस्यो । एक थरी गाउँलेहरू केपीनी भाउजूलाई यस्ता जँड्याहा लोग्नेलाई छोडपत्र दिन सुझाव दिइरहेका थिए । बुढापाकाहरू भने त्यसो हैन मिलापत्र गर्नु पर्छ । हाम्रो गाउँकै बेइज्जत हुन्छ भन्ने पक्षमा उभिए । केपीनी भाउजू भने एकोहोरो पिलपिल रोई मात्र रहिन् । दुई घण्टाको लामो सरसल्लाहपछि निर्णय भो । केपी दाजैले बियर पिउन कसमै लाएर छोड्ने । भाउजूले पनि यो अन्तिम पटकलाई माफी दिने र मिलापत्र गर्ने । त्यसरी भेला सकियो । सबै आआफ्नो घरतिर लागे ।
घरतिर लाग्नेहरू सबैलाई मनमनै पूरा थाहा थियो कि न केपी दाजैले कहिले पिउन छोड्नेछन् यो जुनीमा । न भाउजूको यो अन्तिम क्षमादान हुनेछ । यो सिलसिला त दैनिकी नै हो । केवल चलिनै रहनेछ ।
भेला सकेर सबै आआफ्नो बाटो लागिसकेपछि नजिकै गएर सोधेँ ” भाउजू खुसी हुनुहुन्छ नि मिलापत्रले ?”
एक छिन बडो वेदनाभरि अनुहार लगाएर भाउजूले भन्नु भो, “ठिकै छ बाबु ! पुछार घरे आङ सरी दिदीको बुढोले त मातेर आएर दिदीलाई सिस्नै सिस्नाले पिट्दो रहेछ । हाम्रोले त कम्तीमा हातखुट्टा मात्र त चलाउने हुन् ! सिस्नाले त हान्दैनन् नि ! ”
जवाफ सुनेर म अवाक् भएँ । के बोल्नु के नबोल्नु भएँ । रन्थनिएँ । साँच्चै यो एउटा कहानी हुँदो हो त यसको मुख्य पात्र केपिनी भाउजू हो कि कहानीको अन्तमा चर्को गरी आउने आङ सरी भाउजू ? ..खै !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।