यो साता कवि जगन्नाथ पौडेलको कवितासङ्ग्रह ‘बग्दाबग्दै’ प्रकाशित भएको छ । साहित्यपोस्टको माउ मिडिया कम्पनी शब्दमिडिया प्रा.लि.द्वारा प्रकाशित यस कवितासङ्ग्रहमा कवि पौडेलको सूक्ष्म चिन्तनलाई गम्भीर चेतनाद्वारा कलात्मक सौन्दर्य साथ प्रस्तुत गरिएको छ । यो कवि पौडेलको पहिलो कवितासङ्ग्रह हो ।

२ सय ३९ पृष्ठमा बुनिएको ‘बग्दाबग्दै’मा ‘हाँगा’मा ९ थान कविता, ‘पात’मा ७ थान कविता, ‘फल’मा ४ थान कविता, ‘सेउला’मा २२ थान कविता, ‘रुख’मा ९ थान कविता, ‘चरा’मा १९ गरी ६ वटा उपशीर्षकमा ७० थान कविता समावेश छन् । यसमा विशेषगरी डायस्पोरिक जीवन, मानवीय सन्ताप, क्षयग्रस्त पर्यावरणका विषयवस्तु पाइन्छ ।

‘डायस्पोराका उच्छ्वास’शीर्षकमा महेश पौड्याल लेख्छन्, “जगन्नाथ पौडेलका कविता अमेरिकामा वर्तमान र भविष्य खोजिरहेको नेपाली डायस्पोराका उच्छ्वासका काव्यिक अभिव्यक्ति हुन् । डायस्पोराभित्र विद्यमान मानसिक ऊहापोह, स्वप्नमोह र अतीतप्रेम यी कवितामा यथेष्ट मात्रामा भेटिन्छ । डायस्पोरा भित्रको स्निग्ध व्यक्तित्वको निर्मिति भने उसले बालापन र युवाकाल बिताएको घरदेशकै सुखदुःखले बढी निर्माण गरेको हुन्छ । उसको मानसले कहिल्यै पनि कर्मदेशका मूल्यविधानलाई पूर्णतामा स्वीकार गर्न सकेको हुँदैन भन्ने धारणाका साक्ष्य जगन्नाथका यी कविताहरू हुन् । रैथाने हुनु र आप्रवासी हुनुको बीचतिर विद्यमान एउटा तरल मानिसक भूगोलमा यी कविता उभिएका छन् ।”

शुभकामनामा होमनाथ सुवेदी लेख्छन्, “अमेरिकाली नेपाली डायस्पोराका कविहरू धेरै छन् तापनि जगन्नाथ पौडेल नवीनतम विचार र शैलीका कवि हुन् । पौडेल काव्यजगत्मा डायस्पोरा / स्थानान्तरण, विज्ञान / क्वान्टम / प्रविधिलाई पनि अँगालेर नयाँ विचार, शिल्प र दर्शनलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्न सफल भएका छन् । उनी सन् २०२३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित अनेसास कविता महोत्सवमा प्रथम पुरस्कार जित्न सफल कवि हुन् । उनको अमेरिकाली नेपाली डायस्पोरा साहित्य विजयको बिन्दुबाट प्रखर भएर आउँछ । त्यही सूक्ष्म बिन्दुको स्थूल द्रव हो, यो कविताकृति ।”

प्रा. डा. लक्ष्मणप्रसाद गौतम उल्लेख गर्छन्, “शक्तिशाली कविता वेदका मन्त्रजस्तै सूक्तिमय हुन्छन् । बिम्बात्मक हुन्छन्, साङ्केतिक हुन्छन् र तिनले प्रकटित होइन, अप्रकटित अर्थ द्योतन गर्छन् । ‘बग्दैबग्दै’ सङ्ग्रहका सबै कवितामा यी विशेषता पाइन्छन् । यो कृति अनुभूति र संवेदनाका काव्यिक बिम्बहरूको सघन सङ्ग्रहालयजस्तो लाग्छ । यसका प्रत्येक पदपदावली र वाक्यहरू जीवन्त भएर अर्थहरूमा नृत्य गर्छन्, पाठकसँग साक्षात्कार गर्न आउँछन् र तिनले अर्थका अनेक तरङ्ग छाडेर जान्छन् । सत्तरीओटै कवितामा त्यो सामर्थ्य छ । सम्बोध्य शैलीमा लेखिएका कविताले ग्रिसेली आदि नारीकवि सफ्फोका सम्बोध्य कवितालाई सम्झाउँछन् ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि. (साहित्यपोस्ट) ले बजारमा ल्याएको हो । ‘बग्दाबग्दै’को मूल्य ४ सय ९९ रुपियाँ र १५ युएस डलर रहेको छ ।