साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई असाममा जन्मनुभएको कवि पुरुषोत्तम उपाध्याय दाहालको नवीनतम कवितासंग्रह “पातको फिरफिरे” प्राप्त भएकाे छ ।

१ सय २४ पृष्ठमा मौलाएको यस संग्रहमा ‘बुढी’, ‘औंठी नभएका बच्चा औंलाहरू’, ‘बाबु र घर’, ‘ढोका खोलिदिनुस् हजुर’, ‘डकार’, ‘उनी नछुने भएकी कि नहेर्ने भएकी’, ‘कवि र कविता अव्यक्त कथा’, ‘धिक्कार मेरो कविता’, ‘भुइँचालो’ लगायत ५२ थान कविता र ‘मीनाक्षी’, ‘कवि’, ‘हाई’, ‘कुकुर’ र ‘आँखा’ ५ वटा रम्बास कविता समावेश छन् ।

“पुरुषोत्तम दाहालका कविताहरूले हामीलाई यति आशक्त पार्दछन् कि उपभोक्तावादको चपेटमा सम्पूर्ण पृथ्वी डुबिसकेपछि कतिपय यस्ता चीजहरू बाँचेका छन् जसले हाम्रो सम्बन्ध, सम्पर्क र आत्मीयतालाई मर्न दिएको छैन । यी सम्पर्कहरू, आफूले भोगेका परिवेशहरू र जीवनको उज्यालो पाटोलाई आफ्नै शैलीमा कविताभित्र चित्रायन गरेका छन्, जुन हृदयस्पर्शी छन् –

प्रत्येक परम्पराको एउटा वास्तव प्रभाव

देख्न छोडे नयाँ पीढीहरूले

रूखो हुन थाल्यो माघ र मङ्सिरको रात

गुन्जिन छोड्यो सारङ्गीको धुन…” भूमिकामा मोहन सुवेदी लेख्छन्, “सङ्कलनभित्रका कतिपय कवितामा कविको नोष्टाल्जिक भावना प्रखर रूपमा टल्किएको छ। पुर्खाले रोपेको ‘आँपको बोट’ लाई केन्द्र गरेर पारिवारिक ऐक्य र संस्कृतिको बारेमा उल्लेख गर्दै अहिले त त्यसको फोटो मात्रै रहेको प्रसङ्गले हाम्रो जीवनबाट हराउँदै गएको आफ्नोपन, सम्बन्धको आनन्द र न्यानो माया सकिँदै गएको विषादपूर्ण अभिव्यक्तिलाई छर्लङ्ग पारेको छ। त्यसैले कविले भन्न सकेका छन् –

म सँग अब एउटा

फोटो मात्र रहन्छ स्मृतिको पोको

आयो याद बोकेर फेरि

भाइटीका

अनि आँपको बोट…”

कवि दाहाल उल्लेख गर्छन्, “मेरो बाल्यकाल प्रायः गोठैमा बित्यो । आसाम आन्दोलनमा विद्यालयहरू बन्द भएकोले गोठको जिम्मा मेरै थियो । पछि गोठैबाट विद्यालय सारै कष्टले आउने जाने पनि गरियो । झरी, बाढी झेलेर गोठमा काम गर्नु पर्ने । गोठमा गोठालाहरू ‘प्रेम लहरी’, ‘मदन लहरी’ साथै ‘गुणरत्नमाला’ लयबद्ध तरिकाले गाउने गर्थे । म पनि लयमा लय मिलाएर आफैँ कथेर केही गाउने गर्थे । गोठालाहरू मलाई उचाल्ने गर्थे ।…यसरी म पनि गोठमा ठूलो काव्यकार हुन पुगेँ ।”

पुस्तकलाई पूर्वायण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य १ सय ८० रुपियाँ रहेको छ ।