पर्याप्रेमको गुञ्जन – कृष्ण बाउसे

कवि कृष्ण बाउसेको पर्यावरणीय कविताहरूको सङग्रह हो ‘पर्याप्रेमको गुञ्जन’ । बाउसेले कवितामार्फत बिग्रदै गएको पर्यावरणीय असन्तुलनलाई सन्तुलनमा ल्याउनु पर्ने, पृथ्वीको सबै जीवजन्तु बनस्पतिलाई उतिकै स्थान दिनुपर्ने सन्देश प्रभाव छ ।

”कृष्ण बाउसे तीसको दशकदेखि चिनिएका नेपाली स्रष्टा हुन्, जसको कविताशिल्प सरलता र कोमलताले युक्त छ भनी चर्चा भैरहन्छ ।” प्रा.डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”यतिखेर उनी अन्तर्राष्ट्रिय रङ्गमञ्चमा उठेको एउटा चेतनाको वैश्विक स्वर परिवृत्तीय साहित्यको धार पक्रेर कविता लेख्तै छन् । प्रस्तुत कृतिले यही चेतनाका बाउन्नवटा रचनाको सङ्ग्रह प्रकाशनमा ल्याएको छ । यस सङ्ग्रहको लक्ष्यार्थ स्वार्थ्यान्ध मानवलाई आग्रह, अनुरोध, चेतावनी, धम्की सबैथोक हो, हाम्रो साझा वासस्थलको रक्षा गरौं भन्ने एक निवेदन हो ।”

त्यसैगरी पुस्तकमा विजय हितान लेख्नुहुन्छ, ”पर्याप्रेमको गुञ्जनुमा कवि कृष्ण बाउसेद्वारा पर्यावरणप्रति सचेत र संवेदनशील भएर लेखिएका कविताहरू सङ्गृहीत छन् । प्रकृति र मानव सभ्यताबीचको सम्बन्ध र सन्तुलन कति महत्त्वपूर्ण छ भन्ने यथार्थलाई यस कृतिले उजागर गरेको छ । अबको दिनमा नेपाली साहित्यको केन्द्रमा पर्यासाहित्यले आफ्‌नो अस्तित्व निर्माण गरिसकेको यो एउटा ठोस प्रमाण हो ।”

त्यसैगरी, लेखक बाउसे आफ्नो कुरामा लेख्नुहुन्छ, ”औद्योगिक युगको सुरुवात हुनुअघि पृथ्वीको अवस्था अर्कै थियो । प्रकृति हराभरा थियोस मान्छेको संख्या कम थियो, तर मानवलाई धेरै सुख सुविधाहरू भने प्राप्त थिएनन् । नभएका कुराको प्राप्तिमा लालायित हुनु मानव जातिको स्वभावै हो । उसले अनकौँ वैज्ञानिक खोज र अनुसन्धान गर्यो र आजको विकसित अवस्थामा आइपुग्यो । तर यसरी विकासका पाइलाहरू चाल्दै गर्दा वा मानव जातिलाई बढीभन्दा बढी सुखी तुल्याउने ध्याउन्नमा लाग्दा यहाँ सृष्टि भएका सम्पूर्ण वनस्पति, जीव र निर्जीव वस्तुहरूको सन्तुलित सम्बन्धको परिणामस्वरूप नै संसार यस रूपमा विद्यमान रहेको हो भन्ने यथार्थलाई उसले भुसुक्कै बिस्र्यो । उसले प्रकृतिसँग तादात्म्य कायम गरेर विकाससम्बन्धी क्रियाकलापहरू गर्नुपर्थ्यो । तर उसले त्यस कुरामा होस पुऱ्याएन । आज देखा परेको वैश्विक तापक्रमको वृद्धिको त्रास त्यसैको परिणाम हो ।”

पुस्तकलाई स्वदेश प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको हो । बाउन्न ओटा कविता संग्रहित पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।